काठमाडौँ, २५ माघ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेको नाम मतदाता नामावलीबाट हटाउनुपर्ने मागसहित निर्वाचन आयोगमा निवेदन परेको छ । सर्वोच्च अदालतबाटै अवैध ठहर भएको नागरिकताबाट जारी भएको मतदाता परिचयपत्रसमेत खारेज गर्न माग गर्दै अधिवक्ता अनुपम भट्टराईले आयोगमा निवेदन दर्ता गराएका हुन् ।
“माघ १३ गते सर्वोच्च अदालतबाट मुद्दा नम्बर ०७९–WC–००३५ मा रवि लामिछानेले प्राप्त गरेको अमेरिकी नागरिकता परित्याग गरेपछि विधिवत् रूपमा नेपाली नागरिकता पुनः कायम गर्ने प्रक्रिया पूरा गरेको नदेखिएको हुँदा निजले प्रतिनिधिसभा सदस्य पदको उम्मेदवार हुन वा सो पदमा निर्वाचित भइ कायम रहन मिल्ने देखिएन भन्ने ठहर गरेको छ,” निवेदनमा भनिएको छ,“निजले अदालतले ठहर गरेको भोलिपल्ट जिल्ला प्रशासन कार्यालय, काठमाडौँ गएर रितपूर्वक नेपालको नागरिकता लिएका छन् । तत् सम्बन्धमा मतदाता नम्बर २६३४२९ को प्रयोग गरी निजले काठमाडौँ क्षेत्र नं. ३ काठमाडौँ महानगरपालिका, वडा नं ६ खानेपानी संस्थानको परिसर, पानीट्यांकीबाट २०५० सालमा जिल्ला प्रशासन कार्यालय, काठमाडौँले जारी गरेको नागरिकता नं १८२२२ बाट प्रयोग गर्दै आएका मतदाता परिचय पत्र रद्द गरिपाउन मतदाता नियमावली ऐन, २०७३ को दफ (१८(१)बमोजिम प्रमाणसहित यो निवेदन पेस गरेको छु ।”
अधिवक्ता भट्टराईले मतदाता नियमावली ऐन, २०६३ को दफा १८(२) बमोजिम निजको नाम मतदाता नामावलीबाट हटाउन माग गरेका छन् । अदालतबाटै अवैध ठहर भएको नागरिकताबाट जारी भएको मतदाता परिचयपत्र पनि अवैध हुने उनको भनाइ छ ।
प्रतिक्रिया दिनुहोस्