ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

शेखर–गगन समूह प्रदेश संसदीय दलमा बढारियो, ६ प्रदेशमा देउवापक्षकै वर्चस्व


ABC NEWS

 

 

काठमाडौं १९ पुस ।नेका पार्टी सभापति शेरबहादुर देउवाले सत्ता–राजनीतिको पहल गुमाएपछि आक्रामक रूपमा आएको कांग्रेस संस्थापन इतर समूहलाई प्रदेश संसदीय दलमा भने धक्का लागेको छ । केन्द्रमा संसदीय दलको निर्वाचनपछि बलियो बनेको डा। शेखर कोइराला र महामन्त्री गगन थापा समूहको उपस्थिति प्रदेश संसदीय दलमा कमजोर देखिएको छ ।

सातमध्ये ६ प्रदेशको संसदीय दलको नेता चयन हुँदा कोइराला–थापा समूह सबै ठाउँमा उम्मेदवारीसमेत दिने अवस्थामा देखिएन । सबैमा संस्थापननिकट नेता दलको नेता चयन हुँदा चार स्थानमा इतरले उम्मेदवार नै अगाडि सारेन, यसले प्रदेशमा उसको उपस्थिति कमजोर देखाएको छ ।

प्रदेशमा धक्का खानुको पछाडि केन्द्रमा सत्ता गुमाउनुको प्रमुख कारण रहेको नेताहरू बताउँछन् । केन्द्रीय सत्तास“गै कांग्रेसले प्रदेशमा समेत आफ्नो सरकार बनाउन नसक्ने अवस्था आएपछि पार्टीको प्रदेश संसदीय दलमा असर परेको इतर समूहका नेताहरूको बुझाइ छ । प्रदेश संसदीय दलको रणनीतिलाई लिएर इतर समूहकै नेताबीच मतभेद छ ।

इतर समूहका नेता गुरुराज घिमिरे सातै प्रदेशमा इतरको उम्मेदवार नउठाएर नेतृत्वले ठूलो भूल गरेको बताउँछन् । ‘इतर बैठकमा कसलाई उठाउने, कसलाई जिताउने, कसलाई समर्थन गर्ने हो स्पष्ट पार्नुपर्छ भनेका हौँ, तर नेतृत्वले त्यो सुनेको देखिएन । लुम्बिनी र कर्णालीमा किन सर्वसम्मत भयो ? हारे पनि प्रतिस्पर्धाको अर्थ हुन्छ । बागमतीमा गरेको समर्थन पनि स्पष्ट भएन । सातै प्रदेशमा इतरको उम्मेदवार नउठाएर इतरले ठूलो भूल गरेको छ,’ घिमिरेले भने ।

इतर समूहका नेता तथा पार्टी सहमहामन्त्री जीवन परियारले भने परिस्थिति हेरेर प्रदेशअनुसार निर्णय भएको बताए । उनले इतरले जित्ने अवस्था नरहेका कारण कतै सर्वसम्मत, कतै समर्थन र कतै आफ्नो उम्मेदवार उठाएको बताए । ‘संसदीय दलमा अंकगणितले ठूलो अर्थ राख्छ, हाम्रो अंकगणित टिकट वितरणदेखि नै कमजोर छ । त्यही आधारमा मधेस प्रदेश र बागमतीमा समर्थन ग¥यौँ । गण्डकी र प्रदेश १ मा उम्मेदवार उठायौँ र लुम्बिनी र कर्णालीमा सर्वसम्मत बन्ने अवस्था आयो,’ उनले भने ।

प्रदेशको नेता चयन हुँदा गण्डकी र प्रदेश १ मा मात्र इतरले उम्मेदवार खडा गरेको थियो । लुम्बिनी र सुदूरपश्चिमममा संस्थापनकैले दाबी छाडेपछि संस्थापन पक्षकै सर्वसम्मत बन्न पुगे । बागमतीमा संस्थापननिकटलाई इतरको समर्थन रह्यो, तर इतरले समर्थन गरेका उम्मेदवार पराजित बन्न पुगे । मधेस प्रदेश र प्रदेश १ मा संस्थापनबीच नै प्रतिस्पर्धा भयो । नेता चयन हुन बाँकी सुदूरपश्चिममा उम्मेदवार उठाउने–नउठाउने इतरको टुंगो छैन ।

९३ सिट रहेको प्रदेश १ मा कांग्रेसको २९ सिट छ । संसदीय दलमा संस्थापन पक्षले नेता कृष्ण सिटौलानिकट उद्धव थापालाई समर्थन गरेको थियो । सभापति देउवा नै थापाको पक्षमा देखिएपछि १८ मतसहित उनी विजयी बने । तर, देउवानिकट अमृत अर्यालले दुई मत मात्र पाए । इतरनिकट केदार कार्कीले नौ मत पाए ।

मधेस प्रदेशमा देउवानिकट कृष्ण यादव १८ मत ल्याएर विजयी बन्दा संस्थापनकै नेता विमलेन्द्र निधिनिकट रामसरोज यादवले चार मत ल्याए । यादवलाई इतरको समर्थन थियो । एक सय सात सिट रहेको मधेसमा २२ सिट कांग्रेसको छ ।

एक सय १० सिट रहेको बागमती प्रदेशमा ३७ सिटसहित कांग्रेस पहिलो छ । तर, संसदीय दलमा संस्थापन पक्षका नै भिडे । बागमती प्रदेशमा संस्थापननिकट नेता भिड्दा पनि इतरले आफ्नो उम्मेदवार अगाडि सार्न सकेन । जहाँ बहादुर लामा सभापति देउवाको साथ पाएर २१ मतसहित विजयी बने भने संस्थापननिकट अर्का नेता इन्द्र बानियाँले इतरको समर्थन पाउँदा १६ मत मात्र पाए । यसले प्रदेशमा कांग्रेसको आन्तरिक समीकरण फेरबदल ल्यायो ।

गण्डकी प्रदेशमा संस्थापनका सुरेन्द्रराज पाण्डे १८ मत ल्याएर विजयी बने भने इतरका भोजराज अर्यालले आठ मात्र मत पाए । एक मत भने बदर भयो । ६० सिट रहेको प्रदेशमा कांग्रेस २७ सिटसहित पहिलो दल छ ।

लुम्बिनी प्रदेशमा प्रतिस्पर्धा नै भएन । संस्थापनका डिल्ली चौधरी सर्वसम्मत बन्न पुगे । संस्थापनबाटै अब्दुल रज्जाकले लड्ने तयारी गरे पनि उनी पछि हटे । ८७ सिट रहेको प्रदेशमा कांग्रेस २७ सिट पाएर दोस्रो स्थानमा छ ।

कर्णालीमा संस्थापनका राजीवविक्रम शाह र जीवनबहादुर शाहीबीच प्रतिस्पर्धाको अवस्था थियो । तर, अन्तिममा शाहले दाबी छाडेपछि शाही सर्वसम्मत बनेका छन् । ४० सिट रहेको प्रदेशमा १४ सिटसहित कांग्रेस पहिलो दल छ ।

सुदूरपश्चिममा संस्थापनका प्रकाश देउवा या इतरका दिवानसिंह विष्टबीच प्रतिस्पर्धाको सम्भावना छ । यहाँ निर्वाचनको मिति तय भइसकेको छैन । प्रदेशमा ५३ सिट रहेकोमा १९ सिट ल्याएर कांग्रेस पहिलो स्थानमा छ । उनीहरूमध्ये अधिकांश संस्थापनकै छन् ।

 

 

प्रतिक्रिया दिनुहोस्

भर्खरै

ईश्वर पोखरेल समूहबाट पदाधिकारी उम्मेदवार चयन

ओली पक्षले टुंग्यायो पदाधिकारीका उम्मेदवार (नामावलीसहित)

सम्बन्धित

ईश्वर पोखरेल समूहबाट पदाधिकारी उम्मेदवार चयन

ओली पक्षले टुंग्यायो पदाधिकारीका उम्मेदवार (नामावलीसहित)

जेन–जी आन्दोलन लोकतन्त्रलाई शून्य बनाउने षड्यन्त्र थियो : ओली

सल्लाघारीमा एमालेको एघारौं महाधिवेशन उद्घाटन (प्रत्यक्ष प्रशारण)

समानुपातिकतर्फ भाग लिने राजनीतिक दलको अन्तिम नामावली आज प्रकाशन हुने

विराटनगरलाई हराउँदै सुदूरपश्चिम फाइनलमा

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com