काठमाडौं, ११ भदौ । नेपालका लागि भारतीय राजदूत नविन श्रीवास्तवले भारत सरकारले गहुँ र चिनीमा लगाएको प्रतिबन्ध हटाउन केन्द्र सरकारसँग कुराकानी भइरहेको बताएका छन्।
शनिबार धरानमा आयोजित उद्योग वाणिज्य संघ सुनसरीको स्वागत सम्मान कार्यक्रममा बोल्दै राजदुत श्रीवास्तवले नेपालसँग आर्थिक सम्बन्ध सुदृढ पार्ने प्रयास आफूले गर्ने बताए।‘गहुँ र चिनीबारे कुराकानी भइरहेको छ,’ उनले भने।राजदुत श्रीवास्तवले गहुँ र चिनीमा नेपाललाई उपलब्ध गराउने सहुलियतको बारेमा पनि छलफल भइरहेको बताए।धरानमा भारतबाट सामान ल्याउनका लागि मिरगञ्जको पुल नबन्दा समस्या भइरहेको भन्दै पुल चाँडै सञ्चालन हुने उनले बताए।
त्यसका लागि बिहार प्रदेश र केन्द्र सरकारसँग कुराकानी गरिसकेको उनको भनाइ थियो।‘नेपालसँग आर्थिक र वाणिज्यको सम्बन्ध झनै प्रगाढ र सुदृढ होस् भन्ने भारतका जनता र सरकार चाहन्छन्। यो क्षेत्रमा भारतसँग नेपालको व्यापार धेरै नै छ। हामी चाहन्छौँ, यसलाई अझै बढाउनु पर्छ,’ उनले भने।भारतले जुन १ देखि गहुँ र चिनी निर्यातमा प्रतिबन्ध लगाएको थियो।
प्रतिक्रिया दिनुहोस्