काठमाडौं, २६ जेठ । अछामका विनोद शाहीको मृत्यु भएको घटनामा परिवारले १३ जनाविरूद्ध जाहेरी दिएका छन्। पञ्चदेवल विनायक नगरपालिका–४ का १७ वर्षीय शाहीको हत्या भएको भन्दै पीडित परिवारले १३ जनाविरूद्ध किटानी जाहेरी दिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक कैलाश बिष्टले जानकारी दिए। यस घटनाको अनुसन्धान केन्द्रीय अनुसन्धान ब्युरोबाट खटिएको प्रहरी नायब उपरीक्षकको टोलीले गरिरहेको छ। यस्तै सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयबाट पनि प्रहरी वरिष्ठ उपरीक्षक जनकराज पाण्डे नेतृत्वको टोलीले अनुसन्धान गरिरहेको छ। प्रहरीले विभिन्न व्यक्तिहरूलाई सोधपुछ गर्ने लगायतको काम गरिरहेको छ।
केहीलाई नियन्त्रणमा लिएर राखे पनि प्रहरीले सबैको नाम सार्वजनिक गरेको छैन। शाहीको बिहीबार जिल्ला अस्पताल मंगलसेनमा पोष्टमर्टम पनि गरिएको छ। पोष्टमर्टमपछि मृतकका परिवारले सदगद समेत गरेका हुन्। शाही जेठ १७ गतेदेखि बेपत्ता भएका थिए। उनको जेठ २१ गते शनिबार बिहान करिब १० बजे शव फेला परेको थियो। उनको शव पुरानो कुच्चीस्थित भीरमा शव फेला परेको थियो। शव फेला परेको खबर पाए पनि स्थानीयले अवरोध पुर्याएपछि प्रहरी घटनास्थल पुग्न ढिलो भएको थियो। राजनीतिक दलका नेताहरूसँग छलफल गरेपछिमात्रै प्रहरीको टोली घटनास्थलमा पुगेको हो।



















प्रतिक्रिया दिनुहोस्