काठमाडौं । नेकपा एमालेभित्र जारी विवाद संसदीय समितिमा समेत छरपस्ट भएको छ । संसद् पुनःस्थापनापछि आइतबार पहिलोपटक बसेको अन्तर्राष्ट्रिय सम्बन्ध समितिको बैठकमा एमालेका अध्यक्ष ओली र बरिष्ठ नेता नेपाल पक्षबीच भनाभन भएको छ । बैठकमा एमाले वरिष्ठ नेता माधवकुमार नेपाललगायत सहभागी हुनुहुन्थ्यो । त्यस क्रममा नेपालले संसद् पुनर्जीवित भएकोमा खुशी व्यक्त गर्दै संघर्षबाट संसद् पुनःस्थापना भएको स्मरण गराउनुभयो । नेता नेपाललगायतका सांसद बोलेको केही समयपछि बैठकमा एमाले अध्यक्ष ओलीपक्षका सांसद नारदमुनि राना समिति बैठकमा प्रवेश गर्नुभएको थियो । रानाले आफ्नो बोल्ने पालो आएपछि नेता नेपालप्रति कटाक्ष गर्दै संसद्लाई जनताले नभई सर्वोच्च अदालतले पुनःस्थापना गरेको जिकीर गर्नुभयो ।
रानाले अहिले संसद् चाहिनेहरू वैशाख २७ गते प्रधानमन्त्री केपी ओलीले विश्वासको मत लिइरहेका बेला कहा“ थिए भनी प्रश्न समेत गर्नुभयो । ‘आफ्नो पार्टीको प्रधानमन्त्री हु“दा घरमा गएर सुत्ने अनि संसद् चाहिन्छ भन्ने ? यो संसद् अदालतले ल्याएको हो, जनताले होइन । वरिष्ठ नेताहरूले जिम्मेवारी लिनुपर्छ,’ रानाको भनाइ थियो । सांसद रानाले नेता नेपालसहितका सांसदप्रति कटाक्ष गर्दै आफ्नो भनाइलाई निरन्तरता दिएपछि नेपाल पक्षका सांसद दीपकप्रकाश भट्ट आक्रोशित हुनुभयो । त्यसपछि नेता नेपाल पनि आक्रोशित हु“दै नेता नेपाल र सांसद भट्टले ’प्रतिगमनका मतियारहरू बाहिर जानुस्’ भन्नुभयो ।
प्रतिगमनलाई साथ दिने अनि समितिमा आएर जथाभावी भनेको भन्दै नेपाल र भट्टलगायत कांग्रेसका सांसदहरू पनि सांसद रानामाथि खनिए । रानाले अनावश्यक कुरा गरेको भन्दै एमालेको नेपाल पक्षका सांसदले असन्तुष्टि जनाए । बैठक आजको मूल कार्यसूचीमा प्रवेश नै नगरी सकिएको छ ।
प्रतिक्रिया दिनुहोस्