काठमाडौं, ४ जेठ । पार्टी विवाद मिलाउन गठित नेकपा एमाले कार्यदलको आज बैठक बस्ने भएको छ। प्रधानमन्त्री कार्यलय सिंहदरबारमा दिउसो ३ बजे बैठक बस्न लागेको प्रधानमन्त्री केपी शर्मा ओली तर्फबाट कार्यदल संयोजक रहेका एमाले संसदीय दलका उपनेता सुवास नेम्वाङले जानकारी दिनुभयो । पार्टी विवाद मिलाउन आइतबार प्रधानमन्त्री एवम् पार्टी अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालले तीन दिनको समय दिएर कार्यदल बनाउनुभएको थियो । कार्यदलमा दुबैतर्फका ५/५ जना नेता छन्। प्रधानमन्त्री ओलीका तर्फबाट नेम्वाङ, अर्थमन्त्री विष्णु पौडेल,परराष्ट्र मन्त्री प्रदीप ज्ञवाली, प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमाल र लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेल छन्। त्यस्तै माधवकुमार नेपालका तर्फबाट भीम रावल, घनश्याम भुसाल, रघुजी पन्त, गोकर्ण बिष्ट र सुरेन्द्र पाण्डे रहेका छन्।कार्यदलले तीन दिनको समय पाएको थियो। सोमबार कार्यदलको बैठक बसेको थिएन।आइतबार गठन भएको कार्यदललाई २०७५ जेठ २ को संरचनामा लैजानका लागि आवश्यक खाका बनाउन निर्देशन दिइएको छ।
प्रतिक्रिया दिनुहोस्