
काठमाडौ, २७ जेठ । नेपालको नयाँ नक्साअनुसार निशान छाप बनाउने संविधान संशोधन विधेयकमाथि मंगलबार प्रतिनिधि सभामा छलफल हुँदैछ।
संसद सचिवालयले संविधान संशोधन अगाडि बढाउने गरी कार्यसूची तयार पारेको छ। बजेटको मन्त्रालयगत बाँडफाँटमाथि मन्त्रीहरूले जवाफ दिएपछि विधेयक पेश गर्ने तयारी सभामुख अग्नि सापकोटाले गर्नुभएको छ ।
आज विधेयकमा सैद्धान्तिक छलफल हुनेछ। छलफलमा उठेका प्रश्नको कानून मन्त्री शिवमाया तुम्बाहाङ्फेले जवाफ दिनुहुने छ । छलफलपछि विधेयक संशोधनका लागि अगाडि बढ्नेछ। सांसदहरूले सरकारले ल्याएको नयाँ निशान छापमा परिवर्तनका लागि संशोधन प्रस्ताव दर्ता गराउन पाउँछन्।
संशोधन प्रस्ताव प्राप्त भएपछि संशोधनमाथि संसदको पूर्ण बैठकमा छलफल हुन सक्नेछ। अथवा सभामुखले विशेष समिति गठन गराएर थप छलफलका लागि पठाउन सक्नेछन्। सरकारले संविधान संशोधन विधेयक यसै अधिवेशनबाट टुङ्ग्याउने तयारी गरिरहेको छ।


















प्रतिक्रिया दिनुहोस्