काठमाडौं, ८ चैत । तीव्र रुपमा फैलिदै गएको नोवेल कोरोना भाइरस कोभिड—१९को संक्रमणबाट विश्वभर मृत्यु हुनेको संख्या १२ हजार पुगेको छ भने भाइरस बाट संक्रमित हुनेको संख्या २ लाख ८४ हजार पुगेको छ ।
चीनको उहान इपिसेन्टर रहेको कोरोना भाइरसको संक्रमण हाल विश्वका १ सय ८६ मुलुकमा फैलिसकेको छ । विश्व स्वास्थ संगठन लगायत सबै मुलुकको अथक प्रयासका वावजुद पनि कोरोना भाइरसको विश्वव्यापी संक्रमण तीव्र बन्दै गएको छ । चीनमा करीव ३ महिनामै ३ हजार जनाभन्दा बढिको मृत्यु भएकोे कोरोना भाइरसको संक्रमण यतिखेर युरोपेली मुलुकमा फैलिएको छ । बिहिबार बाट चीनलाई उछिन्दै इटालीमा सबैभन्दा बढि नागरिकको कोरोना भाइरसको संक्रमणबाट मृत्यु भैसकेको छ । चीनमा भने गत बुधबार देखि नयाँ संक्रमितको संख्या शुन्यमा झरेको छ ।
शनिबारसम्म इटालीमा कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या ४ हजार ३२ पुगेको छ । त्यस्तै इरान, स्पेन र फ्रान्समा पनि कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या तुलनात्मक रुपमा बढ्दो छ । कोरोना संक्रमणबाट शनिबारसम्म इरानमा १५ सय ५६ जनाको मृत्यु भएको छ भने स्पेनमा पनि मृत्यु हुनेको संख्या १३ सय २६ पुगेको छ । त्यस्तै फ्रान्समा शनिबार सम्ममा ४ सय ५० जनाको मृत्यु भएको छ । विश्वमा नै त्राश पैदा गरेको कोरोना भाइरसको संक्रमण र मृत्यु हुने दर अमेरिकामा पनि वढ्दो छ । अमेरिकामा शनिबार कोरोना संक्रमणका कारण थप १९ सहित २ सय ७५ जनाको मृत्यु भैसकेको छ ।
सिमावर्ती छिमेकी मुलुक भारतमा पनि कोरोना भाइरसको संक्रमण बढ्दो क्रममा रहेको छ । सार्क मुलुकमा सबैभन्दा बढि कोरोना संक्रमित रहेको भारतमा कोरोना भाइरसको कारण मृत्यु हुनेको संख्या ५ पुगेको छ भने २ सय ७५ जनामा कोरोनाको संक्रमण पुष्टि भएको छ । भारतमा तीव्र रुपमा कोरोना भाइरसको संक्रमण फैलिएसंगै रोजगारको सिलसिलामा भारत छिरेका नेपाली नागरिकहरु नेपाल फर्कने क्रम पनि बढ्दो छ ।
यता विश्व स्वास्थ संगठनले भने कोरोना भाइरस कोभिड—१९को संक्रमण युवामा पनि देखिने खतरा रहेको हुँदा सजग र सुरक्षित रहन आग्रह समेत गरेको छ ।
प्रतिक्रिया दिनुहोस्