
काठमाडौँ, १७ जेठ । राष्ट्रिय जनता पार्टी नेपाल राजपा ले पार्टीको विधान मस्यौदा समितिलाई विधानमा आवश्यक परिमार्जन गरी अध्यक्ष मण्डलको आगामी जेठ २१ गते हुने वैठकमा उपलब्ध गराउन निर्देशन दिएको छ । पार्टी कार्यालय बबरमहलमा राजपाका अध्यक्ष मण्डलका संयोजक अनिलकुमार झाको अध्यक्षतामा यही जेठ १४ देखि १६ गतेसम्म भएको बैठकले परिमार्जित मस्यौदा विधान उपलब्ध गराउन निर्देशन दिने निर्णय गरेको राजपाद्वारा जारी विज्ञप्तिमा जनाइएको छ ।
बैठकले २०७६ जेठ मसान्तसम्म अन्तिमपटकको लागि सदस्यता वितरण अभियान सञ्चालन गर्ने निर्णय गरेको छ । उक्त अभियानलाई सफल पार्न पार्टीका सम्बन्धित वडाका बासिन्दा र वडादेखि केन्द्रीय तहसम्मका सबै नेता, कार्यकर्तालाई आ–आफ्नो कार्यक्षेत्रमा खटिन र अभियानलाई सफल पार्न आब्हान पनि गरेको छ ।
प्रदेश–२ को सरकारलाई प्रदेशको नीति र कार्यक्रम एवं आव २०७६/७७ को बजेट बनाउँदा दिर्घकालीन एवं सङ्घीयताको मर्म र भावनाअनुरुप बजेट ल्याउन सुझाव दिने निर्णय गरेको राजपाको विज्ञप्तिमा उल्लेख छ ।



















प्रतिक्रिया दिनुहोस्