
बुटवल, १७ बैशाख । बुटवलको जितगढीमा वैशाख ७ गते प्रधानमन्त्री केपी शर्मा ओलीलाई कालो झण्डा देखाउने रुद्रप्रसाद घिमिरे १० दिनपछी रिहा हुने भएका छन् ।
सर्वोच्च अदालतले आज घिमीरेलाई हिरासत मुक्त गर्ने आदेश जारी गरेपछि उनी रिहा हुने भएका हुन् । सर्बोच्चका न्यायाधीश दीपककुमार कार्की र हरिप्रसाद फुयालको संयुक्त इजलासले घिमिरेलाई गैरकानूनी रुपमा थुनामा राखिएको भन्दै मंगलबार बन्दी प्रत्यक्षीकरण रीट जारी गरेका थिए ।
उनलाई इलाका प्रहरी कार्यालय बुटवलमामा १० दिन देखि थुनामा राखिएको थियो । गत वैशाख ७ गते बुटवल उपमहानगरपालिका १ जितगढीमा आयोजना गरिएको बिजय उत्सव कार्यक्रममा प्रधानमन्त्रीले भाषण गरिरहेका बेला कालो झण्डा देखाउँदा देखाउँदै घिमिरे पक्राउ परेका थिए ।
घिमिरेलाई थुनामा राख्दा संवैधानिक तथा कानुनी रुपमा संरक्षित अभिव्यक्ति स्वतन्त्रता एवं मानव अधिकारको चरम उल्लंघन भएको दावी गर्दै महेश डंगोलले सर्वोच्च अदालतमा बन्दी प्रत्यक्षीकरणको रीट दायर गरेका थिए ।
मंगलबार सर्वोच्चमा घिमिरेको पक्षमा वरिष्ठ अधिवक्ता बालकृष्ण न्यौपाने, सुरेन्द्र भण्डारी र डा. नारायणप्रसाद घिमिरे तथा अधिवक्ताहरु अनन्तराज लुईंटेल र विकास भट्टराईले बहस गरेका थिए । अधिवक्ताहरुले २०२८ सालमा तत्कालिन राजा महेन्द्रको ५१ औं जन्मोत्सव मनाउँदा धनुषामा कालो झण्डा देखाउनेहरुलाई सर्वोच्च अदालतबाट रिहाई गरिदिएको नजिर पेश गर्दै प्रधानमन्त्री ओलीलाई कालो झण्डा देखाएकै भरमा घिमिरेलाई थुनामा राख्ने अनुमति सर्वोच्चले दिएमा निरंकुश समयमा फर्कनुपर्ने तर्क गरेका थिए ।



















प्रतिक्रिया दिनुहोस्