
काठमाडौं,११ बैशाख । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले दिवंगत पार्टीका नेता एवम् पूर्वमन्त्री रामकृष्ण ताम्राकारलाई अन्तिम श्रद्धाञ्जली व्यक्त गर्नु भएको छ ।
सभापति देउवाले बुधबार बिहान पार्टी केन्द्रिय कार्यालय सानेपामा राखिएको दिवंगत नेता ताम्राकारलाई अन्तिम श्रद्धाञ्जली व्यक्त गर्नु भएको हो । त्यस अवसरमा उहाँले पार्टीको झण्डा ओढाएर नेता ताम्राकारको सम्मान पनि गर्नु भएको थियो ।
त्यसैगरी काँग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री डा. शशांक कोइराला, नेता कृष्णप्रसाद सिटौलालगायतका नेता, कार्यकर्ताले पनि दिवंगत नेता ताम्राकारप्रति श्रद्धाञ्जली व्यक्त गर्नु भएको थियो ।
नेपाली काँग्रेसका पूर्व कोषाध्यक्ष समेत रहनु भएका पूर्वमन्त्री ताम्राकारको निधनप्रति गहिरो शोक व्यक्त गर्दै नेपाली काँग्रेसले बुधबारबाट सुरु गर्न लागेको राष्ट्रिय जागरण अभियान पनि दुई हप्ता पछि सारेको छ ।
रुपन्देहीको सिद्धार्थ नगरपालिकास्थित भैरहवा निवासी ताम्राकार २०४८ साल र २०५६ सालमा रुपन्देही जिल्लाको क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभामा निर्वाचित हुनु भएको थियो । गिरिजाप्रसाद कोइरालाको विश्वास पात्रको रुपमा रहनु भएका दिवंगत नेता ताम्राकार स्वास्थ्य र उद्योग मन्त्री समेत बन्नु भएको थियो ।
विगत दुई वर्षदेखि क्यान्सर रोगले पीडित उहाँको मंगलबार ललितपुरस्थित अल्का अस्पतालमा उपचारको क्रममा निधन भएको हो । दिवंगत नेता ताम्राकारको आजै अपरान्ह पशुपति आर्यघाटमा अन्त्यष्टि गरिने काँग्रेसले जनाएको छ ।



















प्रतिक्रिया दिनुहोस्