
कविराज विसी
काठमाडौं, २८ चैत्र । विश्वको सर्वोच्च शिखर सगरमाथाको उचाई नेपाल आफैले मापन गर्ने भएको छ । नेपालले पहिलो पटक आफ्नै प्रयास दक्षता र लगानीमा सगरमाथाको मापन गर्न लागेको हो । परम्परागत र आधुनिक दुवै माध्यमको प्रयोग गरी पहिलो पटक सगरमाथाको उचाई मापन गर्न लागेको हो ।
मापनको कार्यन्वयनका लागि नापी विज्ञ टोलीलाई बुधबार विदाइ गरिएको छ ।
विश्वकै अग्लो सर्वोच्च शिखर सगरमाथा आम नेपालीका लागि सम्पत्ति मात्र नभई गौरव पनि हो । आफ्नै शीरमा रहेको सगरमाथाको उचाई मापन नेपालले अहिलेसम्म गरेको थिएन । अन्तराष्ट्रिय निकायहरुले विभिन्न प्रविधि प्रयोग गर्दै उचाइ नापेको भएपछि पछिल्लो दिनमा सगरमाथाको वास्तविक उचाई कति हो भन्नेबारेमा विवाद बढ्न थालेको थियो ।
विशेषगरी, २०७२ सालको भूकम्पछि अमेरिका र छिमेकी चीनका विज्ञहरुले फरक फरक उचाईबारे दाबी गरेपछि वास्तविक उचाईमा अलमल थियो । नेपाल आफैले सगरमाथाको वास्तविक उचाई नाप्ने उद्देश्यले सरकारले नेपाली सर्वे टोलीलाई त्यहां पठाएको छ । नापी विभागको टोलीलाई बुधबार बिहान प्रधानमन्त्री केपी शर्मा ओलीले विदाइ गरेका छन् । टोलीमा प्रमुख नापी अधिकृत खिमलाल गौतम, नापी अधिकृत रविन कार्की, सर्भेयर सुरजसिंह भण्डारी र अमिन युवराज धिताल छन् । उनीहरुसगै नेपाल माउन्टेन एकेडेमीका प्रशिक्षक छिरिङ जाङबु शेर्पा पनि सगरमाथाको उचाइ नाप्न जाने छन् । विदाई कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले सगरमाथाको उचाइ घटेको हो भन्ने कुराको आफुलाई विश्वास नलागेको बताए ।
नेपालले आफैं सगरमाथाको उचाइ नाप्न लागेको यो पहिलो पटक हो । यसअघि सन् १९५४ मा भारतीय नापी विभागको टोलीले र १९९९ मा अमेरिकी टोलीले सगरमाथाको उचाइ नापेका थिए । भारतीय टोलीले ८,८४८ र अमेरिकी टोलीले ८,८५० मिटर अग्लो सगरमाथा रहेको निष्कर्ष निकालेका थिए । यद्यपी, नेपालले अहिलेसम्म ८,८४८ मिटरलाई नै मान्यता दिंदै आएको छ ।
भूमि व्यवस्था मन्त्रालयका अनुसार सगरमाथाको उचाइ मापन गर्ने टोली बुधबारनै सगरमाथातर्फ प्रस्थान गर्ने छ । टोलीले आउदो डिसेम्बर महिनाभित्रै रिपोर्ट बुझाउने मन्त्रालयको विश्वास छ । सगरमाथाको नापी कार्यमा अहिले दक्षिण सिरहाको माडरदेखि सोलुखुम्बुको पत्तालोसम्म विभिन्न विन्दुहरुबाट मापन भइसकेकोे नापी विभागले जनाएको छ ।
राष्ट्रिय तथा अन्तर्राष्ट्रिय विज्ञहरुबीच सन् २०१७ मा भएको अन्तराष्ट्रिय सम्मेलनपश्चात् सबैको सहमतिमा सगरमाथाको नापी कार्य अगाडि बढाएको हो । अहिलेसम्म मापन भएका विधिमध्ये त्रिकोण समतल र ग्लोबल नेभिगेशन् सेटलाइट सिष्टम्, जि.पि.एस विधि प्रयोग भएका छन । नेपालले परम्परागत नापी, भौगोलिक त्रिकोण, गुरुत्वाकर्षण सर्वे, ग्लोबल नेभिगेशन् सेटलाईट सिष्टम, जि.पि.एस जस्ता आधुनिक र परम्परागत विधिको सम्मिश्रण गरी मिक्स मोडलमा उचाइ मापन गर्ने भएको छ ।
सगरमाथा चुनौतीको भण्डार हो र यसको मापन वैज्ञानिक काम । वसन्त ऋतुमा नापी टोलीले जीपीएस र अन्य उपकरणसहित सगरमाथाको टाकुरामा पुगेर तथ्याङ्कहरू ल्याउन सफल भएमा सगरमाथा उचाइ मापनको सबैभन्दा महत्वपूर्ण काम पूरा हुनेछ । यसले नेपालको गौरवमा नेपालकै पौरख देखाउने छ भने पर्यटन प्रर्वद्धनमा पनि टेवा पु¥याउने आशा गर्न सकिन्छ ।



















प्रतिक्रिया दिनुहोस्