
काठमाडौं,२५ चैत । सभामुख कृष्णबहादुर महराले कतारको दोहामा जारी अन्तर–व्यवस्थापिका संघ (आइपियू) को १४० औं सभालाई सम्बोधन गर्नुभएको छ ।
आइपियूको सभामा सभामुख महराले नेपालले लोकतन्त्र, मानवअधिकार, समानता र कानूनी शासनको प्रवद्र्धनको विषयमा केन्द्रित रहेर सम्बोधन गर्नुभएको हो ।

सभालाई सम्बोधन गर्दै सभामुख महराले नेपालको संसदले लोकतान्त्रिक मूल्यमान्यता, मानव अधिकार, समानता र कानूनी शासनको संरक्षण र प्रवद्र्धन गर्दै आएको बताउनुभयो । सम्बोधनका क्रममा सभामुख महराले शान्ति स्थापना र प्रजातान्त्रिक परिवर्तनमा आइपियूले खेलेको भूमिकाको प्रशंसा गर्नुभयो ।
सभामुख महराले राजनीतिक अन्तरक्रिया र ठोस कार्यमार्फत् शान्ति स्थापना र सकारात्मक प्रजातान्त्रिक परिवर्तनको लागि अन्तर–व्यवस्थापिका संघले निर्वाह गरेको भूमिकाको प्रशंसा गर्नुभयो ।
राजनीतिक नेतृत्व र विधायकहरुले आफ्ना देशका विशिष्ट आवश्यकता र विकासको अवस्थालाई ध्यान दिँदै उपयुक्त नीति निर्माण गर्नुपर्नेमा जोड दिदै सभामुख महराले सकारात्मक परिवर्तनतर्फ जनप्रतिनिधिहरुको संस्थाको रुपमा रहेको संसदले भूमिका खेल्ने बताउनुभयो ।
नेपालले विद्यालयलाई शान्ति क्षेत्रको रुपमा पहिचान गरेको भन्दै सभामुख महराले द्वन्द्व र संकटको समयमा बालबालिकाको शिक्षाको अधिकार कुण्ठित हुनबाट जोगाउने प्रयास गरिएको बताउनुभयो । नेपालले सन् २०३० सम्ममा आम नागरिकको न्यून आयबाट मध्यम आयमा रुपान्तरण गर्ने लक्ष्यमा शिक्षालाई प्राथमिकता दिइएको सभामुख महराले बताउनुभयो ।
आइपियूको सभामा गरिएको छलफलले शान्ति र सुरक्षासहितको समतामूलक र न्यायिक समाज निर्माणमा जनप्रतिनिधिहरुको योगदान थप स्पष्ट हुनेमा उहाँले विश्वास व्यक्त गर्नुभयो । चैत २३ गतेदेखि शुरु भएको अन्तर–व्यवस्थापिका संघ (आइपियू) को १४० औं सभामा एक १६७ देशका १ हजार ६ सय प्रतिनिधिहरु सहभागी भएका छन् ।



















प्रतिक्रिया दिनुहोस्