
काठमाडौं,१४ माघ । निर्मला हत्याकाण्डमा मुछिएका बबिता बम र रोशनी बमले केही मानवअधिकार कर्मी र संचारकर्मीहरुले आफूहरुको चरित्र हत्या गरेको उल्लेख गर्दै आपत्ति जनाएका छन ।
सोमबार काठमाडौंमा दुवै दिदीबहिनीले पत्रकार सम्मेलन गरी आफूहरुको चरित्र हत्या गर्ने गरी प्रतिवेदन जारी गरेको भन्दै केही मानव अधिकारकर्मीप्रति आपत्ति जनाएका हुन ।
आफूहरुसँग र छिमेकसँग घटनाबारे कुनै पनि जानकारी नलिई आफूलाई डान्स बारमा काम गर्ने केटीको रुपमा चित्रण गरी चरित्र हत्या गर्ने काम केही मानव अधिकारवादीहरुले गरेकाले त्यसको खण्डन गर्न पत्रकार सम्मेलन गर्नु परेको दिदी बबिता बमले बताउनु भयो ।
उहाँले आफूले निर्मला पन्तलाई एक-दुई चोटी घरमा बहिनीसँग आउँदा भेटेको भएपनि नचिनेको दावी समेत गर्नु भयो । सो घटनालाई लिएर मानव अधिकारवादीहरुले आफूहरुको चरित्र हत्या गरेकाले न्याय माग्न काठमाडौं आउनु परेको बबिताले बताउनु भयो ।
बहिनी रोशनी बमले पनि आफुहरुमाथि चरित्र हत्या गरेपछि न्याय माग्न काठमाडौं आउनु परेको स्पष्ट पार्नु भयो । उहाँले सो घटनाको सत्यतथ्य बुझी दिन संचारकर्मीहरुलाई पनि आग्रह गर्नु भयो । निर्मला आफ्नो क्लासमेट भएपनि दिदी बबिताले नचिनेको रोशनीको पनि पत्रकार सम्मेलनमा दावी थियो ।
बबिता र रोशनी दुवै दिदीबहिनीले आफूहरुलाई दोषी देखाउन राज्यले नसकिरहेका बेला केही मानव अधिकारकर्मीहरुले झूट प्रतिवेदन सार्वजनिक गर्ने र धम्क्याउने गरेको भन्दै आक्रोश व्यक्त गरिरहेका थिए ।
कुनै पनि मानव अधिकारकर्मीहरुले सो घटनाबारे आफूहरुसँग र छिमेकीहरुसँग सोधपुछ नगरेको उनीहरुको दावी छ । दिदी बबिताले आफूलाई प्रहरीले दुई पटक गरेर २२ दिन जेलमै राखेर सोधपुछ गरेको पनि पत्रकार सम्मेलनमा बताउनु भयो ।



















प्रतिक्रिया दिनुहोस्