
काठमाडौं,८ पुस । प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले सरकारविरुद्ध आन्दोलनको तयारीमा रहन पार्टीका नेता, कार्यकर्तालाई निर्देशन दिनु भएको छ ।
सभापति देउवाले सरकार निरंकुश बन्दै गएको उल्लेख गर्दै त्यसलाई रोक्न पनि काँग्रेसले आन्दोलनको तयारी गर्नु परेको पनि स्पष्ट पार्नु भयो । आईतबार नौं दिन काठमाडौंमा जारी पार्टीको महासमिति बैठकलाई समापन गर्दै उहाँले आगामी पुस १६ गते राष्ट्रिय मेलमिलाप दिवसको अवसर पारेर सरकारविरुद्धको आन्दोलनको कार्यक्रम घोषणा गर्ने पनि जानकारी दिनु भयो ।
सभापति देउवाले पार्टी भित्र केही विषयमा असहमति रहेपनि थाति राखेर सरकारविरुद्ध लडन पनि पार्टीका नेताहरुलाई सचेत गराउनु भयो ।कार्यक्रममा बोल्दै वरिष्ठ नेता रामचन्द्र पौडेलले महासमिति बैठकबाट नेपाली काँग्रेस एकतावद्ध भएको दावी गर्नु भयो ।
उहाँले नेपाली काँग्रेसलाई ७० वर्ष लामो राजनीतिक संघर्षले एकतावद्ध हुन सिकाएको उल्लेख गर्दै अव जनताको काम गर्न पार्टी एकतावद्ध भएर अघि बढने विश्वास पनि व्यक्त गर्नु भयो ।
महासमिति बैठक पार्टीको संघीय विधान पारित गर्दै सम्पन्न भएको हो । विधानमा १४ सदस्यीय पदाधिकारी राख्ने सहमति जुटेको छ । त्यसमा कोषाध्यक्षबाहेक अन्य पदाधिकारी महाधिवेशनबाट निर्वाचित हुने व्यवस्था पनि गरिएको छ ।



















प्रतिक्रिया दिनुहोस्