
काठमाडौं,२७ मङसिर । पूर्वराष्ट्रपति डा. रामवरण यादवले नयाँ संविधान लागू गराउन जिम्मेवार बन्न नेपाली काँग्रेसलाई सुझाव दिनु भएको छ ।
पूर्व राष्ट्रपति यादवले नेपाली काँग्रेसकै नेतृत्वमा जारी भएको संविधान कार्यान्वयन गराउने दायित्व काँग्रेसकै भएको पनि स्पष्ट पार्नु भयो । उहाँले आफूले जारी गरेको नयाँ संविधान निकै अग्रगामी भएको उल्लेख गर्दै त्यसलाई सफलतापूर्वक लागू गरे मुलुक सफल राष्ट्र बन्ने विश्वास पनि व्यक्त गर्नु भयो ।
पूर्व राष्ट्रपति यादवले काँग्रेस नेतृत्वलाई गुटउपगुट अन्त्य गर्दै एकतावद्ध भएर अघि बढन् पनि सचेत गराउनु भयो ।
नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलद्धारा लिखित ‘नेपाली काँग्रेस र समाजवाद पुनर्निर्माणको मार्ग चित्र’ नामक पुस्तकको बिहिबार काठमाडौंमा विमोचन गर्दै पूर्व राष्ट्रपति यादवले नेपाली काँग्रेसको नेतृत्वले आफ्नै कार्यकर्तालाई दुस्मनजस्तै व्यवहार गर्ने गरेको भन्दै चिन्ता पनि व्यक्त गर्नु भयो ।
उहाँले सो पुस्तक विमोचन कार्यक्रम तराई, मधेशमा नगरेर काँग्रेसले त्यहाँको कार्यकतालाई पनि बिर्सदै गएको स्मरण गराउनु भयो ।
पूर्व राष्ट्रपति यादवले काँग्रेस जनतामा नगएको उल्लेख गर्दै आफूलाई असाध्य चिन्ता लाग्ने गरेको पनि दोहो¥याउनु भयो । उहाँले काँग्रेस महासमिति बैठक तराई मधेशमा नगरेर किन काठमाडौंमा आयोजना गरिएको भनि काँग्रेस नेतृत्वलाई प्रश्न पनि गर्नु भयो ।
पूर्व राष्ट्रपति यादवले वरिष्ठ नेता पौडेलको पुस्तक उपयोगी रहेको भन्दै त्यसलाई पढेर पार्टीलाई सशक्त बनाउन पनि काँग्रेस नेतृत्वको ध्यानाकर्षण गराउनु भयो ।
कार्यक्रममा बोल्दै पुस्तकका लेखक काँग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले पार्टी भित्र पुनर्निर्माण अभियान सुरु गर्न आफूले पुस्तक लेख्नु परेको बताउनु भयो ।
उहाँले पुस्तकमा कम्युनिष्टहरुले भन्ने गरेको समाजवाद र आफूहरुले भन्ने गरेको समाजवादबीचको फरकबारे पनि उल्लेख गरिएको जानकारी दिनु भयो ।
वरिष्ठ नेता पौडेलको सो पुस्तकमा काँग्रेसले अघि सार्दै आएको समाजवादी व्यवस्था स्थापना गर्ने लक्ष्य नयाँ संविधानमा उल्लेख गरिएको दावी पनि गरिएको छ ।



















प्रतिक्रिया दिनुहोस्