
काठमाडौं,१९ मङसिर । कानुन, न्याय तथा संसदीय मामिला मन्त्री भानुभक्त ढकालले प्रतिनिधिसभा भवन निर्माण कार्य पूरा नहुँदा संघीय संसदको हिउँदे अधिवेशन बोलाउन ढिलाई भएको बताउनु भएको छ ।
प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसले तत्काल संघीय संसदको हिउँदे अधिवेशन बोलाउन माग गरिरहेका बेला मन्त्री ढकालले प्रतिनिधिसभा भवन निर्माण पूरा नभएकाले सो अधिवेशन बोलाउने काममा ढिलाई हुन गएको प्रष्टयाउनु भएको हो ।
बुधबार सिंहदरबारमा आयोजित संघीय संसदको राष्ट्रिय सरोकार तथा समन्वय समितिको बैठकमा बोल्दै उहाँले सरकार संघीय संसदको हिउँदे अधिवेशन बोलाउने काममा बिलम्व गर्ने पक्षमा नरहेको पनि स्पष्ट पार्नु भयो ।
मन्त्री ढकालले पुस पहिलो साता भित्र प्रतिनिधिसभा भवन निर्माण कार्य पूरा हुने र त्यसलगत्तै संघीय संसदको हिउँदे अधिवेशन आह्वान गर्ने पनि बताउनु भयो ।
प्रतिनिधिसभा भवन निर्माण हुनेवित्तिकै सरकारले कानुन निर्माण प्रक्रियालाई व्यवस्थित ढंगले अघि बढाउने मन्त्री ढकालको प्रतिवद्धता छ । उहाँले सरकार संसदलाई छलेर अध्यादेशमार्फत् कानुन ल्याउने पक्षमा रहेको पनि बताउनु भयो ।
मन्त्री ढकालले संघीय संसदको आगामी अधिवेशनमा संविधानसँग बाँझिएका कानुन संशोधनको कामलाई उच्च प्राथमिकता दिने योजना रहेकोे पनि बताउनु भयो । फागुन पहिलो हप्ता भित्र नयाँ संविधानसँग बाँझिएका सबै कानुन संशोधन गरिसक्नुपर्ने संवैधानिक व्यवस्था छ ।
मन्त्री ढकालले संविधानको सोही व्यवस्था अनुसार सरकारले संविधानसँग बाँझिएका कानुन संशोधन गर्ने कामलाई उच्च प्राथमिकता दिएको पनि स्पष्ट पार्नु भयो ।
आगामी हिउँदे अधिवेशनमा साझा सूचिसँग सम्बन्धित र संक्रमणकालीन न्यायसँग सम्बन्धित कानुन निर्माणको कामलाई पनि प्राथमिकताका साथ अघि बढाउने मन्त्री ढकालको योजना छ ।
मन्त्री ढकालले सरकार संविधानको भावना बमोजिम कानुन निर्माणको कामलाई अघि बढाउन प्रतिवद्ध रहेकोे पनि बताउनु भयो ।



















प्रतिक्रिया दिनुहोस्