
दाङ, ११ वैशाख । तुलसीपुर उपमहानगरपालिकाका ६४ वर्षीय रोबरबहादुर खत्रीको हत्या गरेको आशंकामा प्रहरीले एक महिलालाई पक्राउ गरेको छ।
पक्राउ पछि प्रहरीसँगको बयानमा ती महिलाले आफूमाथि बलात्कारको प्रयास भएकाले प्रतिरक्षा गर्दा खत्रीको मृत्यु भएको बताएकी छन्।
‘मलाई जबरजस्ती गर्न खोजेपछि मैले लात्ताले हिर्काउँदा अन्डकोषमा लागेर मृत्यु भएको हो,’ ती महिलालाई उदृत गर्दै ईलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख प्रकाश सापकोटाले बताए ।
प्रहरीका अनुसार, ती महिलाको किराना पसलमा खत्री ९ गते राति १ देखि डेढ बजेको बिचमा आएका थिए। उनले आफूलाई गुट्का चाहिएको भन्दै ती महिलालाई उठाएका थिए। गुट्का किनेपछि खत्रीले आफूलाई पानी प्यास लागेको बताए। त्यसपछी दुवै महिलाको कोठामा पुगे। त्यही क्रममा खत्रीले ती महिलामाथि जबरजस्ती बलात्कारको प्रयास गरेका थिए।
त्यसले आफूलाई पीडा भएपछि लात्ताले हान्दा संवेदनशील अंगमा लागेर खत्रीको घटनास्थलमै मृत्यु भएको भन्ने बयान ती महिलाले दिएको ईप्रका प्रमुख सापकोटाले बताए।
‘मैले लात्ताले हिर्काउँदा संवेदनशील स्थानमा लाग्यो र त्यही लडे। उठाउन खोजेँ तर उठेनन्। म सुतेँ मैले बिहान तन्ना ओढाइ दिएर छोरीको उपचार गर्न भन्दै बजार निस्केकी हुुँ,’ ती महिलालाई उद्धत गर्दै डिएसपी सापकोटाले भने।



















प्रतिक्रिया दिनुहोस्