काठमाडौं, २८ जेठ । ‘नेपाल प्रहरीको सीआईडी हौँ’ भन्दै एक महिला माथि सामूहिक बलात्कार गरेर भागेका व्यक्तिलाई चितवन प्रहरीले ८ वर्ष पछि पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा चितवनको कालिका नगरपालिका–७ बस्ने सुमन दोङ भन्ने सुमन तामाङ छन् । उनलाई खोजतलास गर्ने क्रममा इलाका प्रहरी कार्यालय रत्ननगर, टाँडीबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो ।प्रहरीका अनुसार २०७५ साल असार ७ गते राति करिब २ बजे मोटरसाइकलमा आएका २ जना पुरुषले एक महिलालाई जंगलमा लगेर जबरजस्ती करणी गरेका थिए ।उनीहरुले आफूहरु इलाका प्रहरी कार्यालय टाँडीको ‘सीआईडी प्रहरी’ भएको भन्दै ‘केही जरुरी कुरा बुझ्नु छ, हामीसँग तुरुन्त जानुपर्छ’ भनेर पीडितका नाबालक छोरा समेतलाई मोटरसाइकलमा राखी प्रहरी कार्यालयतर्फ लैजाने भन्दै जंगलतर्फ लगेर जबर्जस्ती करणी गरेका थिए ।सो घटनामा संलग्न चितवन कालिका नगरपालिका–३ बस्ने पुटम थिङलाई प्रहरीले पहिले नै पक्राउ गरी अनुसन्धानपछि चितवन जिल्ला अदालतबाट अपहरण तथा जबरजस्ती करणी मुद्दामा १९ वर्ष कैद र ५० हजार रुपैयाँ जरिवाना सजाय तोकिएको थियो ।अर्का अभियुक्त सुमन तामाङ भने फरार थिए । उनलाई खोजतलासको क्रममा इलाका प्रहरी कार्यालय रत्ननगर, टाँडीबाट खटिएको टोलीले यही जेठ २२ गते पक्राउ गरेको हो । पक्राउ परेका तामाङलाई चितवन जिल्ला अदालतमा पेश गरिएकोमा अदालतको आदेशअनुसार पुर्पक्षका लागि कारागार चलान गरिएको प्रहरीले जनाएको छ ।


















प्रतिक्रिया दिनुहोस्