मेयर कालदेखि नै साथ दिएका व्यक्तिहरूलाई महत्त्वपूर्ण जिम्मेवारी दिएका छन्
काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) ले आफ्नो सल्लाहकार तथा सचिवालय टिम गठन गरेका छन् । काठमाडौं महानगरपालिकाको मेयरमा निर्वाचित हुनुअघिदेखि नै आफूसँग जोडिएका विश्वासपात्र र अनुभवी प्रशासकहरूलाई उनले टिममा समावेश गरेका छन् ।
शुक्रबार (चैत १३) पद तथा गोपनीयताको शपथ ग्रहण लगत्तै बालेनले आफ्नो सचिवालय विस्तार गरेका हुन् ।
प्रधानमन्त्री बालेनको सचिवालय टिम :
१. प्रमुख सल्लाहकार कुमार व्यञ्जनकार
- बालेन मेयर निर्वाचित हुनुअघिदेखि नै मुख्य सल्लाहकारका रूपमा काम गर्दै आएका व्यक्ति ।
- चुनावी अभियान, प्रतिनिधिसभा निर्वाचन र रास्वपामा बालेनको प्रवेशसम्म व्यञ्जनकारले प्रमुख भूमिका निर्वाह गरेका थिए ।
- ललितपुरका नरसिंह व्यञ्जनकार (१० पटक वडाध्यक्ष) का छोरा ।
२. राजनीतिक सल्लाहकार असिम शाह
- रास्वपा र बालेनबीचको एकता तथा सातबुँदे सहमतिका लागि मुख्य मध्यस्थता गरेका व्यक्ति ।
- रवि लामिछाने र बालेनबीचको मध्यरातको वार्ता उनकै कमलपोखरीस्थित निवासमा भएको थियो ।
- यसअघि रास्वपाबाट समानुपातिक सांसद बनेका थिए ।
३. मुख्य स्वकीय सचिव सुवास शर्मा
४. प्रशासन प्रमुख सुदीप ढकाल
- रास्वपाको समानुपातिक सूचीमा खस आर्यतर्फ दोस्रो नम्बरमा थिए ।
- यसअघि रूपन्देहीको तिलोत्तमा नगरपालिकाका आईटी अफिसर थिए ।
५. सूचना, सञ्चार तथा प्रविधि संयोजक विवेक मिश्र
- बालेन महानगरपालिका मेयर हुँदा आईटी विज्ञका रूपमा काम गरेका व्यक्ति ।
६. निजी सचिवालय प्रमुख सहसचिव प्रदीप परियार
- पर्वतको फलेवास स्थायी घर भएका युवा प्रशासक ।
- ०८० माघ ५ मा काठमाडौं महानगरको प्रमुख प्रशासकीय अधिकृत बनेका थिए ।
- सहरी विकास मन्त्रालय, राष्ट्रिय योजना आयोग र सूचना विभागमा काम गरिसकेका छन् ।
- खुला प्रतिस्पर्धाबाट ९ वर्षमै सहसचिव बनेका छन् ।
७. व्यक्तिगत सुरक्षा अधिकृत (PSO) प्रहरी नायब उपरीक्षक (डीएसपी) दिपेश बस्याल
- यसअघि ट्राफिक प्रहरी कार्यालय चितवनमा कार्यरत ।
- भुटानी शरणार्थी प्रकरण अनुसन्धान टिममा पनि थिए ।
थपिन बाँकी व्यक्तिहरू
प्रधानमन्त्री बालेननिकट स्रोतका अनुसार भूपदेव शाह, नवीन भण्डारी, अर्जुन घिमिरे (पाँडे), सुरेन्द्र बजगाईं, विनय शाक्य लगायतका व्यक्तिहरूलाई टिममा समावेश गर्नेबारे छलफल भइरहेको छ । यीमध्ये धेरैजसो बालेन मेयर हुँदा उनका स्वकीय सचिव, प्रेस सहजकर्ता र फोटोग्राफर थिए ।
प्रधानमन्त्री बालेनले आफ्नो टिममा विश्वास, अनुभव र पुरानो साथ लाई प्राथमिकता दिएको देखिन्छ । उनले मेयर कालदेखि नै साथ दिएका व्यक्तिहरूलाई महत्त्वपूर्ण जिम्मेवारी दिएका छन् भने प्रशासनिक अनुभव भएका युवा प्रशासकहरूलाई पनि समेटेका छन् ।
यो टिमले बालेन सरकारको १०० बुँदे शासकीय सुधार कार्यसूची कार्यान्वयनमा कत्तिको प्रभावकारी भूमिका खेल्छ भन्ने अब हेर्न बाँकी छ ।








प्रतिक्रिया दिनुहोस्