काठमाडौं : गत भदौ २३ र २४ गते देशव्यापी रूपमा हिंसात्मक बनेको जेनजी आन्दोलनका प्रमुख आयोजकमध्ये एक “हामी नेपाल” संस्थाका अध्यक्ष सुदन गुरुङले जाँचबुझ आयोगमा दिएको बयानमा आफूहरूले शान्तिपूर्ण प्रदर्शनको तयारी गरेको तर भीडलाई नियन्त्रण गर्न नसकेको स्वीकार गरेका छन् ।
आयोगसमक्ष दिएको लिखित बयानमा गुरुङले भनेका छन्, “हामीले माइतीघर मण्डलाबाट शान्तिपूर्ण प्रदर्शनका लागि कानुनी अनुमति लिएका थियौं । तर भीडको चाप बढ्दै गएपछि हामीले बारम्बार शान्त रहन अनुरोध गरे पनि भीड बानेश्वर र संसद् भवनतर्फ बढ्न थाल्यो ।”
गुरुङको मुख्य भनाइ :
- “हामी नेपाल” संस्था विपद् व्यवस्थापनमा सक्रिय छ । महाभूकम्प, बाढी, कोभिड महामारी र टर्की भूकम्पमा राहत तथा स्वास्थ्य सेवा प्रदान गरेको उल्लेख गर्दै गुरुङले संस्थाको पारदर्शी काम गर्ने उद्देश्य रहेको बताए ।
- भाद्र २३ गते बिहान ७ बजेदेखि माइतीघर मण्डलामा जम्मा भएका थिए । २० जना स्वयंसेवकलाई लिडर बनाएर भिड व्यवस्थापन गर्ने प्रयास गरेको बताए ।
- “चुल्हो दाउरा” ब्रान्डको ८० केस खानेपानी प्रदर्शनकारीहरूलाई वितरण गरेको उल्लेख गरे ।
- भाद्र २२ गते राति नै अराजक गतिविधि हुन सक्ने सूचना पाएपछि प्रहरी प्रमुख र साइबर ब्यूरोका अधिकारीलाई फोन गरी जानकारी गराएको बताए ।
- बिहान ९ बजेतिर “रक्षा बम” सहितको समूह आएर हस्तक्षेप गर्न खोजेपछि उनीहरूलाई शान्तिपूर्ण रूपमा आन्दोलन गर्न आग्रह गरेको बताए ।
- भिड बढ्दै गएपछि ब्यानरसहित अगाडि बसेर नियन्त्रण गर्न प्रयास गरेको, गाडीबाट भाषण गर्दै “ढुंगा होइन, फूल मात्र हान्छौं” भन्ने सन्देश दिएको उल्लेख गरे ।
- संसद् भवन निषेधित क्षेत्र हो भन्दै ठूलो ब्यानरसहित बारम्बार रोकेको र युवाहरूलाई शान्त रहन सामाजिक सञ्जालबाट भिडियो बनाएर आग्रह गरेको बताए ।
- कर्फ्यू घोषणा भएको तत्काल थाहा नभएको, घाइतेहरूको उद्धारमा व्यस्त रहेको र गोली प्रहारको घटना टिमबाट मात्र थाहा पाएको उल्लेख गरे ।
- अस्पतालमा प्रहरीले बन्दुक ताकेको देखेपछि डा. तोषिमा कार्की लगायत डाक्टरहरूले प्रहरीलाई बाहिर जान आग्रह गरेको बताए ।
- भाद्र २४ गते प्रधानमन्त्रीको राजीनामापछि संसद् भवन पुग्दा आगजनी भइसकेको र सिंहदरबार तथा बालुवाटार नजिकको होटलमा आगजनी रोक्न प्रयास गरेको बताए ।
- प्रहरी महानिरीक्षक चन्द्रकुबेर खापुङ र सशस्त्र प्रहरी महानिरीक्षक नारायणदत्त पौडेलले फोन गरेर प्रधान कार्यालय जोगाइदिन आग्रह गरेपछि हातेमालो गरी ज्यानको बाजी लगाएर दुवै कार्यालय जोगाएको दाबी गरे ।
- देशभर घटना भइरहनुको मुख्य कारण भाद्र २३ गते संसद् भवन परिसरमा निहत्था युवाहरूमाथि गोली प्रहार भएको प्रतिशोध र स्वस्फूर्त नागरिक आक्रोश भएको उनको ठहर छ ।
प्रदर्शनमा संस्थाको भूमिका
गुरुङले स्पष्ट पारेका छन् : “भाद्र २३ र २४ गतेको प्रदर्शनका लागि ‘हामी नेपाल’ संस्थाबाट कुनै हिंसात्मक गतिविधिमा संलग्नता थिएन । प्रदर्शनका लागि मेरो व्यक्तिगत रूपमा ५० हजार रुपैयाँ खर्च भएको छ । सोको बैंक स्टेटमेन्ट र स्किनसट पेश गरेको छु ।”
उनले संस्थाको कुनै वैदेशिक वा फाउन्डेसनबाट आर्थिक सहयोग नलिएको र पूर्ण पारदर्शी रहेको पनि जोड दिएका छन् ।
आयोगमा पेश गरिएका प्रमाण
- प्रदर्शनलाई शान्तिपूर्ण बनाउन सामाजिक सञ्जालमा पोस्ट गरेको भिडियो
- खर्चको बैंक स्टेटमेन्ट र स्किनसट
- प्रहरीसँग गरेको समन्वयको विवरण
आयोगले सुदन गुरुङको बयानलाई महत्वपूर्ण प्रमाणका रूपमा समेटेको छ । प्रतिवेदनमा उनले दिएको बयानले प्रदर्शन आयोजकहरूले शान्तिपूर्ण आन्दोलनको तयारी गरेको तर भीडको उग्रताका कारण स्थिति नियन्त्रणबाहिर गएको देखाएको छ ।
यो बयानले जेनजी आन्दोलनको आयोजन पक्ष र भीड नियन्त्रणको चुनौती दुवैलाई उजागर गरेको छ । आयोगले अब यो बयानलाई अन्य बयान र प्रमाणसँग मिलाएर अन्तिम निष्कर्षमा पुग्ने छ ।
सुदन गुरुङको बयान (कागज ब्यहोरा)
‘म अपार्टमेन्ट बिजनेस लगायत अन्य व्यवसाय सञ्चालन गर्छु र “हामी नेपाल” नामक युवा संस्थामा आबद्ध छु। यो संस्था कम्पनी रजिस्ट्रारको कार्यालय, त्रिपुरेश्वर, काठमाडौंमा दर्ता नं. २४११७९ मा मिति २०७७ भाद्र २३ गते दर्ता भएको हो।
संस्थाको स्थापनाकालदेखि नै नेपालमा बाढी-पहिरो, २०७२ सालको महाभूकम्प, कोभिड-१९ महामारी जस्ता विपद्को समयमा राहत, उद्धार तथा स्वास्थ्य सेवा व्यवस्थापनमा सक्रिय भूमिका निर्वाह गरेको छ। कोभिडको पहिलो लहरमा महाराजगञ्जस्थित शिक्षण अस्पतालमा अस्थायी अस्पताल स्थापना गरी सञ्चालन गरेको थियौं। दोस्रो लहरमा देशभर २७० वटा बेड क्षमताको अस्थायी अस्पताल ३ दिनभित्र सञ्चालनमा ल्याएका थियौं। नेपाल ट्रमा सेन्टरमा अक्सिजन, औषधि तथा अन्य स्वास्थ्य सामग्री वितरण गरेका थियौं। टर्कीमा गएको भूकम्पको बेला नेपाल सरकारसँगको सहकार्यमा १४ टन राहत सामग्री पठाएका थियौं।
म हालसम्म उक्त संस्थाको अध्यक्षको रूपमा कार्य गर्दै आएको छु। संस्थाको प्रबन्ध पत्रको दफा ४ तथा पारदर्शिता र जवाफदेहितालाई उच्च प्राथमिकता दिई काम गर्दै आएका छौं।
देशमा चरम भ्रष्टाचार बढिरहेको भन्दै म लगायत संस्थाका स्वयंसेवकहरूले मिति २०८२ भाद्र २३ गते माइतीघर मण्डलामा शान्तिपूर्ण प्रदर्शन गर्नका लागि काठमाडौं महानगरपालिकाबाट कानुनी अनुमति लिएका थियौं।
भाद्र २३ गते बिहान ७:०० बजेदेखि हामी माइतीघर मण्डलामा जम्मा भयौं। हामीले भिडलाई व्यवस्थित राख्न, अराजकता हुन नदिन र प्रहरीसँग समन्वय गर्न प्रयास गरेका थियौं। हामीले २० जना स्वयंसेवकहरूलाई लिडर समूह बनाई भिड नियन्त्रणमा राख्ने जिम्मेवारी दियौं।
भाद्र २३ गते बिहान करिब १५:०० बजेतिर हामी नेपाल संस्थाको तर्फबाट “चुल्हो दाउरा” ब्रान्डको ८० केस खानेपानी अनिल बानियालाई प्रमुख अतिथिका रूपमा हस्तान्तरण गरेका थियौं। सो पानी प्रदर्शनकारीहरूलाई वितरण गरिएको थियो।
भाद्र २२ गते राति नै अराजक गतिविधि हुन सक्ने सूचना प्राप्त भएपछि मैले र अनिल बानियाले काठमाडौं परिसरका तत्कालीन प्रहरी प्रमुख प्र.उ. तथा साइबर ब्यूरोका प्रहरी उपरीक्षकलाई फोन गरी जानकारी गराएका थियौं।
माइतीघर मण्डलामा भेला भइरहेको अवस्थामा बिहान करिब ९:०० बजेतिर “रक्षा बम” सहित ४–५ जनाको समूह आएर “यो तपाईहरूको आन्दोलन होइन, नबोल्नुस्” भन्दै हस्तक्षेप गर्न खोजे। हामीले उनीहरूलाई माइक, स्पीकर लगायत सामग्री हस्तान्तरण गरी शान्तिपूर्ण रूपमा आन्दोलन गर्न आग्रह गर्यौं।
भिडको चाप बढ्दै गएपछि हाम्रा स्वयंसेवकहरूले पटक-पटक भिडलाई शान्त रहन अनुरोध गरे। हामीले ब्यानरसहित भिडको अगाडि बसेर नियन्त्रण गर्न प्रयास गर्यौं। पछि गाडीमा चढेर आन्दोलनकारीहरूलाई संयमित हुन आग्रह गर्दै भाषण गरेका थियौं। “हामी आज ढुंगा हान्दैनौं, फूल मात्र हान्छौं” भन्ने सन्देश दिएका थियौं।
भिड बानेश्वरतर्फ बढ्न थालेपछि हामीले गाडी अगाडि बढाएर भिडलाई नियन्त्रण गर्न प्रयास गरेका थियौं। म गाडीमा बसी भिडलाई शान्त रहन अनुरोध गरिरहेको थिएँ।
भाद्र २३ र २४ गते म व्यक्तिगत रूपमा प्रदर्शनरत युवाहरूलाई संसद् भवनतर्फ नजान बारम्बार अनुरोध गरेको थिएँ। ठूलो ब्यानरसहित “यो निषेधित क्षेत्र हो, नजानुस्” भनी रोकेको थिएँ।
२३ गते प्रदर्शनलाई शान्तिपूर्ण बनाउन मेरो सामाजिक सञ्जाल प्लेटफर्मबाट विद्यार्थी तथा युवाहरूलाई भिडियो बनाएर सुसूचित गरेको थिएँ।
प्रदर्शनको क्रममा कर्फ्यू घोषणा भएको बारे म र मेरो टिमलाई तत्काल जानकारी भएन। किनकि कर्फ्यू घोषणा हुनुअघि नै संसद् भवन परिसरमा लाठी चार्ज, पानीको फोहोरा, अश्रुग्यास र ढुंगा प्रहार भइसकेको थियो र प्रदर्शनकारी घाइते हुन थालिसकेका थिए।
म घाइतेहरूको उद्धारमा केन्द्रित थिएँ। सिभिल अस्पताल र माइतीघरमा रहेको मेडिकल क्याम्पमा घाइतेहरूको उपचार गराउने काममा व्यस्त थिएँ।
म घाइतेको उद्धार गरिरहेको अवस्थामा मेरो टिमले “संसद् भवन परिसरमा गोली प्रहार भएर प्रदर्शनकारीको मृत्यु भएको” जानकारी दिएपछि मात्र थाहा पाएको हुँ।
सिभिल अस्पतालमा घाइतेहरूसँग भेटघाट गर्ने क्रममा प्रहरी अधिकृतसहितको टोलीले अस्पतालभित्र रहेका प्रदर्शनकारीहरूमाथि बन्दुक ताकेको देखेपछि डा. तोषिमा कार्की र अस्पतालका डाक्टरहरूले प्रहरीलाई बाहिर जान आग्रह गरेका थिए।
अस्पतालको मुल गेटमा हामी नेपाल संस्थाका १५–२० जना स्वयंसेवकहरू खटिएका थियौं। उनीहरूले प्रहरी र प्रदर्शनकारी दुवैलाई शान्त रहन आग्रह गरेका थिए।
भाद्र २३ र २४ गतेको प्रदर्शनका लागि “हामी नेपाल” संस्थाबाट कुनै हिंसात्मक गतिविधिमा संलग्नता थिएन। प्रदर्शनका लागि मेरो व्यक्तिगत रूपमा रु. ५०,००० (पचास हजार) खर्च भएको छ। सोको स्किनसट र बैंक स्टेटमेन्ट यसैसाथ पेश गरेको छु।
भाद्र २४ गते बिहान ७:०० बजेतिर घाइतेहरूलाई हेर्न सिभिल अस्पताल गएको थिएँ। ४५ मिनेटपछि फर्केर रानीबारीस्थित संस्थाको कार्यालयमा स्वयंसेवकहरूलाई घाइतेहरूको उपचारमा सहयोग गर्न निर्देशन दिएँ।
सो दिन तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा दिएपछि म लगायत स्वयंसेवकहरू संसद् भवन पुगेका थियौं। तर त्यहाँ आगजनी भइसकेको थियो। थप आगजनी रोक्न प्रदर्शनकारीहरूलाई सम्झाएर माइतीघर फर्किएका थियौं।
सिंहदरबारमा आगजनी भइरहेको सूचना पाएपछि सिंहदरबार पुग्दा प्रदर्शनकारीहरू भित्र प्रवेश गरी आगो लगाइसकेका थिए। बालुवाटार नजिकको होटलमा आगजनी हुँदा २ जना फसेको सूचना आएपछि त्यहाँ पुगेर प्रदर्शनकारीहरूलाई होटल नजलाउन सम्झाएका थियौं।
भाद्र २४ गते साँझ प्रधान सेनापतिले बोलाएकोले नेपाली सेनाको प्रधान कार्यालय गएको थिएँ।
देशभर घटना भइरहनुको पछाडि भाद्र २३ गते संसद् भवन परिसरमा तत्कालीन सरकारले गोली हानी निहत्था विद्यार्थी तथा युवाहरूको हत्या र घाइते बनाएको घटनाको प्रतिशोध र स्वस्फूर्त नागरिक आक्रोश थियो भन्ने मलाई लाग्छ।
भाद्र २४ गते म लगायत हामी नेपालका स्वयंसेवकहरू प्रधानमन्त्रीको राजीनामाको खुशी मनाउँदै रामशाहपथ स्थित उपत्यका ट्राफिक प्रहरी कार्यालय अगाडि पुगेका थियौं। त्यहाँ प्रदर्शनकारीहरूलाई आगजनी नगर्न आग्रह गरेका थियौं।
प्रहरी महानिरीक्षक चन्द्रकुबेर खापुङ र सशस्त्र प्रहरी महानिरीक्षक नारायणदत्त पौडेलले फोन गरी प्रधान कार्यालय जोगाइदिन आग्रह गरेका थिए। हामीले हातेमालो गरी ज्यानको बाजी लगाएर दुवै प्रहरी प्रधान कार्यालय जोगाएका थियौं। नेपाली सेनाका अधिकृत भोला थापासँग सहकार्य गरी रातभरि काठमाडौं उपत्यकामा खटेका थियौं।’







प्रतिक्रिया दिनुहोस्