काठमाडौं/जनकपुर ५ माघ । जनकपुरको सभास्थल सोमबार केवल एक राजनीतिक कार्यक्रमको मञ्च मात्र रहेन । त्यो मञ्च भाषण, चेतावनी, भावुकता र आगामी सत्ता–राजनीतिको संकेतले भरिएको रणभूमिजस्तै बन्यो । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को घोषणासभाले मधेशलाई केन्द्रमा राखेर ‘अबको नेतृत्व’ को बहसलाई एकैचोटि सतहमा ल्याइदियो ।
सभामा सबैभन्दा बढी ध्यान तान्ने अभिव्यक्ति डा. अमरेशकुमार सिंह को रह्यो । हालै रास्वपामा प्रवेश गरेका सिंहले बालेन शाह प्रधानमन्त्री नबने आत्मदाह गर्ने चेतावनी दिए ।
‘हामी सीता माताका सन्तान हौं । बालेन प्रधानमन्त्री भएनन् भने म जनकपुरको धर्तीमै समाहित हुनेछु,’
‘बालेन प्रधानमन्त्री बनेनन् भने म जनकपुरको रणभूमिमा आत्मदाह गर्नेछु,’
उनले मञ्चबाट दोहोर्याउँदै भने ।
गम्छा देखाउँदै भोट मागेका सिंहको भाषण राजनीतिकभन्दा बढी प्रतीकात्मक र भावनात्मक देखिन्थ्यो । ‘मसँग केही छैन, गम्छामा भिख माग्छु—मधेशलाई प्रधानमन्त्री देऊ,’ भन्ने उनको शैलीले समर्थकहरूलाई उत्त्रित बनायो भने आलोचकहरूलाई झस्कायो ।
‘देशको भाग्य परिवर्तन मधेशबाटै’
सभामा रास्वपा नेतृ सोबिता गौतम ले मधेशलाई केवल भूगोल नभई इतिहास र परिवर्तनको स्रोतका रूपमा चित्रित गरिन् ।
‘इतिहास बोकेको ठाउँ हो मधेश । आज यो देशको भाग्य परिवर्तन मधेशबाटै हुनुपर्छ,’
उनले भनिन् ।
आगामी निर्वाचनबाट मधेशका छोरा बालेन शाहलाई प्रधानमन्त्री को रूपमा हेर्न चाहेको स्पष्ट सन्देश दिँदै गौतमले रास्वपाको अभियानलाई ‘परिवर्तनको उद्घोष’ का रूपमा परिभाषित गरिन् ।
बलिदान दिवसको सन्दर्भ जोड्दै उनले पार्टी सभापति रवि लामिछाने ले दशकअघि क्यामेरा बोकेर मधेशका फाँटमा हिँडेको स्मरण गरिन् । बालेन शाहको प्रवेशसँगै पार्टी ‘पूर्ण’ भएको अनुभूति आफूले गरेको उनको दाबी थियो ।
‘विकासको विगुल मधेशबाट’
नेपाली कम्युनिस्ट पार्टी छाडेर रास्वपामा आएका रहबर अन्सारी ले मधेशमा वर्षौंदेखि गाडिएका सपना अब विस्फोट हुने दाबी गरे ।
‘धेरै भाषण भए, तर मधेशी जनताको सपना यही जमिनमुनि गाडियो,’
‘अब ती सपना ज्वालामुखीझैं फुट्नेछन्,’
उनले भने ।
रवि लामिछानेको त्याग र बालेन शाहको क्षमताको उद्घोष मधेशले गरिरहेको अन्सारीको भनाइ थियो । उनका अनुसार मधेशले दुख चेतन, संघर्ष र परिवर्तनको शक्ति बुझेको छ ।
प्रदेशसभा ‘पार्किङ’ थलो बनेको आरोप
सभामा उपसभापति स्वर्णिम वाग्ले ले संरचनागत बहसलाई नयाँ मोड दिए । उनले संघीय संसदमा पुग्न नसक्ने नेताहरूलाई ‘पार्किङ’ गर्ने थलो प्रदेशसभा बनेको आरोप लगाए ।
‘हामी संघीयताप्रति प्रतिबद्ध छौं । तर प्रदेशसभा कृतिम र अपरिपक्व अभ्यास बनाइयो,’
उनले भने ।
सयौं मन्त्री उत्पादन गरेर पनि नतिजा दिन नसकेको भन्दै वाग्लेले प्रदेश संरचनामा प्रणालीगत सुधार अपरिहार्य भएको बताए ।
जनकपुरको संकेत
जनकपुरको यो सभा केवल रास्वपाको शक्ति प्रदर्शन मात्र थिएन ।
यो सभा—
- मधेशलाई नेतृत्वको केन्द्रमा राख्ने दाबी
- बालेन शाहलाई प्रधानमन्त्रीको प्रतीक बनाउने प्रयास
- पुराना संरचनामाथि खुला प्रश्न
- र भावनात्मक राजनीतिको उत्कर्ष
सबैको मिश्रण थियो ।
अब प्रश्न बाँकी छ—
जनकपुरको मञ्चबाट उठेको यो उद्घोष राजनीतिक यथार्थमा बदलिन्छ कि भावनाको ज्वारमै सीमित रहन्छ?







प्रतिक्रिया दिनुहोस्