सिन्धुली । पहिलोपटक जुनार प्रवद्र्धन मेलाको आयोजना गरेको गोलन्जोर गाउँपालिकाले कार्यक्रम भव्य रुपमा सम्पन्न गर्नका लागि परामर्शलाई व्यापकता दिएको छ ।
जुनार प्रवद्र्धन मेलाको आयोजना स्थल जुनारको राजधानी गोलन्जोर ४ तिनकन्या घर भई सिन्धुलीमाढी बजारमा रहेका व्यक्तित्वहरुसँग पालिकाले परामर्श गरेको हो ।
मेला मंसिर २३, २४ र २५ गते तिनकन्याको माझकुभिण्डेमा आयोजना गरिँदैछ । यसअघि कृषि विकास कार्यालय, सुपरजोन लगायत विभिन्न कार्यालय, सरोकारवालाहरुसँग परामर्श गरिसकिएको छ ।
जुनार प्रवद्र्धन मेलालाई भव्य रुपमा सम्पन्न गर्नका लागि तिनकन्याका स्थानीयहरुकै भूमिका महत्वपूर्ण हुने भएकोले माढी बजारमा बसेबास गर्ने विभिन्न व्यक्तित्वहरुसँग परामर्श गरिएको पालिका अध्यक्ष शंकरराज बरालले जानकारी दिए ।
राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा स्थानीय उत्पादन फल जुनारलाई थप पहिचान दिलाउने उद्देश्यसहित मेलाको आयोजना गर्न तयारी गरिएको अध्यक्ष बरालको भनाइ छ ।
मेलामा बास तथा स्टल व्यवस्थापन, मनोरञ्जन, प्रचार प्रसार लगायतका विषयमा कसरी प्रभावकारी गर्न सकिन्छ भन्ने विषयमा छलफल गरिएको थियो । छलफलमा सिन्धुली बहुमुखी क्याम्पसका प्रमुख भानुभक्त गुरुङ, खुर्कोट क्याम्पस प्रमुख लक्ष्मण हायु, एबिसी टेलिभिजनका सम्पादक डण्ड गुरुङ, गाउँपालिका प्रवक्ता रेगनराज थापा, सामाजिक अगुवा उत्तरकुमार अधिकारी, कृषि अभियन्ताहरु निर्मल रम्तेल, लालबहादुर श्रेष्ठ, फणिन्द्र ठकुरी, मोहन ठकुरी, रामबहादुर ठकुरी, हृदय गुरुङ, लीलाबहादुर पुर्वछाने, बेगबहादुर ठकुरी लगायतको सहभागिता थियो ।
मेलामा जुनार खेतीका अवसर चुनौतीका विषयमा समेत विज्ञहरुसित परामर्श कार्यक्रम राखिने छ ।
मेलाले जुनारको प्रचार प्रसार, रोग तथा किरा नियन्त्रण, प्रविधिगत सीप, जुनारको गुणस्तरमा सुधार र अनुकूल नीतिगत समन्वयमा पनि सहयोग पुर्याउने अपेक्षा गरिएको छ ।



















प्रतिक्रिया दिनुहोस्