काठमाडौं, २१ साउन । सुदूरपश्चिम प्रदेश र पूर्वी नेपालमा गएराति ठूलो पानी परेको छ । सुदूरपश्चिम र कोशीका केही ठाउँमा बुधबार बिहानसम्म पनि पानी परिरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । यसबाहेक मधेशका एक–दुई स्थानमा समेत हाल मध्यम वर्षा भइरहेको छ।
महाशाखाका अनुसार दुवै प्रदेशमा आज दिउँसो पनि ठूलो पानी पर्ने सम्भावना छ ।
आज दिउँसो लुम्बिनी, कर्णाली र सुदूरपश्चिमलगायत कोशीका पहाडी क्षेत्रका केही स्थान तथा बाँकी भूभागका थोरै स्थानमा मध्यम वर्षाको सम्भावना छ ।
कोशी र सुदूरपश्चिमका एक–दुई स्थानमा ठूलो पानी पर्ने सम्भावना रहेको महाशाखाले जनाएको छ ।
आज राति कोशी र मधेशका केही स्थान, बागमती, गण्डकी र सुदूरपश्चिमका थोरै स्थान तथा बाँकी प्रदेशका एक–दुई स्थानमा मध्यम वर्षाको सम्भावना रहेको छ । कोशीको एक–दुई स्थानमा भारी वर्षाको सम्भावना पनि रहेको महाशाखाले जनाएको छ ।
हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानको उत्तरतर्फ नेपालको तराईंमा अवस्थित छ।







प्रतिक्रिया दिनुहोस्