कविराज विसी
संघीय लोकतान्त्रिक गणतन्त्र विश्वमै उन्नत मानिएको शासन व्यवस्था हो । तर यो शासन सञ्चालन गर्ने शासकहरुको अक्षमताका कारण शासन सत्ताले छोटो समयमा नै चुनौती खेप्नुपरेको छ । नेपाली जनताको लामो त्याग र बलिदानका कारण २०७२ सालमा संघीय लोकतान्त्रिक गणतन्त्रसहितको संविधान जारी भयो र सोही अनुसार अहिले मुलुक अघि बढिरहेको छ । संघीय लोकतान्त्रिक गणतन्त्रको विकल्प उन्नत र सुशासनयुक्त गणतन्त्र नै हो । त्यसैले यसका वर्तमान सञ्चालकहरु जोखिममा भए पनि गणतन्त्र जोखिममा छैन ।
यद्यपि गणतन्त्रको संस्थागत विकास गर्दै यसलाई समुन्नत बनाउनु प्रमुख राजनीतिक दलको जिम्मेवारी र कर्तव्य हो । गणतन्त्रका सञ्चालकहरु नसुध्रिने र लामो समयसम्म नै कुशासन मच्चाउने हो भनेचाहिँ नागरिकले नै गणतन्त्रको विकल्प खोज्न बाध्य हुने कुरालाई भने अस्वीकार गर्न सकिँदैन । त्यसैले गणतन्त्र बचाउनु छ भने प्रमुख राजनीतिक दल, तिनका नेता र शासकहरु सच्चिनुको विकल्प छैन । राजसंस्था फर्किनुपर्ने वा नपर्ने भन्ने बहस एकातर्फ छ । तर, प्रमुख दलका नेताहरूको विफलता देखिएको भने वास्तविकता हो । यदि वर्तमान राजनीतिक दलहरूले अस्थिरता, भ्रष्टाचार र कुशासन नियन्त्रण गर्न सकेनन् भने विरोध र असन्तुष्टिको राजनीति मालामाल हुनेछ ।
अहिलेका प्रमुख शक्तिहरूप्रतिको वितृष्णाले राजनीतिमा विकल्पको खोजी निर्विकल्प बनिदिन सक्छ । त्यो विकल्प राजा नै हुन्छन् भन्ने छैन । र, त्यो लोकतान्त्रिक नै हुन्छ भन्ने पनि छैन । राजसंस्था फर्किएर देशका समस्या समाधान भइहाल्नछन् भन्ने कुरा त कुनै पनि विवेकी नागरिकले पत्याउने कुरा भएन । नेपाल अहिले गणतन्त्रविरुद्ध राजतन्त्रको प्रतिस्पर्धा पनि होइन । अनि २००७ सालदेखि प्रत्येक एक दशकमा जसो व्यवस्था फेरिरहेका नेपालीलाई अब व्यवस्था फेरेरै अवस्था फेरिन्छ भन्नेमा पनि विश्वास छैन । राजेन्द्र लिङदेन र धवलशमसेर राणाहरूले यदि साँच्चै विद्रोह गरेको हो भने संसदबाट राजनीमा दिएर यो व्यवस्थाको विरुद्धमा लाग्नु हुन्थ्यो होला । छ त्यो आँट उनीहरूमा छैन । संसदमै बसेर टाँस्सिएर खाइराखौं भन्ने उहाँहरूलाई छ । नेपालका राजनीतिक दल सजक हुनुपर्दछ ।
चार जना नेता किनारा लाग्दिने, पार्टीले किनारा लगाइदिने हो र संसद चलायमान र सक्रिय भएर राम्रो काम गर्ने हो भने राजावादी द्वन्द्वको बीउ निमिट्यान्न भएर जान्छ । तर ती चार नेता छोड्न तयार छैनन् । पार्टीहरूमा ती नेताहरूलाई फाल्न सामथ्र्य छैन । राणाहरूलाई फाल्न पनि तिनीहरूका दासले नेतृत्व बदल्ने सामथ्र्य देखाएनन् । पञ्चायतीहरूको त्यत्रो भीडले नेतृत्व सच्याउन नसक्दा व्यवस्था नै गयो । नेता सच्चिएनन् र पञ्चायत आफैं गयो । राजतन्त्र पनि त्यसै गएको होइन । दुःखद कुरा के छ भने हिजो इतिहासकै कलंक भनेर फालिएको राजतन्त्रलाई आदर्श बनाउने प्रयत्न भइरहेको छ । पूर्व राजावादीहरूले पनि विकल्प खोजेनन् । हामी चुनाव लडेर आएर तह लगाउँछौं भनेर गएनन् ।
राजावादीको सक्रियताले सरकारसहित गणतन्त्र पक्षधरहरू सतर्क देखिएका छन् । अरु विषयमा यी दुई नेता वाक्युद्धमा भए पनि पूर्वराजाको विषयमा एकमत देखिएका छन् । देशमा शासन प्रणाली परिवर्तन भए पनि प्रमुख दलहरूबीचको कलह, सत्ता संघर्ष र भ्रष्टाचार उस्तै छ भन्ने भाष्य छ । यो सरकार, यी दल, यी नेता अनि यो व्यवस्था नै खराब हो भनेर नारा लगाउन मसलाको कुनै कमी छैन । पछिल्ला ठूला घोटाला—प्रकरणहरू नै काफी छन् । बेरोजगारी र महँगी संघीयताको औचित्यमा प्रश्न गर्न स्थानीय तहमा मौलाएको अनियमितता र प्रदेश सरकारहरूको प्रभावहीनताका विषय छँदै छन् । यस्तै परिस्थितिमा ‘राजा फर्के भने अनुशासन बस्छ’ भनेर प्रवचन गर्ने फुर्सदिला कमल थापा, नवराज सुवेदी जस्ता मानिसहरुलाई छँदै छन् । राजा हुँदा कम्तीमा स्थायित्व थियो भन्ने भाष्य बेच्नेहरू पञ्चायतका ३० वर्षमा कुनै पनि सरकार ५ वर्ष टिकेको थिएन भन्ने तथ्य भुल्न मिल्छ र ? अहिले जनतामा रहेको असन्तोषलाई आक्रोशको आगोमा परिणत गर्ने दाउमा हर तरहले लागेका छन् । २०६५ सालमा गणतन्त्र आएपछि २३८ वर्ष लामो राजतन्त्र अब मृत भइसकेको निष्कर्ष दलहरूको थियो । तर नेपाली कांग्रेस र नेकपा एमाले मिलेर बनेको दुईतिहाइको शक्तिशाली सरकार भएकै बेला छिमेकी देशले समेत थाहा पाउने गरी राजतन्त्रको नारा सडकमा लागेको छ ।
सडकमा राजतन्त्रको पक्षमा चर्का नारा लगाए पनि सदनमा उनीहरूको आवाजले गणतन्त्रलाई हल्लाउन सक्ने अवस्था छैन । अहिले दुई ठूला दल कांग्रेस, एमाले मिलेर सत्तामा छन् । उनीहरूलाई अरू पाँच साना दलको पनि साथ छ । शक्तिशाली सरकारले परिणाम दिन सकेको छैन । जनताले चाहेअनुसारको नतिजा पनि देखिएको छैन । जनतालाई डेलिभरी दिन चुकेको छ । हुन पनि शक्तिशाली सरकारले कुशासन, अनियमिता र भ्रष्टाचार जस्ता नेपालका गम्भीर शासकीय समस्या चिर्न सकेको छैन । त्यहीँबाट जन्मिएको सर्वसाधारणको असन्तुष्तिलाई पूर्वपञ्चाहरूले सडकसम्म लैजान सफल भएका छन् । राजसंस्था फर्काउने असान्दर्भिक र प्रदूषित एजेन्डालाई जनताको साथ हुने छैन । २१ औं शताब्दीमा जनताको छोरा नभएर वंशको आधारमा कोही राष्ट्रप्रमुख हुने व्यवस्था फर्काउन कोही सचेत नेपाली तयार हुदैनन र हुनुहुदैन ।
निरंकुश राजतन्त्रको समयमा स्रोत साधनमा हालिमुहाली गरेका पूर्वपञ्च र मण्डले प्रवृत्तिका पार्टीले आफ्नो स्वार्थ सिद्धिका लागि गरेको राजनीतिक स्टनलाइ ‘जनआन्दोलन’ भनेका छन् । अहिले राजसंस्थाको वकालत गर्ने पञ्चहरू निमुखा जनता नभएर सम्भ्रान्त वर्गका प्रतिनिधि रहेका छन् । राणा र पञ्चायतका अवशेषहरूले ‘जनआन्दोलन’ भन्ने शब्दको चरम दुरुपयोग गरे । यो आमजनताप्रतिको अपमान हो । राजा फर्काउनुपर्छ भन्नेहरू नागरिक होइनन्, रैती हुन् । सामन्ती र शोषक वर्गका प्रतिनिधिले जनआन्दोलन शब्दको प्रयोग गर्नु शान्र्दभिकता हुदैन । निरंकुशताको प्रतीकलाई फिर्ता गर्न गरिने जस्तोसुकै गतिविधि या अभियान ‘जनआन्दोलन’ हुन सक्दैन र होइन । २०६२/०६३ सालको जनआन्दोलन र अहिले राजावादी मण्डलेहरूले भन्ने गरेको जनआन्दोलन तुलनायोग्य विषय होइनन् । चप्पल लगाउने सर्वहारा वर्गले गरेको आन्दोलन जनआन्दोलन हो । अहिलेको आन्दोलन विस्थापित भइसकेको वंशवाद भित्त्राउने षड्यन्त्र मात्र हो ।
राजावादीले भन्ने गरेको जनआन्दोलन कस्तो हुन्छ भन्ने चैत्र १५ गते तीनकुनेमा देखिसकिएको हो । एक प्रकारले भन्ने हो भने राजावादीको आन्दोलन त्यही दिन तीनकुने मैदानमा विसर्जन भइसकेको हो । राजतन्त्रको नर्सरीमा उम्रिएका, हुर्किएका र हालिमुहाली मच्चाएका कमल थापाले राजतन्त्रको एजेन्डा छाडेको घोषणा गर्नु आफैँमा ठूलो सन्देश थियो । तर, नक्कली गणतन्त्रवादी बन्ने प्रयास सफल हुन नसकेपछि उनी पुरानै एजेन्डा समात्न विवश भए ।
जनआन्दोलन दबाउने मुख्य नाइके थापालाई गणतन्त्रकालमा कांग्रेस–एमाले–माओवादीले पटक–पटक पुरस्कृत गरे । तीन वर्षअघि राजसंस्था फर्किने सम्भावना हुँदै नभएको बताउने थापा अहिले फेरि फर्किने सम्भावना किन देख्छन् । २०५८ सालमा वंशनास गर्ने गरी भएको राजदरबार हत्याकाण्डपछि राजसंस्थाप्रति मानिसको मोह भंग भयो । दरबार हत्याकाण्डको निष्पक्ष छानबिन नहुँदा राजसंस्थाप्रति आममानिसको आस्था घटेर गयो । ज्ञानेन्द्र शाह राजगद्दीमा बसेपछि उनका महत्त्वाकांक्षाले राजसंस्था इतिहास बन्यो । आफ्नै कुकर्मले बिदा भएको राजसंस्था फर्काउने भन्दै बेलाबखत नयाँ अवतारका राजावादी सडकमा आइरहेका छन् ।
दुर्गा प्रसाईंपछि अहिले जगमान गुरुङ र नवराज सुवेदीले राजसंस्था फर्काउने कामको ‘टेन्डर’ पाएका छन् । कुनै बेला प्रज्ञा प्रतिष्ठानको उप–कुलपति बनेका प्राज्ञ गुरुङ कोरोनाकालमा कोभिड भाइरस भगाउने मन्त्रको आविष्कारदेखि अहिले तन्त्रमन्त्र गरेर राजा फर्काउने भन्दै हिँडिरहेका छन् । एउटा हातमा लठ्ठी र अर्कोतर्फ कसैले पाखुरा समाइदिएर हिँडाउनुपर्ने वयोवृद्ध नवराज सुवेदी राजसंस्था फर्काउने आन्दोलनका कमान्डर छन् । राजसंस्था फर्किँदैन भन्ने जान्दाजान्दै पनि आन्दोलनमा होमिन राजावादी पार्टी र संस्थालाई बाध्यता छ । सहकारीपीडितको जत्रो जुलुसले व्यवस्था ढल्दैन भन्ने जान्दाजान्दै उनीहरू जेठको प्रचण्ड गर्मीमा पसिना चुहाउन बाध्य छन् राजावादी भन्नेहरु ।








प्रतिक्रिया दिनुहोस्