काठमाडौं २४ चैत । ‘एनसेन–बाह्रखरी गल्फ तथा आर्थिक संगोष्ठी’ मा सम्बोधन गर्ने क्रममा प्रधानमन्त्री ओलीले भने ‘देशमा काम गर्न नदिने र छेक्ने मनोदशा भएमा विकासको गति रोकिन्छ । तीव्ररुपमा काम हुनका लागि सबैमा देशभक्ति हुनुपर्छ । हामीले राम्रा कानुन बनाइ ती कानुनको सही रुपमा कार्यान्वयन हुनुपर्छ,’ प्रधानमन्त्रीको जोड थियो । उनले विश्व राजनीतिक इतिहासमा नेपालको स्वाभीमान र गौरवपूर्ण इतिहास भएको बताए।
‘हामी गौरवपूर्ण इतिहासबाट आएका छौँ, स्वाभीमानपूर्ण इतिहासबाट आएका छौँ र त्यो इतिहास विश्वको सभ्यताको विकास,शिक्षाको विकास, ज्ञान र शिक्षाको विकासदेखि लिएर हरेक कुरामा हाम्रा पूर्वजहरु अरुभन्दा अगाडि थिए’ उनले भने, ‘यो यथार्थ पृष्ठभूमिमा हामी केही समय पछाडि पर्यौँ, एउटा औपनिवेश युगका कारणले र अर्को सामन्ती प्रथाका कारण। हाम्रोमा कस्तो कस्तो उल्टो बुद्धिका शासकहरु आए। महिलाले पढ्न हुँदैन भन्ने खालका, जुन महिलाले वेदको रचना गरे त्यही महिलाले वेद पढ्न हुँदैन भन्ने आयो।’
थाइल्यान्ड भ्रमणमा भारतीय प्रधानमन्त्री मोदीसँग आफ्नो भेट भएको र भेट सुमधुर भएको बताए ।
प्रधानमन्त्री ओलीले भने, ‘भारतका प्रधानमन्त्री मोदीजीसँग भेट भयो, श्रीलङ्काका प्रधानमन्त्री, भुटान र म्यानमारका प्रधानमन्त्रीसँग पनि भेट भयो। खास गरी भारतीय प्रधानमन्त्रीसँगको भेट कस्तो भयो र के भयो भन्ने चासो छ। भेट अत्यन्तै राम्रो भयो। सुमधुर वातावरणमा मित्रता र हार्दिकताका साथ भेट भयो। यस पल्ट सगरमाथा संवादमा मोदीजी आउन भ्याउनुहुन्न। यस कारण कि उहाँको पहिला नै युरोप जाने कार्यक्रम तय भइसकेको रहेछ। त्यसलाई बदल्न सक्ने अवस्था नभएकाले उहाँ यहाँ आउन सक्नुहुन्न, तर भारतको राम्रै स्तरबाट प्रतिनिधित्व हुन्छ।’
उनले भने, ‘धेरै लामो होइन, दुई प्रधानमन्त्रीका बीचमा गत सेप्टेम्बरमा हाम्रो कुरा भएको थियो। सेप्टेम्बरमा तपाईँहरूले भनेको जस्तो कुनै नराम्रो भएको होइन। नराम्रो केलाई भन्नु भनेको फ्रेण्डली कुराकानी गरेका थियौँ। यसपल्ट त्यसभन्दा बढी राम्रो कुराकानी भयो। पारस्परिक सहयोगका विभिन्न क्षेत्रहरूको सम्बन्धमा, हाम्रा लगानीका क्षेत्रहरू, व्यापारका क्षेत्रहरूको सन्दर्भमा र पञ्चेश्वर लगायतका विषयहरू, दोधारा चाँदनीमा महाकालीबाट सिँचाइ गर्ने कुराहरू लगायतका कुराहरूमा छलफल भयो। दुई पक्षीय पारस्परिक हितका बारेमा कुराकानी भएको छ। व्यापारका क्षेत्रमा कुराकानी भएको छ।
‘हामीले एउटा अठोट गरेका छौँ, नेपाल—भारत सम्बन्धलाई अझ व्यापक, विस्तृत, सुदृढ गर्दै लैजाने र कुनै सानातिना छिमेकमा समस्या देखिन सक्छन् भने, त्यस्तो तत्काल कुराकानी गर्ने र टुङ्ग्याउने भन्ने कुरा हामीले गहिरो समझदारी गरेका छौँ। यो भेटघाट फलदायी भयो र खुसी छु’ उनले भने, ‘उहाँको कुराकानीबाट उहाँ पनि खुसी हुनुहुन्छ भन्ने मैले पाएको छु। भारत भ्रमण असम्भव कुरा थियो ररु कतिपय कारणले नभ्याएको स्थितिले मात्रै हो। अवरुद्ध भएको भनेर बाहिर देखिन्छ, त्यस्तो होइन। काँडे तार लगाएको छ र कसैलेरु त्यस्तो होइन। ठिकै ढंगले बुझ्दा हुन्छ। हामीले भ्याउँछौँ भने सगरमाथा संवादभन्दा पहिले भारत भ्रमण हुन पनि सक्छ।’
प्रधानमन्त्री ओलीले यसो भने पनि उनको त्यो अवधिमा भारत भ्रमण हुने शून्य बराबरमात्र सम्भावना छ भन्ने कुरा सवैभन्दा राम्रोसँग प्रम ओलीलाई नै थाहा छ।
दुई प्रधानमन्त्रीको वान अन वान कुराकानीको अन्ततिर जसरी भारती प्रम मोदीले विदेश मन्त्रालयका अधिकारीलाई नोट गर्न बोलाए, त्यसरी हाम्रा प्रम ओलीले किन बोलाउने आवश्यकता ठानेन् ? वा नेपालले मोदीका लागि गर्नु पर्ने कुनै कुरा थिएन, तर मोदीले ओलीका लागि गरिदिनु पर्ने खास कुरा केही थियो भन्ने हो र ? यदि यस्तो हो भने पनि प्रम ओलीमा त्यस्तो उत्साह प्रकट हुन सकेका छैन । उनले बरु यति भनेका छन्ः हामीले पहिले पनि ठिकै कुरा गरेका थियौं , अहिले अलि बढी कुरा गरेका छौं । ‘नराम्रो केलाई भन्ने ? हामीले कुराकानी गर्यौँ, निकै फ्रेन्डली नै भएको थियो ।’ यसको अर्थ के हो ? धेरै मोदीको गुनासो सुनें भनेको हो कि आफूले किन रिसाएको भनेर सोधेको भन्ने बारेमा मोदी र ओली तथा भारतीय संयन्त्रलाई बाहेक कसैलाई थाहा छैन ।
भेट लगत्तै सोसल साइटमा दुवै प्रधानमन्त्रीले दिएको जानकारीको संकेत निकै फरक छ । हाम्रा प्रधानमन्त्री मेरा परम मित्र मोदी भन्दै सम्वोधन गर्छन् भने भारतीय समकक्षीले नेपालका प्रधानमन्त्री भनेर सम्वाधन गर्दछन् । अर्को शव्दमा कतै ओभल अफिसमा जेलेन्स्की–ट्रम्प विस्फोटका भित्री कथाको वाचन त भएको छैन भन्न पनि नमिल्ने होइन ।
थाइल्याण्ड भ्रमणका क्रममा प्रधानमन्त्री ओलीले थाइल्याण्डका प्रधानमन्त्री पेथोङथान शिनावात्रा, भूटानका प्रधानमन्त्री छिरिङ तोब्गे, म्यान्मारका प्रधानमन्त्री मिन आङ हलिङ, श्रीलंकाका प्रधानमन्त्री डा हरिनी अमरासुरियासँग समेत भेटवार्ता गरेका थिए।








प्रतिक्रिया दिनुहोस्