ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

अमेरिकाकै नाकमुनि निर्वाचित वामपन्थी राष्ट्रपति सेइनबामको जीवन कहानी


ABC News

क्लाउडिया सन् २०१८ मा मेक्सिको सिटीको पहिलो महिला मेयर बनेर देशव्यापी चर्चामा आइन् : सोही पद उनको राष्ट्रपति उम्मेदवारीको बलियो आधार बन्यो

क्यालउडिया सेइनबामको ऐतिहासिक जितसँगै मेक्सिकोले पहिलो महिला राष्ट्रपति पाएको छ । यो जितपछि सेइनबामका सुरुवाती चुनौतीमध्ये आफ्नो राजनीतिक गुरु तथा वर्तमान राष्ट्रपति एन्ड्रेस म्यानुयएल लोपेज ओब्राडोर(अम्लो)बाट अलग पार्नु रहेको छ । वामपन्थी झुकाव भएको दल ‘मोरेना पार्टी’की उम्मेदवारका रूपमा प्रतिस्पर्धा गरेकी सेइनबामले चुनावी प्रचारका क्रममा लोपेजकै उपलब्धि औँल्याउँदै तिनलाई निरन्तरता दिने बताएकी थिइन् ।

तर, विज्ञहरू सेइनबामको व्यक्तिगत पृष्ठभूमि तथा विगतका राजनीतिक ओहदामा रहँदा गरेका कामले उनको शासनकाल ओब्राडोरको भन्दा फरक हुन सक्ने बताउँछन् । ‘सेइनबामको राजनीतिक स्वभाव रणनीतिक देखिन्छ । त्यसैले उनको कार्यकाल लोपेज ओब्रेडोरको जस्तो उथलपुथलकारी हुनेछैन,’ राजनीतिक विश्लेषक ग्वाडालुप कोरेया–काब्रेराले भनिन् ।

प्राज्ञिक क्षेत्र र राजनीतिको मिश्रण
मेक्सिकोको राजधानी सहर मेक्सिको सिटीकी पूर्वमेयर सेइनबामका आमाबुबा दुवै विश्वविद्यालयका प्राध्यापक थिए । उनले पनि सुरुमा आफ्ना अभिभावकलाई पछ्याउँदै प्राज्ञिक क्षेत्रलाई करिअर बनाइन् । विश्वविद्यालयमा सुरुमा भौतिक विज्ञान र पछि ऊर्जा इन्जिनियरिङ अध्ययन गरेकी सेइनबामले अमेरिकाको चर्चित युनिभर्सिटी अफ क्यालिफोर्नियाबाट विद्यावारिधि गरिन् । सेइनबाम विश्वविद्यालयमा पनि विद्यार्थी राजनीतिमा सक्रिय थिइन् । उनको हालको राजनीतिक करिअरमा भने लोपेज ओब्राडोरको संगतले सुरु भयो ।

चुनावी अभियानका क्रममा जारी एक भिडियोमा आफ्नो राजनीतिक जीवनको वर्णन गर्दै सेइनबामले भनेकी छन् कि उनी र लोपेज ओब्राडोर प्रायः एउटै विरोध कार्यक्रम र अभियानमा सरिक हुने गरेको भए पनि दुईबीचको औपचारिक परिचय सन् २००० मा ओब्रोडर मेक्सिको सिटीको मेयर निर्वाचित भएपछि उनको घरमा भएको थियो । सो भेटको केही दिनपछि लोपेज ओब्राडोरले फोन गरेर उनलाई वातावरण विभागको सचिव बन्ने प्रस्ताव गरेका थिए । प्रस्तावलाई उनले सहज स्वीकार गरिन् । त्यसपछिका दशकमा उनी ओब्राडोरकी राजनीतिक सहयोगी रहँदै आफ्नो शैक्षिक र राजनीतिक करिअरलाई सँगसँगै अघि बढाइन् । सन् २०१८ मा उनी मेक्सिको सिटीको पहिलो महिला मेयर बनेर देशव्यापी चर्चामा आइन् र सोही पद उनको राष्ट्रपति उम्मेदवारीको बलियो आधार बन्यो । गत वर्ष पार्टीको राष्ट्रपतिको उम्मेदवारी बनेपछि उनले मेयर पदबाट राजीनामा दिएकी थिइन् ।

लोकप्रिय राष्ट्रपतिको छायामा
गत वर्ष सेप्टेम्बरमा मोरेना पार्टीले उनलाई आफ्नो उम्मेदवार बनाएसँगै सेइनबाम निरन्तर राष्ट्रपति दौडको अग्रपंक्तिमा रहिन् । तर, उनको प्रचार अभियानलाई निवर्तमान राष्ट्रपतिको लोकप्रियताले ओझेलमा पा¥यो । अनलाइन मत–सर्वेक्षणकर्ता संस्था ‘मर्निङ कन्सल्टेन्सी’का अनुसार शासन अवधिभर ओब्राडोर विश्वका सबैभन्दा लोकप्रिय सत्तारुढ राज्य प्रमुखमा कायम रहे । तर, मेक्सिकोको संविधानले देशका राष्ट्रपतिहरूले ६ वर्षको एउटा कार्यकाल मात्र शासन गर्न पाउने सीमा तोकिदिएको छ, जसको कारणले ओब्राडोर यसपटकको चुनावी दौडमा भाग लिन सक्दैनथे ।

राष्ट्रपति सेइनबामलाई ‘कठपुतली’ बनाएर शासन हुन सक्ने विपक्षीले आरोप लगाएका छन् । यही महिनाको सुरुमा बिबिसीलाई दिएको एक अन्तर्वार्तामा सेइनबामले ‘आफ्नो राष्ट्रपति कार्यकाल लोपेज ओब्राडोरको दोस्रो कार्यकाल हुने भनेर विपक्षीले गर्ने गरेको आलोचना’को मतलब नगरेको जवाफ दिएकी थिइन् । लोपेज ओब्राडोरले पनि केही महिनाअघि यस आरोपको प्रतिक्रिया दिँदै ‘शक्तिशालीहरू कठपुतली नहुने’ जवाफ दिएका थिए । तथापि सेइनबामले लोपेज ओब्राडोरका कैयौँ कार्यशैली पछ्याएकी छिन् । गत मार्चमा उनले ‘राष्ट्रपति बनेमा पूरा गर्ने १०० प्रतिबद्धताहरू’को सूची जारी गरिन्, जसरी ओब्राडोरले जारी गरेका थिए ।

सेइनबामको सूचीमा ओब्राडोरका कैयौँ लोकप्रिय कार्यक्रम पनि समावेश छन् । त्यसमा गरिबी हटाउने कार्यक्रमदेखि विवादास्पद रेलमार्ग ‘माया ट्रेन’ पनि समावेश छन् । माया ट्रेन परियोजनाअन्तर्गत युकाटन प्रायद्वीप हुँदै २८ अर्ब डलरको रेलमार्ग बनाइने प्रतिबद्धता गरिएको छ । तथापि स्थानीय अभियन्ताले यसले हजारौँ वर्ष पुरानो माया सभ्यतासँग जोडिएका कलाकृति र पुरातात्विक स्थल नष्ट गर्ने चिन्ता व्यक्त गरेका छन् । लोपेज ओब्राडोरले यस परियोजनाबाट विपन्न क्षेत्रमा पर्यटक पुग्ने र तिनको आय बढ्ने भन्दै प्रतिरक्षा गर्दै आएका छन् । तर, आलोचकले भने यस परियोजनाले स्थानीयवासीको वास्तविक आय बढाउनेमा समेत आशंका व्यक्त गरेका छन् ।

जलवायु परिवर्तनको मुद्दा
विगतको वैज्ञानिक करिअरलाई ध्यानमा राख्दै सेइनबामले जलवायु परिवर्तनविरुद्ध बलियो अडान लिने धेरैको विश्वास छ । उनका १०० प्रतिबद्धतामा वायु, सौर्य, भूतापीय र हाइड्रोजनमा आधारित स्रोतको निर्माण गरेर ‘नवीकरणीय ऊर्जा प्रवद्र्धन’ गर्ने प्रतिबद्धता समावेश छन् । सेइनबाम जलवायु परिवर्तनसम्बन्धी सन् २००७ को रिपोर्ट लेखनमा पनि सहभागी थिइन्, जसले त्यस वर्ष नोबेल शान्ति पुरस्कार जित्न पुग्यो । तर, आलोचकहरू उनले राजनीतिक लाभका लागि वातावरणीय संरक्षणको सबाल उठाएको आरोप लगाउँछन् । उनको पार्टीले जीवाश्म इन्धन उत्सर्जनमा कटौती गर्ने कुनै योजना प्रस्ताव गरेको छैन । बरु सरकारी स्वामित्व रहेको पेट्रोलियम उद्योग पेमेक्समा थप लगानी गर्ने बताउँदै आएको छ ।

राजनीतिक विश्लेषक कोरेया–काब्रेरा सेइनबामको ‘जलवायु वैज्ञानिकको अध्ययन’ उनको परिचयको एउटा पाटो मात्र भएको बताउँछिन् । ‘उनको राजनीतिक करिअर फरक पाटो हो,’ उनले भनिन् । राष्ट्रपतिका रूपमा सेइनबामले अमेरिका तथा चीनको मार्ग पछ्याउने कोरेया–क्याब्रेराको विश्वास छ । मेक्सिको जलवायु पहलका निर्देशक एड्रियन फर्नान्डेज भन्छन्, ‘म विश्वस्त छु कि मेक्सिकोका भावी राष्ट्रपतिले जलवायु परिवर्तनलाई सम्बोधन गर्नेछिन्, किनभने यो अब एक आवश्यकता भइसकेको छ ।’

शीर्ष चिन्ता सुरक्षा
मेक्सिकोका मतदाताहरूका लागि सुरक्षा सधैँ प्रमुख मुद्दा रहन्छ । ह्युमन राइट्स वाचको मेक्सिको शाखाका अनुसन्धानकर्ता टायलर म्याटियासले सेइनबामले देशको सेना विस्तार गर्ने लोपेज ओब्राडोरको निर्णयलाई उल्ट्याउनेमा शंका व्यक्त गरे । सेनाको विस्तारले शक्तिको दुरुपयोग बढ्ने उनको चिन्ता छ । लोपेज ओब्राडोरले उनको शासनकालमा धेरै विमानस्थल र पूर्वाधार परियोजनाको सुरक्षा जिम्मेवारी सेनालाई हस्तान्तरण गरे । अदालतको चुनौतीका बाबजुद ओब्राडोरले नागरिक नेतृत्वमा रहेको ‘नेसनल गार्ड’को नियन्त्रणसमेत सेनालाई हस्तान्तरण गर्ने प्रयास गरेका छन् ।

म्याटियासजस्ता आलोचकहरू सैनिक अधिकारीले प्रायः आफ्नो शक्तिको दुरुपयोग गर्ने र देशका शक्तिशाली कार्टेल तथा अन्य आपराधिक संगठनसँग भ्रष्ट सम्बन्ध बनाउने आरोप लगाउँछन् । मेक्सिकोमा पछिल्ला पाँच वर्ष बर्सेनि ३० हजारभन्दा बढीको हत्या भएको छ । सन् २०२२ मा मेक्सिकोमा बेपत्ता मानिसको कुल संख्या एक लाख नाघेको थियो । बेपत्ता भएकामध्ये लगभग ९७ प्रतिशत मेक्सिकोको ‘लागुऔषधविरुद्धको युद्ध’ सुरु भएको वर्ष सन् २००६ देखि हराएको विश्वास गरिन्छ । लागुऔषधविरुद्धको युद्धका क्रममा सेनालाई सडकमा उतारिएको थियो । तिनले हिंसालाई सम्बोधन गर्नुको साटो झनै बढाइदिए ।

सेइनबामले चुनावी अभियानका क्रममा देशको उच्च अपराधदर सम्बोधन गर्ने योजनामा बेपत्ता भएकाहरूलाई सम्बोधन गर्ने वाचा गरेकी थिइन् । उनले ‘लागुऔषधविरुद्धको युद्ध’लाई ‘अर्थहीन, भयानक’ आदि संज्ञा दिँदै सामाजिक कल्याण कार्यक्रममार्फत अपराधको जरो नै सम्बोधन गर्ने वाचा गरेकी छिन् ।

मोरान इसाइस मेक्सिकोको कोहुइला राज्यमा बेपत्ता भएकाहरूको खोजी गर्ने स्वयंसेवकहरूको समूहको नेतृत्व गर्छिन् । सेइनबामले बेपत्ता नागरिकको खोजी प्रयासलाई नेतृत्व गरिरहेका आमाहरूको देशव्यापी प्रतिनिधिमण्डलसँग भेट्न अस्वीकार गरेकोमा इसाइस निराशा छिन् । ‘सेइनबामले हाम्रो अवस्थालाई पहिचान गरून् भन्ने चाहन्छौँ । तर, अहिलेसम्म उनले हामीलाई भेट्नसमेत मानेकी छैनन्,’ इसाइसले भनिन् । बेपत्ताको खोजी कार्यमा संलग्न सिन्थिया गुटिएरेज भने सेइनबामले खोज अभियानका लागि आशा दिन सक्ने विश्वास गर्छिन् । ‘उनी एक महिला हुन् । त्यसैले उनीमा हाम्रो अवस्थाप्रति सहानुभूति आउन सक्छ,’ गुटिएरेजले भनिन् ।

– अल जजिराका लागि लिलियन पर्लमुटरको आलेख

 

वाम झुकाव राख्ने वातावरण वैज्ञानिक मेक्सिकोकी प्रथम महिला राष्ट्रपतिका चुनौती

प्रतिक्रिया दिनुहोस्

भर्खरै

बालुवाटार बैठक– चुनावमै अर्जुनदृष्टि लगाइयोस् –दलहरू, आतुर छौं – प्रधानमन्त्री

अपाङ्गता भएका व्यक्तिका अधिकार रक्षा गर्न एमाले क्रियाशील छ – अध्यक्ष ओली

सम्बन्धित

बालुवाटार बैठक– चुनावमै अर्जुनदृष्टि लगाइयोस् –दलहरू, आतुर छौं – प्रधानमन्त्री

मधेशको मुख्यमन्त्रीमा दाबी पेश गर्ने आज अन्तिम दिन, दलहरु छलफलमा

समावेशी विकास र शासन रूपान्तरणलाई अघि बढाउने प्रधानमन्त्रीको प्रतिबद्धता

एनपीएलमा आज विराटनगर भर्सेस लुम्बिनी, कस्तो होला सन्दीप र रोहितको प्रतिस्पर्धा ?

अपाङ्गता भएका व्यक्तिका अधिकार रक्षा गर्न एमाले क्रियाशील छ – अध्यक्ष ओली

अपाङ्गता भएकाहरुको अन्तर्राष्ट्रिय दिवस आज विभिन्न कार्यक्रम गरी मनाईंदै

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com