शहर तातेको मृत्यु र अनुशासनको प्रश्न



शारदा शर्मा

हजुर आमाले भन्नुहुन्थ्यो, ‘सामान्य अनुशासनमा नरहने हो भने मान्छे मर्न बेर लाग्दैन परिवार रहनेत कुरैछोड माइली, जे पनि हुन सक्छ ।’ मलाई लाग्थ्यो यी बुढीका कथन कति सुन्नु । बाथले थलापरेकी हजुरआमाले यस्ता धेरै किस्साहरु सुनाउने गर्थिन सानो छँदा । पल्लाघरकी काइल्नानी राती गीत गाउन हिँड्थिन ।

तेरा हजुरबाले माथिबाट गोबरले टालेको घैंटालाई पुछारबाट फुटालेर चामल चोरेर लान्थे । मलाई अचम्म लाग्थ्यो उनका कुरा सुनेर । उनले यस्ता धेरै किस्साहरु सुनाउंदै जाँदा हामीले रमाइलो मानी मानी सुन्ने गर्थेऊँ । थाहा थिएन किन के गीत गाउन उनी रातीमा हिँड्छिन अनि हजुरबाले किन चामल चोरेर त्यसरी लिएर हिँडछ्न । तर घरबाट लिएर गएको चामल हजुरबाले कहाँ लगेर पकाएर खान्थेहोला त्यो भने अचम्म लाग्थ्यो । त्यो भन्दा शान्त स्वभावमा देखिएकी हजुरआमालाई हजुरबाका त्यस्ता कार्यहरुले सांच्चै रिस नउठेकै होला त ?

मनमा अनेक कुराहरु अलि बुझ्ने भए पछि आउन थाले । धेरै कुरा पछि मात्र बुझियो । एकपटक नाउडाँडाको बाटो सेतिदोबान हुंदै बा आमा काका काकीसँग चितवन जाँदै गर्दा बाटोमा साँझ पर्दै थियो । बाटो माथितिर खैंजडी मुजुरा नै बजाएर लोग्ने मान्छे आइमाई मान्छेहरु गीत गाउँदै थिए । बा आमा अलि अगाडि पुग्नु भएको थियो । काका काकीले कानैमा आएर हाँस्दै भने हेर त छोरी झाम्रे गाएका । संस्कृतविद् सत्यमोहन जोशीसँग तीन घन्टा लामो कुरा गर्दा पनि झाम्रे गीत कस्तो गीत थियो भन्ने सोध्न बिर्सेछु । आजसम्म पनि बुझ्न सकेकी छैन । खै के गीत गाएर नाचेका थिए । ठाउँ र रमझम सम्झे पनि गीत र त्यसको लय मलाई सम्झना छैन । यसरी हामी हुर्के बढेको समाज हो यो ।

समाज समाज बन्नको लागि परिवार परिवारको जरुरत पर्छ । हरेक संघ संस्था र संगठनका आ–आफ्नै नियम र अनुशासन हुन्छन् । ती अनुशासनलाई अनुशरण गरिएन भने त्यस्ता हरेक संस्था स्वस्थ रुपमा अगाडि बढ्न सक्दैनन र कति विघटन पनि हुन्छन् । परिवार पनि त्यस्तै महत्वपुर्ण संस्था हो । यो संस्थाका पनि आफ्ना केही नियम र अनुशासन पक्कै निर्धारण भएका छन् । यिनै नियमहरुलाई मान्ने नमान्ने भन्ने विषयमा बहस जस्तो लाग्छ आजकल । किनकी मान्छेहरु स्वतन्त्रताको नाममा पारिवारीक बिसर्जनको बाटोमा लागेका धेरै तीता र नमिठा उदाहरण बोकेको छ समाजले । स्वतन्त्रताको नाममा आजकल बैबाहिक संस्था फेक हो । मानिसको स्वतन्त्रताको कुरा हो उस्ले जे गर्न पनि सक्छ भन्ने बहस चल्दै जाँदा र त्यसको प्रयोग हुंदै गर्दा हिँजो भन्दा समाज आज निकै फरक बनेको पक्कै हो ।

यहाँनेर आउँदा र केही घटनाहरुलाई नियालिरहँदा हिँजो भन्दा स्वस्थ र सुन्दर हुनुपर्ने समाज झनै बिश्रिङ्खलित बनेको आभाष भएको छ । समाज भनेको हामी जस्तै परिवार परिवार मिलेर बसेको यौटा युनिटी हो । आज यो युनिटी आफैमा अस्वस्थ बनेको छ । किनकी जब परिवार नै स्वस्थ छैन र परिवार नै बन्न सकेको छैन भने समाज कसरी बन्छ ? मेरो मनमा यस्ता प्रस्नहरु आज पनि चलिरहन्छन । हिंजो हजुरआमाको पालामा स्वतन्त्रताको लागि रातीमा गीतगाउंन हिंड्ने काईंली र हजुरबा जस्ता पात्रहरु आज समाजमा प्रशस्त छन् ।

यसरी बुझ्दै जाँदा स्वतन्त्रताको उपभोग गर्ने र समाज बनाउने कुरा अलग्गै जस्तो पनि लाग्छ । किनकी अस्ति मात्र स्वतन्त्रताको लागि लिभिङटुगेदरमा बसेको एकजना प्रहरी जवानले आफुबस्ने कोठामा नै आत्महत्या गरेछ । बिहे भनेको बन्धन हो यो नगरीकन पनि बस्न सकिन्छ खुसी हुन सकिन्छ । स्वतन्त्रताको लागि जे गर्न पनि सकिन्छ भन्ने कतिपय मान्छेहरुको सोच प्रति मेरो असहमति रहे पनि त्यो व्यापक रुपमा चलिरहेको छ समाजमा । रपनि मानिसहरु किन खुसी रहन सकेका छैनन ? मैले देखेकी छु घरमा श्रीमान हुँदा हुँदै राम्रो र चल्ने परिवार हुँदा हुँदै परपुरुषगमन गर्न रुचाउने महिलाहरु पनि धेरै छन् । घरमा राम्री श्रीमती र चलिरहेको परिवार हुँदा हुँदै परस्त्रीगमन गर्न रुचाउने पुरुषहरु पनि अधिक छन् । यही कारणले समाज अस्वस्थ बन्दै गइरहेको छ ।

यो दुवै पाटो गलत हो । महिला र पुरुष भन्दा पनि पहिले मानिस र उसले पालना गर्नु पर्ने अनुशासन केत भन्ने कुराको बहस हुन जरुरी छ । हो मन मिल्दैन भने संगै बस्नु पर्छ भन्ने पनि छैन । मनै मिलेर बनाइएका संस्थाहरु पनित लामो समय टिक्न सकेका छैनन् किन त ? किनभने मानिसभित्र सेल्फ अनुशासनको कमी भएको कारण । मान्छे अरु प्राणी भन्दा उच्च र चेतनशिल प्राणी हो । जसको कारण नै समाजमा अनेक विकासहरु भएका छन । मानिसको दिमागले गर्दा नै आज दुनिया निकै साँघुरो भएको छ । हामी एक अर्कासँग दुनियाको जुनसुकै कुनामा भए पनि संवाद गर्न सक्छौं । यसको अर्थ यो हैन की हामीले जे पनि गर्न सक्छौ ।

स्वतन्त्रताको नाममा आज लिभिङ टुगेदरमा बसेका धेरै मानिसहरुमा पनि त समस्या छ । हस्पिटल जाउँ लिभिङ टुगेदरमा रहेका जोडीहरु काउन्सिलिङमा आइरहेका हुन्छन् । वैवाहिक संस्थाहरु स्वस्थ भएनन भनेर गरिएका यस्ता प्राक्टिसहरु झन असफल हुँदै गएका छन् । हामीले कुन्डलीका कुरा गर्छौ । कुलका कुरा गर्छौ परिवारका कुरा गर्छौ फेरि जे पनि गर्न पाइन्छ भन्ने कुरा गर्छौ ।

जे पनि गर्न पाईंदैन मानिस आनुशासनमा रहेर परिवार र समाजका केही नियम अवस्य पालना गर्नुपर्छ भनेर अगाडि बढ्ने धेरै सफल परिवार छन् । सफल र सुन्दर समाजहरु पनि छन् । जहाँ स्वतन्त्रताको गलत व्याख्या हुन थाल्छ अनि जे पनि गर्न सकिन्छ भन्ने कुराले अनुशासनलाई मेटाइदिन्छ त्यहाँ विकृती बढेको छ । आज समाजमा अनेक अपराधहरु भएका छन् । कारण यहाँ सेल्फ अनुशासन नै छैन । हो प्रविधिले विश्व साँघुरिएको छ । मानिसले अनेक विकास गरेका छन् तर गलत तरिकाले प्रविधिलाई बुझ्दा अनेक अपराध पनि भएको छ ।

अहिले हालसालै यौटा आत्महत्याले व्यापक चर्चा पाएको छ । मृत्यु आँफै हो या मारियो भन्ने बिषयमा चर्को बहस जारी नै छ । आत्महत्या गर्नेले बाँचिरहेका अन्य तीनजनालाई प्रत्यक्ष रुपमा आरोप लागाएर कायर मुत्यु मरेको छ । यहाँ मर्न बाध्य पारियो, मारियो, या आफै मर्यो भन्ने कुरा यौटा वैधानिक संस्थाले छिनो फानो गर्ला । ती कुराहरु कति जायज हुन कति नाजायज त्यही संस्थाले आम मानिसहरुलाई जानकारी देला र दिनु पर्छ । तर त्यहाँ भित्रका केही कुराहरुलाई आम मानिसहरुले बुझ्न पर्छ । जे पनि गर्न पाउने स्वतन्त्रताको प्रहसनमा समाजका, परिवारका नियम भन्दा बाहिर रहेर यस मृत्युले पनि अनुशासनको खिल्ली उडाएको छ ।

यौटा स्वस्थ संस्थालाई धराशायी बनाउँदै स्वतन्त्रताको उपभोग गर्न बजार बजार डुल्दा डोरीमा लपेटिएर आफुलाई मात्र समाप्त पारेको छैन यौटी महिलाको समेत कत्लेआम गरेको छ । घरमा श्रीमती हुँदाहुँदै बाहिर प्रेमिका राखेर उसैको सेवामा खटिएको कुरा लाज नमानी बक्न सक्ने त्यस मृत्युले पुनः त्यसै संस्थाकी सदस्यलाई सम्बोधन गरेको छ । मानिस आत्मानुशासनमा नरहँदा के के हुन सक्छ भन्ने यो यौटा उदाहरण मात्रै हो यो ।

मान्छे एक्लै मान्छे हैन । उसको परिवार हुन्छ समाज हुन्छ । जव दुई जनाको मिलन हुन्छ दुई परिवार दुई समाजको पनि त मिलन हुन्छ । दायरा बढ्दै जान्छ । सम्बन्धका आयतनहरु फराकिला बन्दै जान्छन् । ति आयतनहरुलाई मर्यादित रुपमा लिन सक्ने सक्षम मान्छेले मात्रै स्वस्थ रुपमा परिवार र समाज चलाएको हुन्छ । तर जब आफै आत्मअनुशासनमा रहन सक्दैन मान्छे, अनि अनेक व्याख्या गर्छ । नियममा चल्न नसक्नेले आफै नियम बनाएर चल्दा उ डिप्रेस हुन्छ अन्तमा आत्महत्या गर्छ । यसको अर्थ यो हैनकी समाज तातेको मृत्युलाई मैले यति सजिलै लिएँ । त्यहाँ उसका बाध्यताहरु पक्कै होलान् । तर जसको नाम लिएको छ त्यसमा उसकी प्रेमिका पनि छन् ।

जसले स्वतन्त्रताको नाममा यौटी आफुजस्तै महिलालाई कम आँकेर खै केको प्रलोभनमा प्रेममा परिन । चाहे आज उनले जे नाटक गरुन यौटी शिक्षित पढेलेखेकी महिला राजधानीमा बसेर अनेक सुविधाको उपभोग गर्दै प्रविधिको प्रयोग गर्दा यौटा विवाहित पुरुषको पछि लाग्नु उसलाई नबुझीकन बिहेगरेको थियो भन्ने थाहा थिएन र लागेँ भन्न पटक्कै सुहाउँदैन ।
अनेक रोगीहरुको उपचार गर्न नर्स बनेकी समाजकी सुझबुझ पात्र जसलाई स्वतन्त्रताको उन्मादले जे गर्न पनि केही हुन्न भन्ने सिकायो । शहरले दिएको रहरमा उनि बहकिएकै हुन र उनिभित्र पनि स्वार्थ पक्कै छ ।जब स्वार्थ बदलियो सम्बन्ध पनि बदलियो अनि त्यही मिठो मानेर स्वाद लिएको सम्बन्धले छुटकाराको बाटो खोज्यो । छुटकारा खोज्दै जाँदा अनेक पात्रहरुसँग भेटभयो जो मुछिदै गए । फिस्लिँदै गए । पैसा लोभ र जवानीले उनलाई त्यो मर्ने मान्छेसँगको सामिप्यतामा ल्याएको पक्कै हो ।

काम कामको नेचर र अरु कुराहरुलाइ छोडौं । न यहाँ उनि सही छन न मर्ने मान्छे नै । अपराध गर्ने अपराधीहरु कोही मर्न बाध्य भए कोही आफ्नो इज्ज्यत जोगाउन नसकेर डिप्रेसनमा जाने पक्का छ । त्यसैले अनुशासनको पालना गर्नु पर्नेकी नपर्ने ? कुनै पनि महिला या पुरुष माथि हिंसा हुदाँसाथ किन बिरोध नगरेर त्यसको स्वाद लिइसकेपछि बाहिर ल्याइन्छ ? बहसको बिषय हो यो । बाँच्नेहरुले बुझ्नु पर्ने कुरा हो यो । हामी सबैले बुझ्नु पर्ने कुरा हो ।

यसको अर्थ न म यो मृत्युमा खुसी भएको हो न ती नर्सको अवस्थामा । तर अनुशासनमा नरहनेहरुले सजाय अवश्य भोग्नु पर्छ । किनकी यहाँ यौटी निर्दोष महिला भिक्टिम भएकी छन् । जस्ले आफ्नो श्रीमानलाई निकै माया र सम्मान गरिन । स्वतन्त्रतालाई बुझेर नै अनुशासनको अनुशरण गरिन । अर्को आइमाइसँग लागेको मान्छेलाई समेत आफ्नो मान्छे भनेर आँशु बगाइरहिन । ती निर्दोष महिला जसले आफ्ना सम्बन्धका आयतनहरुलाई कत्ति पनि खुम्चिन दिइनन् ।

ति महिलाप्रतिको समवेदना आज पनि आफै भित्रको पीडा बनेको छ । जो कराए पनि उनलाई जस्तो पीडा अरु कसैलाई छैन । जाँदा जाँदै आफ्नै मान्छेले दिएको चोटको कारण उनि विक्षिप्त छिन । सायद बकपत्र बाचन गर्दा आफ्नो भनेको मान्छेले अर्को आइमाईको नाम नलिएको भए उनि आफ्नो मनलाई सम्मान दिएर बाँच्ने कोशिस त गर्ने थिइन । तर दोषै नभएकी उनलाई यति धेरै पीडा दिइयो त्यसको कुनै हिसाब छैन । आज उनीजस्ता धेरै महिला र पुरुषहरु जस्ले साँच्चै अनुशासनमा रहेर पनि स्वतन्त्रताको उपभोग गर्न सकिन्छ अनि अनुशासित रुपमै खुसी रहन सकिन्छ भनेर अगाडि बढिरहेका छन्, उनीहरु निर्बाध रुपमा बाँच्न पाउनु पर्छ कुनै यातना बिना ।

चाहे महिला हुन या पुरुष हरेक मान्छेहरु आत्मानुशासनमा रहन जरुरी छ । समाजका नियमहरुलाई पालना गर्न जरुरी छ । र न समाज सभ्य बन्न सक्छ । जहाँ आत्म अनुशासन नै छैन, त्यहाँ मानिसहरु पनि जनावर नै हुन्छन् । त्यसैले त आज आफ्नै बाउले छोरी बलात्कार गरेको छ । आफ्नै आमाले बच्चालाई खाल्टोमा पुरेकी छन् । दिन दाहाडै छोरी चेलीहरु माथिको अपराध बढेको छ । सँगै सुतेको श्रीमानलाई श्रीमतीले खुँडा प्रयोग गरेकी छन् ।

स्वतन्त्रताको नाममा अनुशासन र नियमहरुलाई पालना गर्न सकिंदैन भनेर हिँड्दा धेरै परिवारहरु विसर्जन भएका छन् । भर्खर प्रक्टिसमा आएका लिभिङ टुगेदरहरु समेत भत्किदै गएका छन् । न अनुशासन र नियम बिना बनेका संस्थाहरु चलेका छन् न परिवार । त्यसैले समाजलाई सभ्य र समृद्ध बनाउन सेल्फ अनुशासनमा रहेर अनि परिवार र समाजमा आफुले बनाएका नियमहरु फलो गरेरनै अगाडि बढौं । मानिसहरु अनुशासित भएरनै सभ्य समाज निर्माण गर्न सकिन्छ

    Comment Here!


सम्बन्धित समाचार

View All