काठमाडौं, ७ भदौ । प्रत्येक वर्ष भाद्र कृष्णअष्टमीका दिन मनाइने श्रीकृष्ण जन्माष्टमी पर्व यस वर्ष पनि धुमधामका साथ मनाइएको छ । कृष्णअष्टमी देशभरका कृष्ण मन्दिरमा पुजा आजा गरि मनाइएको हो । कृष्णअष्टमीका दिन कृष्ण मन्दिरमा पुजा आजा गर्नाले कुसंस्कारको अन्त्य गर्दै सत्कर्मको पक्षमा लाग्न प्रेरणा मिल्ने किम्बदन्ती रहेको छ ।
भगवान श्रीकृष्णको जन्म द्वापरयुगको अन्त्यतिर भाद्र कृष्ण अष्टमीको मध्यरातमा भएको सम्झनामा आजको दिनमा श्रीकृष्ण जन्माष्टमी पर्व मनाउने गरीन्छ । शास्त्रमा वर्णन गरिएअनुसार मामा कंश लगायत दुर्जनको विनाश गरी सज्जनको रक्षाका लागि अत्याचारबाट मानव जातिलाई मुक्ति दिन वासुदेव र देवकीको गर्भबाट भगवान् विष्णुको आठौं अवतारका रुपमा श्रीकृष्णको जन्म भएको धार्मिक विश्वास छ । श्रीकृष्णा जन्माष्टमी हिन्दूहरूले भगवान श्री कृष्णको पूजा–आराधना गरी श्रद्धा–भक्तिपूर्वक मनाउ“छन् ।
ज्ञानयोग, कर्मयोग र भक्तियोगका प्रणेता भगवान श्रीकृष्णको जन्म द्वापरयुगमा हिन्दू पञ्चाङ्ग अनुसार भाद्र कृष्ण अष्टमीको मध्यरातमा भएकाले यो दिनलाई श्रीकृष्ण जन्माष्टमी र रातलाई मोहरात्री पनि भन्ने गरीन्छ । यसै पर्वको अवसरमा ललितपुर पाटनको मंगलबजारस्थित श्रीकृष्ण मन्दिरलगायत देशैभरका कृष्ण मन्दिरमा पूजा आराधना गर्नेको बिहानैदेखि भिड लाग्ने गर्छ । संस्कृतिविद् डा. सत्यमोहन जोशीले कृष्णअष्टमी एक पवित्र दिवस भएको बताएका छन् ।
ब्रह्मकुमारी संस्थामा आबद्ध ब्रह्मकुमारी बबिताले कृष्णको जस्तै गुण मानवले पनि व्यवहारमा उतार्न सकेको खण्डमा मानवहरु पनि कृष्ण बन्न सक्छन् भन्ने महत्वका साथ कृष्णअष्टमी मनाउने गरिएको बताए ।
हिन्दूहरूको पवित्र ग्रन्थ श्रीमद्भागवत गीता कुरुक्षेत्रमा कौरबहरूसंगको लडाईमा संलग्न पाण्डवहरूमध्येका अर्जुनलाई उपदेश दिन स्वयं कृष्णले बोलेका उपदेश मानिन्छ । बाल्यकालदेखि नै आफ्ना विचित्र लीला देखाएका श्रीकृष्णले पुतना, कंश, जरासन्ध, शिशुपालजस्ता दानवी प्रवृत्तिको संहार गरेको जनविश्वास छ । सोहि विश्वास र आस्था भएरै पाटनको मंगलबजारस्थित प्रसिद्ध कृष्ण मन्दिरमा विहानै देखीे लाइनमा बसेर पुजा गर्न आएको भक्तजनहरु बताउछन । आफ्नो परिवारको सु–स्वास्थ्य, दिर्घायु, सुखशान्ती र प्रगतिको कामना गरेर पनि आजको दिन श्रीकृष्णको पूजाआजा गर्ने चलन छ ।
पाटनस्थितको कृष्णमन्दिरमा शुक्रबार हजारौं भक्तजनहरुको भिड लागेको थियो । आजका दिनमा मात्रै होईन पाटनको यस कृष्ण मन्दिरमा कृष्णअष्टमीको मध्यरातसम्म नै दर्शनार्थीको भीड लाग्ने गर्दछ । यो कृष्णमन्दिरमा मात्रै २० देखि ३० हजार भन्दा बढीको हाराहारीमा भक्तजनहरुको भीड लाग्ने गरेको कृष्णअष्टमी व्यवस्थापन पक्षले जानकारी दिएको छ । यसैगरी, यहा“ आएका भक्तजनहरुलाई नगरपालिका र नेपाल प्रहरी लगायत विभिन्न संघ–संस्थाको सहकार्यमा सुरक्षा, खानेपानी तथा प्राथमिक उपचारको व्यवस्थापन गरिएको मंगलबजार टोल सुधार संघका संयोजक राजु कपालीले बताए ।
प्रतिक्रिया दिनुहोस्