ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

जब आमाले पुलिसलाई लखेट्नुभयो


एबीसी न्यूज
बैशाख ५, २०७६ बिहीबार  ४ : ०८ बजे


This image has an empty alt attribute; its file name is sharada-sharama1.jpg

बा भुमिगत हुँदा हामी सानै थियौं । बुबा र बोईले हामीलाई धेरै कुरा सिकाउनुभयो । हामी हरेक कुरामा संयमित बन्नै पर्दथ्यो । किनकी पञ्चायती व्यवस्थाको अन्त गरेर बहुदल ल्याउन हिँडेकाहरू धेरै भुमिगत थिए कति अर्धभुमिगत रुपमा थिए । हामी सानै थियौं । स्कुल जाने आउने गर्थ्यौं ।

भुमिगत हुनुभन्दा पहिले पनि बा पटक पटक जेल जानु्हुन्थ्यो । दारी कपाल केही नभएको मान्छे अठार बीस दिनमा घरमा आउँदा दारी कपाल पालेर आउनुहुन्थ्यो । बाले हामीलाई पढ पढ भन्ने हुँदा हामीलाई बा घरमा नभए पढ्न पर्दैनथ्यो भन्ने हुन्थ्यो । जेल भन्ने के थाहा ? जब बालाई पुलिसले पक्रेर लान्थ्यो हामी अब पढ्न नपर्ने भयो भनेर खुसी हुन्थेउँ । साँच्चै जीवनका यी अचम्म लाग्ने घटनाहरू निकै रमाइला हुनेरहेछन अहिले सम्झिदा पनि । हामी अटेन्सनमा थियौं । बा भुमिगत भएपछि हामीलाई पढ भन्ने मान्छे थिएन । पढ भन्ने मान्छे नभएपछि हामी आफुलाई धेरै स्वतन्त्र पनि सम्झिन्थ्यौं, त्यतिबेला अनि असाध्यै खुसी हुन्थ्यौं । आमालाई जे भने पनि त भयो । बा घरमै नआइदिए हुनेथियो जस्तो लाग्थ्यो ।

कहिलेकाहीँ बा घरमा आउनुहुन्थ्यो रातिमा । सानो भाइ धेरै सानो थियो । अलि अलि बोल्न जान्थ्यो । एकदिन बा आएकै समयमा साँझ लालटिन हातमा समाएर बि बि भन्दै बाहिर भित्र घुम्न थाल्यो । हामीले कुरा बुझेनौ । बा आँटीमा हुनुहुन्थ्यो । गाउँमा घरको एकतला माथिको भागलाई आँटी भन्ने चलन थियो । उस्ले बालाई खोजेको रहेछ । धेरैबेर बि बि भनेर खोजेपछि खाना खाने समय भएर बा तल आउनु भयो उ बाको काखमा गयो ।

पछि हामीले बुझेउँ, उसले बालाई बि भन्दै खोजेको रहेछ । बच्चा पनि कति बाठो भएको ? बा भनेर बोलाउँदा वल्तिर पल्तिर सबैले थाहा पाउने भएर पनि उस्ले यस्तो गरेको हुनुपर्छ । कसैले नसिकाइकन उसले यस्तो कार्य गरेको देखेर हामी चकित थियौ ।

यसरी दिनहरू बित्दै थिए । आफसे आफ नै परिवेशले हरेक कुराको निर्माण गर्नेरहेछ र मान्छेलाई त्यसरी नै प्रशिक्षित गर्नेरहेछ भन्ने यो पनि यौटा सत्यता हो । तीजमा हाम्रो स्कुलमा मेला लाग्थ्यो । हामी सानै भए पनि त्यहाँ परिवर्तनका गीत गाउँथ्यौंं । एक पटकको कुरा हो ठूलो भाइलाई सार्वजनिक मुद्धा लाग्यो । उ जम्मा सात बर्षको थियो । हजुरबाले बोकेर ठानामा लानुभयो । बुवा भुमिगत नै हुनुहुन्थ्यो । देख्ने जति सबै अचम्म मानिरहेका थिए । मुद्धा खै कसलाई हो भाइले पिट्यो भनेर लगाइएको थियो । पछि ठानेदार नै चकित परेछ फर्काइदियो केही नगरिकन । त्यो वर्ष तीजमा हाम्री कान्छी फुपुले त्यहि विषयमा गीत बनाउनुभएको थियो । सम्झँदा रमाइलो लाग्ने कुरा हुन यी ।

एकदिन हामी बारीमा काम गरिरहेका थियौं । घरमा हजुरआमा मात्र हुनुहुन्थ्यो । बुबालाई खोज्दै पुलिस आए । बारीबाट घर देखिन्थ्यो । भर्खरै नुहाएर कपाल कोरेको पनि थिएन । आमा बाउसो बजार्दै घरमा गएर पुग्दा पुलिसहरू डराएर भागेको देखेर हामी पछिसम्म पनि हाँस्थेउँ । समय न हो यसरी पञ्चायतकालीन दिनहरू बित्दै थिए । बिस्तारै पुलिस बालाई लिन आउने कुरा बुझाउन थालिन बोईले । हामीले हजुरबालाई बुबा भन्थेउँ, हजुरआमालाई बोइ भन्ने गर्थेउँ ।

गाँउमा हलो जोत्ने कम्युनिष्ट हुन्छन् भनेर बाले हलो जोते पछि गाँउघरमा हामीलाई छोइछिटो गरिन्थ्यो । यो पनि हजुरआमाले नै हामीलाई बताउनुहुन्थ्यो । हामीले थाहापाउँदासम्म हाम्रा नजिकका आफन्तको चुलोमा पनि जान पाइन्थेन ।

हामीलाई आमाले निकै दुःख गरेर हुर्काउनुभयो । समाजमा छोरा पाउने लडाई जितेर वीर बनेकी मास्टर्नीका छोराछोरी थियौं हामी । किनकी आमाको पहिचान थियो त्यो । १८ वर्ष शिक्षक पेशा सम्हालेका चल्ताफुर्ता मस्टरकी मस्टर्नी हुनुहुन्थ्यो आमा । मिठो खाना पकाउने भएकोले मास्टर्नीको घरको खाना खान पनि धेरै मान्छेहरू हाम्रो घरमा काम गर्न आउन निकै मन पराउँथे । हामी तीन बहिनी जन्मिए पछि छोरा पाउन नसकेको भनेर समाजले लगााएका धेरै गुनहरूको ऋण त आमाले आज पनि तिर्दै हुनुहुन्छ कतिलाई । समाज परिवर्तनको दौरानमा धेरै परिवार बिचल्लीबाट मात्रै तङ्ग्रिएका थिए । साँच्चै यस्ता अनौठा अनुभव र अनुभुतिहरूले जीवन कतिखेर विश्वविद्यालय बन्न पुग्छ मै हुं भन्नेहरूलाई पनि थाहा हुंदैन । प्रत्येकका प्रत्येक कहानी हुने गर्छन ।

पैतालीस साल तिरको कुरा होला । हाम्रो घरभन्दा माथि रहेको भैरवस्थान मन्दिरमा दशैंको नवमीको दिन मेला लाग्ने गर्दथ्यो । हामी सानै थियौं । अखिलले ‘सांस्कृतिक कार्यक्रम राखेको थियो । देवेन्द्र दाइ, नन्दा, हिरा, शान्ता दिदीहरू हुनुहुन्थ्यो । हामी गीत राम्रै गाउँथ्यौं । मेरो हातमा गीतको किताब थियो कार्यक्रम सुरु भयो । ‘अखिलको झण्डा फरर…’ भन्ने गीत त्यतिबेला निकै चर्चित थियो । हामी गीत गाउन सुरु गर्यौं । प्रहरी आएको थाहा भयो । पञ्चायती समयमा त्यस्ता गीत गाउन प्रतिबन्ध थियो । सार्वजनिक रुपमा त्यसरी गीत गाउनु अपराध ठहरिन्थ्यो । प्रहरीले हामीलाई लछारपछार पार्न थालेपछि देवेन्द्र दाइले हामीलाई बचाउनुभयो ।

त्यहाँ ठूलो झगडा भयो । पछि जनताले हामीलाई साथ दिएछन् प्रहरी तल परे हामीले पनि माथिबाट ढुङ्गा गुल्टायौं । ढुङ्गाले एकजनाको टाउको फुटेछ उनी पुलिसको जासुस रहेछन् । त्यसपछि सबैको भागाभाग भयो । हामी पनि अब त्यहाँ बस्न ठिक थिएन । प्रहरीहरू हामीलाई जतिबेला पनि गिरफ्तार गर्न सक्थे । साँच्चै बेलुका सिंगो गाउँ पुलिसमय भयो । हामीलाई प्रहरीले खोज्यो हामी छिमेकका मदुसमा लुकेर बस्यौं । त्यसपटकको दंशै सायद हाम्रा लागि दशा बन्न पुग्यो ।

बा कहाँ हुनुहुन्छ थाहा थिएन । दशैपछि हाम्रो घरमा पुर्जी टाँसियो । दिदी र मेरो नाममा । खै किन हो बुबाले सीडीओ अफिसमा पु-याउँदा म रोएकी थिएँ । मेरी दिदी शान्ता, हिरा, विनोद पनिसँगै थिए । शान्ता दिदी त डराउदै नडराउने । केही हुन्न नरोई भन्थिन मलाई । फेरि कस्तो प-र्यो भने मैले त्यो बेलासम्म टेलिफोन पनि देखेकी थिइन । सामान्य धागोको डोरीले पछाडि हात बाँधेर सीडीओको अगाडि उभ्याइएको थियो । टेलिफोनमा कुरा गरेको देखेर रुँदारुँदै खित्त हाँसो छुट्यो । शान्ता दिदीले कानैमा मुख ल्याएर किन बहुलाएकी भनिन । ‘एक्लै कुरा गर्छ के को म बहुलाउनी, ऊ त्यो मान्छे बहुलाएछ नि हेर न’ भनेँ । यो फोन हो चुपलाग । कहिलेकाहीँ बासँग चितवन काठमाडौ पनि गरेकी हुनाले उनलाई टेलिफोन भन्ने थाहा रहेछ ।

साँच्चै जीवनमा यस्ता घटनाहरूले पक्कै पनि निकै महत्व राख्ने रहेछन । पछि पाँच सय जरिमाना तिरेपछि छोड्न सकिने कुरा भयो । एकदुई जना तिरेर निस्के । हामी तीनजना शान्ता दिदी, हिरा दिदी र म जेल चलान भयौं । म यति धेरै रोएँ । कता मार्ने हुन भन्ने डरले ।
साँच्चै डर पनि कति लागेको ! त्यतिबेला सम्झिँदा आज पनि हाँसो लाग्छ । जेलमा पुगेपछि तीन चार वटा ढोका रहेछन् । म त्यहाँ पुग्दा झनै बढी रोएकी थिएँ । लामा लामा जुगाँ पालेको मान्छे जेलर रहेछ । पछि थाहा भयो । उसले भन्यो, ‘नानी नरोऊ, मेरो छोरा सुन्दर छँदै छ नी !’ म आज पनि त्यो जुँगे हवल्दारलाई निकै सम्झिन्छु ।

जेलभित्र पसे पछि मलाई साँच्चै मामा घरनै पुगेको अनुभुति भयो । कोही बुढी हजुरआमा, कोही भर्खरका दिदी बहिनी अनेक केसमा जेल परेकाहरू । पहेँलो आलुको तरकारी र भात खाँदै छन् । बेलुकीपख भर्खर घाम अस्ताएको मात्र थियो । भित्र कोठामा खाटै राख्न नपर्ने बाक्ला ओछ्यानहरू । जेलमा पनि यस्तो व्यवस्था ? हैन यो जेल हो की अरु नै ठाउँ हो, अचम्म लाग्यो ।

म रुन छोडिसकेकी थिएँ । त्यहाँ हामी २८ दिन बस्यौं । बागलुङ बजारका बुढादेखी बच्चासम्म हामीलाई जेलमा भेट्न आए । फुच्चीहरू जेल परेका छन रे भनेर जताततै ठूलो चर्चा भएछ जिल्लाव्यापी रुपमै । सबै मान्छेहरू फुच्चीहरूलाई हेर्न भनेर जेलमा आउन थाले । साना फुच्चीहरूलाई जेलमा हेर्न आउने अनेक वर्ष समुहका मान्छे हुन्थे । हामी खुसी हुँदै जेलको भित्रि ढोकामा पुगेर गफिन्थ्यौ । पछि त रमाइलो भयो । राजनीतिक केस, त्यहि पनि उमेर नपुगेको भएपछि हाम्रो ठुलो चर्चा भएछ बाहिर ।

घरमा बिजुली थिएन । त्यहाँ बिजुली मलाई त जेल निकै रमाइलो लाग्न थाल्यो । हाम्रो हेरचाह गर्नकै लागि जेलमा महिला तिरकी कमान्डर हाम्रै गाउँकी यौटी महिलालाई लगाइएको थियो । उनी अवैध वच्चा पाएर घरमै पुरेको केसमा जेलमा थिइन । हामी बसेको जेल नजिकै बागलुङ कालिका मन्दिर पर्छ । त्यहाँबाट बलिदिएका परेवाहरू ल्याएर हामीलाई परेवाको मासु पनि खान दिइन्थ्यो । जेल रहेको अलि तल मेरो ठुली आमाको घर थियो । मेरी ठुली आमाका छोरा शिव दाइ हामीलाई दिनदिनै अनेक खानेकुरा लिएर जेलमा आउनुहुन्थ्यो भेट्न । कसैले पैसा दिन्छन् कसैले खानेकुरा हैन कति रमाइलो हो जेल पनि दिनभरी मान्छेहरू हामीलाई हेर्न आइरहन्छन् । त्यो जुंगे हवल्दारको पनि पछि त हामी तीनजना मिलेर सातै लियौ । जताततै हाम्रो समाचार गएछ । एकता समाजले पनि त्यतिबेला हाम्रो विषयमा लामै विज्ञप्ती निकाल्यो रे भन्ने सुनिन्थ्यो । २८ दिन पछि बजारकै मानिसले पैसा उठाएर फुच्चिहरूको विजोग भयो भन्दै हामीलाई निकालेछन् । बुबा र हजुर आमाले त पैसा तिरेर निस्कनै हुन्न भन्नुहुन्थ्यो ।

उमेर नपुग्दै जेल बसेको यो अनुभव पनि निकै रमाइलो लाग्छ आज पनि सम्झिँदा । मैले पछि जुंगे हवल्दार भन्ने शिर्षकमा लेख पनि लेखेकी थिएँ । यसरी पञ्चायतले हामीलाई राजनीति सिकायो । सानो छँदा नै हामी राजनीति सिकेउँ । जनताको काम गर्ने काम मात्र राजनीति भन्ने कुरा मैले त्यहिबेलाबाट पत्याउन छोडे । बाउ राजनीतिमा लागेकै कारण छोराछोरीहरूलाई यसरी सताइने समय थियो । त्यति सानो भाइलाई पनि ठानामा पुर्याउन बाध्य पारियो । सायद जालझेल र तिकडम पनि त राजनीति रहेछ मैले त्यतिबेलै सोचेँ । समयसँगै यस्ता अनुभव र अनुभुति संगालेर निरन्तर पाटीमा लाग्नेहरू नै नेता हुन सक्छन् ।

त्यसपछि पनि हामीलाई गाँउमा तनाव नै थियो । परिवेश खुला भए पनि बा कहिलेकाहीं मात्र घरमा आउने गर्नुहुन्थ्यो। समयसंगै उमेर पनि बढ्दो थियो । बहुदल आएपछि हामीले ठाउं ठांउमा भाषण गर्थेउ । स्कुल, सार्वजनिक स्थल । ओहो जोश पनि कति आएको ! त्यति बेला हामी नौ कलासमा पढ्दै थियौं । त्यो भन्दा अगाडि नै असाध्य राम्रो भाषण गर्ने बागलुङको केटो भनेर मेरो श्रीमानको जिल्लाव्यापी चर्चा नै हुन थाल्यो ।

समय न हो अनेक कौतुहलता । म आफै पनि भाषण गर्ने । संगठनमा काम गर्ने । त्यति बेला नै जिल्लास्तरीय वक्तित्व कला थियो । हामी औषत विद्यार्थी थियौ । तर बागलुङको राम्रो भाषण गर्ने केटो भनेर जस्लाई भनिन्थ्यो उ त स्कुलको फस्ट बिद्यार्थी पनि रहेछ । त्यो प्रतियोगितामा उनको स्कुल प्रथम भयो । सबै प्रश्नको उत्तर उनैले दिने । हामी चकित थियौं । त्यति बेलाबाट हाम्रो चिनजान भयो । हाम्रो एसएलसीसँगै थियो । त्यतिखेर सम्म त हामी नेता पनि भैसकेका थियौं जिल्लाको । एसएलसी पछि म अखिल छैठौको पोखरा उपकेन्द्रको सदस्य थिएँ । मेरो श्रीमान सचिव भैसक्नु भएको थियो । जिल्लाको कोषाध्यक्ष थिएँ म त्यो भन्दा अगाडि । उनी सचिव थिए ।

हाम्रो बिहे भने भएको थिएन । यसरी समयले जानेर या नजानेर पाटी संगठनप्रति प्रतिवद्ध बनाएको थियो । कम्युनिष्ट भनेर सिकाएको थियो । कलेज भर्ना हुँदासम्म त हामी केन्द्रीय सदस्य भैसकेका थियौं । दुइवर्ष कलेज पढेर सकेको चारौं महिनामा हामीले संघर्ष र क्रान्तिको लागि बलिदान दिने अठोट भन्दै बिहे गर्यौ । त्यति बेलाको पेरिफेरी सम्झिँदा आज पनि अनौठो लागेर आउँछ । नेताकी छोरीले पनि जनताको छोरासँग सम्बन्ध राख्ने भन्ने त्यतिखेर नेताहरूले नै बोलेका शब्दहरूले पनि राजनीति हामीले सोचेजस्तो र मेरो बुबाले भनेजस्तो सेवा र लगन मात्र हो भन्ने कुरा पत्याउन छोडिसकेकी थिएँ मैले । स्वार्थ, जालझेल पनि राजनीति थियो ।

हामीले संगठनमा होलटाइमर बनेर काम गरेउँ, गाउँदेखि केन्द्रसम्मको अवस्थालाई बुझेउँ, नेता उनीहरूको सोच साँच्चै देख्दा भन्दा धेरै फरक, अनि सुन्दा भन्दा भेट्दा धेरै अनौठा त्यतिबेलै । हाम्रो बेस थियो यो राजनीतिको । पछि कुनै पार्टीको पनि सदस्य नरहने गरी पत्रकारिता सुरु गर्यौं । नढाँटी भन्दा सुरुका केही वर्ष निकै गाह्रो पनि भयो राजनीति छोडेर पत्रकारिता गर्छौं भन्दा । पछि त बानी पनि भयो । पुर्वाअञ्चल विश्वविद्यालयबाट शुभले पत्रकारितामा टप गरेपछि हामीलाई सजिलो भयो ।
राजनीति र पत्रकारिता साँच्चै एकअर्काको पुरक नै रहेछ । साँच्चै विचार र परिवर्तन भन्ने कुरा मान्छेको जीवनमा नमेटिने सपना बनेर निरन्तर जारी रहने रहेछ जुनसुकै रुपमा भए पनि । राजनीति छोडेर कुनै पाटीको सदस्य नभएको पनि डेढ दशक भयो होला । मान्छेहरूले आआफ्नो हिसाबले कित्ताकाट गर्न आज पनि छोडेका छैनन हामीलाई । हामीले लेख्ने, हामीले व्यक्त गर्ने विचार, हाम्रो परिवर्तनमुखी निरन्तरता र हाम्रो सम्बन्धलाई नै उचालेर आज पनि हाम्रो चर्चा परिचर्चा हुने गर्छ । जिन्दगी हो यो । अनुभवको पाठशाला बनेर रहेको जीवनसँग कुनै मार्गचित्र नकोरी जता हुन्छ त्यतै ठोक्किँदै जाँदाको प्रत्यक्ष अनुभुतिसँगै रमाउन सक्नु जीवनको कला नै हो, सायद ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

‘अमेरिकी सेनाले मार्च पास गरेको’ भन्ने अभिव्यक्तिको आरोपमा दुर्गा प्रसाईं फेरि पक्राउ

राजमार्गमा स्थानीय तहले कर उठाउन नपाउने सर्वोच्चको अन्तरिम आदेश

सम्बन्धित

ओपनएआईले फेसबुकले गरेका गल्तीहरू दोहोर्‍याउँदैछ

‘नेपालमा नियन्त्रित अस्थिरताको राजनीति’

जनयुद्धको तीन दशक : उपलब्धि, अवसर र अपूरा प्रश्नबीच माओवादीको यात्रा

प्रणय दिवसको बहस: संस्कृतिको संकट कि भावनाको स्वतन्त्रता?

“भ्रष्टाचार नियन्त्रण र सुशासन” — निर्वाचनको प्रमूख एजेन्डा कहिले बन्छ ?

एआई त्रियामिक अरुचिपूर्ण रोजाईः क्रान्तिकारी प्रविधिलाई कसरी नियमन गर्ने ?

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com