काठमाडौं,२१ चैत । संचार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बास्कोटाले बारा र पर्साका आँधि–हुरी पीडितको राहत तथा उद्धारमा कुनै कमी नरहेको दावी गर्नु भएको छ ।
मन्त्री बास्कोटाले पीडितका लागि आवश्यक अस्थायी प्रकृतिको खाने, बस्ने, औषधिउपचार गर्नेलगायतका व्यवस्था गरिएको पनि बताउनु भयो । बिहीबार गत चैत्र १४ गते बसेको मन्त्री परिषद बैठकको निर्णयबारे जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा उहाँले आँधि–हुरी पीडितको उद्धार तथा राहतमा कमी हुन नदिन संघीय सरकारले प्रदेश सरकार, स्थानीय सरकार, विभिन्न सामाजिक संघ, संस्थाहरुलाई परिचालन गरिरहेको पनि बताउनु भयो ।
मन्त्री बास्कोटाले आँधि–हुरी पीडितको धनमालको क्षतिको एकीन विवरण आएपछि पुनस्थापना र पुनर्वासका आवश्यक व्यवस्था सरकारले मिलाउने पनि स्पष्ट पार्नु भयो । प्रधानमन्त्री केपी ओली आफैले स्थलगत अवलोकन गरी पीडितको पुनर्वासको व्यवस्था गराउने प्रतिवद्धता जनाउनु भएको र त्यसका लागि आवश्यक तयारीको कामलाई अघि बढाइएको पनि मन्त्री बास्कोटाको भनाई छ ।
गत चैत्र १७ गते आइताबार साँझ आएको आँधि–हुरीमा परी बारा र पर्साका गरी २७ जनाको ज्यान गएको छ भने सयौंको संख्यामा घाइते भएका छन । घाइतेहरुको सरकारले निःशुल्क स्वास्थ्य उपचारको व्यवस्था पनि गरेको छ ।
प्रतिक्रिया दिनुहोस्