काठमाडौं,४ चैत । बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्ति पार्टी, नेपालले नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीलाई प्रतिबन्ध लगाउने सरकारको निर्णयप्रति आपत्ति जनाएको छ ।
नयाँ शक्ति पार्टी, नेपालका संयोजक डा. भट्टराईले सोमबार काठमाडौंमा पत्रकार सम्मेलन गरी चन्द नेतृत्वको नेकपालाई प्रतिबन्ध लगाउने सरकारको निर्णयप्रति आपत्ति जनाउन’ भएको हो ।
पुर्व प्रधानमन्त्री समेत रहनु भएका उहाँले मुलुकमा बेरोजगारी बढदै गएको, भ्रष्टाचारका कारण विद्रोहको अवस्था कायमै रहेको अवस्थामा चन्द नेतृत्वको नेकपालाई दमन गर्ने सरकारले नीति गलत भएको प्रतिक्रिया दिनु भयो । उहाँले चन्द नेतृत्वको नेकपालाई दमन नगरी समस्याको समाधान गरेर जनताबाट उनीहरुलाई अलग्याउने नीति लिन पनि सरकारलाई स’झाव दिनु भयो ।
संयोजक भट्टराईले अदालतले जन्मकैदको फैसला सुनाएका रेशम चौधरीलाई तत्काल रिहा गर्न पनि सरकारसँग माग गर्नु भयो । राजनीतिक आन्दोलनको क्रममा भएको घटनालाई लिएर जनताबाट निर्वाचित सांसदलाई जन्मकैदको फैसला गर्नु असंगत भएको उल्लेख गर्दै उहाँले सो समस्यालाई राजनीतिक रुपले समाधान गर्दै चौंधरीलाई तत्काल रिहा गर्न सरकारसँग माग गर्नु भयो ।
नयाँ शक्ति पार्टी, नेपालले आमाको नाममा नागरिकता पाउने कानुनी व्यवस्था गर्न पनि सरकारलाई दवाव दिएको छ । संयोजक भट्टराईले सरकारले संसदमा पेश गरेको नागरिकता विधेयकप्रति आपत्ति जनाउँदै त्यसमा आमाको नाममा नागरिक पाउने व्यवस्था तत्काल गर्न पनि सरकारको गम्भिर ध्यनाकर्षण गराउनु भयो ।
प्रतिक्रिया दिनुहोस्