डडेल्धुरा,४ चैत । डडेल्धुरामा रहेको ऐतीहासिक अमरगढी किल्लाका ऐतिहासिक हतियार हराएका छन् । समुद्री सतहबाट ६५ सय फिटको उचाइमा रहेको अमरगढी किल्लमा रहेका हतियार हराएको हो ।
हतियारको खोजी नहुँदा यो अहिले यो किल्लाको महत्व घटेको स्थानीयवासी बताउँछन् ।
सुदरपश्चिमकै ऐतिहासिक तथा देशको गरिमा बोकेको डडेल्धुरा सदरमुकामस्थित अमरगढी किल्लामा रहेका ऐतिहासिक हतियार अहिले किल्लामा छैनन ।
बडाकाजी अमरसिंह थापाले विसं. १८४७ मा स्थापना गरेको अमरगढी किल्लामा नेपाल एकीकरणको समयमा प्रयोग गरिएका ऐतिहासिक तथा पुराना हातहतियार किल्लाभित्र भेटिँदैनन् । आफुहरुले तोप, बन्दुक, घरेलु भाला, गोला लगायतका ऐतिहासिक हतियार देखेको तर पछि ती हतियारहरु गायब भएको स्थानीयले बताएका छन ।
किल्लामा त्यसबेला पाँचवटा तोप, दर्जनौँ घरेलु हतियार, सयवटा जति बन्दुक,किल्लाभित्र नै बम गोला बारुद बनाउने छट्टै घर र अन्य युद्ध सामाग्री रहेको स्थानीयबासिन्दा नरेशबहादुर थापाले बताउनु भयो ।
तर, अहिले किल्ला हेर्न आउने पर्यटयकले ती कुनै पनि हतियार देख्न पाउँदैनन् ।
ऐतिहासिक किल्लाभित्र तत्कालिन डोटेली फौजले अंग्रेजसँग लड्दा प्रयोग गरेका तोप, बन्दुक, घरेलु भालालगायतका ऐतिहासिक हतियार र सैनिक पोसाक नहुँदा किल्लाको महत्वसमेत घटेको स्थानीय सागर नगरकोटीले बताउँनु भयो ।
युद्ध लड्दा प्रयोग भएका घरेलु हातहतियार, बन्दुकलगायत अन्य हतियार रहेको र त्यसबेला प्रत्येक वर्ष दसैँको फूलपातीको दिनमा किल्लामा रहेका राजा तथा रानी तोप लगेर टुडिखेलमा पड्काउने गरेको स्थानीय ६६ वर्षीय उमा श्रेष्ठले बताउँनु भयो ।
हतियार बेपत्ता हुनुमा सम्बन्धित निकायको उदासिनता जिम्मेवार रहेको आरोप स्थानीयको छ । डडेल्धुरा घुम्न आउने पर्यटकको पहिलो रोजाइमा पर्ने यस किल्लामा भएका हतियार बेपत्ता भएकाले यो किल्लाको आकर्षण नै घटेको छ ।
प्रतिक्रिया दिनुहोस्