
काठमाडौं,१ चैत । गोपाल किराती नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)ले नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीलाई प्रतिबन्ध लगाउने निर्णय तत्काल खारेज गर्न सरकारसँग माग गरेको छ ।
नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष किरातीले चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीलाई प्रतिवन्ध लगाउने निर्णय तत्काल खारेज गर्न सरकारसँग माग गर्नु भएको हो ।
शुक्रबार काठमाडौंमा आयोजित एक साक्षात्कार कार्यक्रममा बोल्दै उहाँले चन्द नेतृत्वको नेकपालाई विद्रोहको बाटो छाडेर गणतन्त्रको रक्षाका लागि वार्तामा आउन पनि आह्वान गर्नु भयो । अध्यक्ष किरातीले चन्द नेतृत्वको नेकपाले विखण्डनको बाटो लिए गणतन्त्र आफै खतरामा पर्ने भएकाले पनि त्यसो गर्न नहुने तर्क पनि गर्नु भयो । ‘सरकारले चन्द नेतृत्वको नेकपामाथि लगाएको प्रतिबन्ध गलत छ ।
वार्ता नगरी राजनीतिक दलमाथि प्रतिबन्ध लगाउने काम ठिक होईन । सिके राउतलाई सहमतिमा ल्याउने र चन्द नेतृत्वको नेकपालाई प्रतिबन्ध लगाउने सरकारको निर्णय दमनकारी नीति अन्तरगत संचालित देखिएकाले आफ्नो पार्टीले विरोध गर्नु परेको’ अध्यक्ष किरातीको भनाई छ ।
अध्यक्ष किरातीले प्रतिनिधिसभामा निर्वाचित सांसद रेशम चौधरीलाई जन्मकैदको सजाय दिने अदालतको फैसला न्यायोचित नभएको भन्दै असन्तुष्टि पनि व्यक्त गर्नु भयो ।



















प्रतिक्रिया दिनुहोस्