काठमाडौं,२६ फागुन । सरकारले स्वतन्त्र मधेस गठबन्धनसँग स्वतन्त्र मधेश निर्माण गर्ने गरी जनमत संग्रह गर्ने सहमति नभएको स्पष्ट पारेको छ ।
प्रतिनिधिसभाको आईतबारको बैठकमा सरकारको तर्फबाट गृहमन्त्री रामबहादुर थापाले समय मागेर बोल्दै मधेसलाई नेपालबाट अलग गरी स्वतन्त्र मधेस निर्माण गर्ने कोणबाट कुनै सहमति नभएको स्पष्ट पार्नुभएको हो ।
जनअभिमतको अर्थ जनमतसंग्रह नभएको भन्दै उहाँले स्वतन्त्र मधेस निर्माण गर्ने मागलाई सरकारले मानेको छ भन्ने सांसदहरुको विश्लेषण गलत भएको दाबी गर्नुभयो ।
सहमतिमा उल्लेख भएको शब्द जनअभिमतलाई जनमत संग्रहका रुपमा व्याख्या गर्न खोजिएको भन्दै गृहमन्त्री थापाले शब्दको मर्मविपरीत भ्रम सिर्जना गर्ने काम भएको दाबी गर्नुभयो ।
सहमति गर्दा शब्दहरुमा सरकार चिप्लिएको भन्ने गम्भीर आशंका गर्नु केबल भ्रम मात्रै भएको टिप्पणी उहाँले गर्नुभयो । गृहमन्त्री थापाले सरकार राष्ट्रिय अखण्डतालाई रक्षा गर्न कटिबद्ध रहेको पनि प्रतिवद्धता व्यक्त गर्नुभयो ।
उहाँले स्वतन्त्र मधेस गठबन्धनसंग भएको राजनीतिक सहमति ऐतिहासिक सहमति भएको र यसले राष्ट्रिय स्वाधीनता र राष्ट्रिय अखण्डताको रक्षा गर्न महत्वपुर्ण भूमिका निर्वाह गरेको दाबी गर्नुभयो ।
गृहमन्त्री थापाले सो समुहले नेपाललाई विखण्डन गर्ने वा स्वतन्त्र मधेस राज्यको गठन गर्ने आफ्नो लक्षलाई परित्याग गरेको र नेपालको राष्ट्रिय अखण्डता, सार्वभौम सत्ता स्वाधिनता रक्षा गर्नका लागि आफ्नो कर्तव्य ठान्नेछौ भन्ने सहमतिमा पुगेको स्पष्ट पार्नुभयो ।
प्रतिक्रिया दिनुहोस्