
काठमाडौं,२४ फागुन । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का वरिष्ठ नेता माधवकुमार नेपालले पार्टी अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीको कार्यशैलीप्रति असन्तुष्टि व्यक्त गर्नु भएको छ ।
आज काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै वरिष्ठ नेता नेपालले अध्यक्ष ओलीको कार्यशैलीका कारण पार्टी अघि बढ्न नसकेको टिप्पणी गर्नुभएको हो । नेपालले पार्टीलाई विधिसम्मत ढंगले अघि बढाउन नखोज्दा दुई पार्टीबीचको सांगठानिक एकीकरणको काम अझै टुंगो लाग्न नसकेको गुनासो पनि गर्नुभयो ।
उहांले पूर्व एमाले र पूर्व माओवादी केन्द्रबीच कुनै समस्या नभएपनि पार्टीलाई विधि र प्रक्रिया अनुसार अघि बढाउन नचाहंदा पार्टीको सांगठानिक एकीकरणको काममा ढिलाई भईरहेको बताउनुभयो । उहांले पार्टीको राजनीतिक प्रतिवेदन अझै नछापिएकोमा पनि आपत्ति जनाउनुभयो ।
वरिष्ठ नेता नेपालले आफूले अनेकौ पटक भन्दा पनि पार्टीको राजनीतिक प्रतिवेदन अझै नछापिनु बिडम्बनापूर्ण भएको पनि बताउनुभयो । नेपालले ठूलो पार्टी चलाउन विधि र प्रक्रिया चाहिने भएपनि पार्टी नेतृत्वले ‘एस म्यान’को खोजी गर्दा संगठन एकीकरणको काम अझै टुंगो लगाउन नसकिएको दावी गर्नुभयो । पार्टीलाई विधिसम्मत ढंगले अघि बढाए दुई पार्टीबीचको सांगठानिक एकीकरणको काम एक महिनाभित्रै सम्पन्न हुने उहांको भनाइ छ ।


















प्रतिक्रिया दिनुहोस्