ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

शब्दसँग डराउने हैन, घेरा तोड्ने हिम्मत गर्नुस्, प्रधानमन्त्रीज्यू !


एबीसी न्यूज
फाल्गुन ७, २०७५ मंगलबार  ३ : २९ बजे


प्रधानमन्त्रीज्यू ! यो एक दुइ दिनमा सामाजिक संजालमा जे बहस र विवादहरु देखिए पक्कै पनि यि सुहाउँदा छैनन् । मलाई हरेक विषयले आफैंलाई छोएजस्तो लाग्छ । एबीसी टेलिभिजनमा मेरै श्रीमान्ले लिएको तपाईंको संघर्षको कथा हेर्दै जाँदा जब पार्टीले कार्वाही गरिसकेको अवस्थामा तपाईंलाई पुलिसले पक्राउ ग¥यो, त्यसपछि तपाईंलाई कस्तो फिल भयो होला मैले अनुमान गर्नै पर्दैनथ्यो । किनकि हामीले त्यो परिवेशको सामना कयौंपटक गरेका छौं ।

आफैंले प्रत्यक्ष अनुभूति गरेका छौं । हुनत निकै महानता प्रकट गर्नुभयो कुनै फिल भएन भनेर । आज तपाईंसँग आफ्नो परिवेशलाई जोडेर तपाईंको ठाउँमा हामीले आफूलाई उभ्याउनखोज्नु भनेको मूर्खता पनि हुनसक्छ । किनकि काम, कर्तव्य, अनुभव र अनुभुतिका लामा फेहरिस्त पल्टाउदै जाँदा हाम्रा डायरी भरिएलान् तर तपाईंका ठेली नै तयार हुन्छन् र पनि कतिपय भोगाइहरुले यौटै प्रकारका आयाम निर्माण गरेका हुन्छन् भने तिनलाई समावेश गर्नु अन्यथा पनि नहोला ।

जव पार्टीले कार्वाही गरेको समयमा तपाईं पक्राउ पर्नुभयो, तपाईंले कुनै फिल नै नभएको बताउँदै जाँदा मेरो मनले आफूजस्तै अर्को मनको विषयमा सोच्न थाल्यो । व्यवस्था बदल्न घर परिवार छोडेर पार्टी र संगठन भनेर लागेको मान्छे जब पक्राउ पर्छ, न त्यहाँ पार्टी छ, न संगठन छ, छ त बिचार बोकेको यौटा मानवीय आकृति । केही फरक परेन भनेर सोधेको प्रश्नको उत्तर तपाईंले टेलिभिजनको स्क्रीनमा दिंदै गर्दा जब तपाईंका अँंखा पढें, मेरा आँखा रसाएनन् मात्र आँशु नै बगे । खै किन हो संघर्ष र परिवर्तन भनेर हिंडेका ती दिनहरुको सम्झना पनि आयो । सबैभन्दा बढी पीडा त त्यतिबेलाको परिवश सम्झिंदा भयो जतिबेला कलमको माध्यमबाट संसार बदल्न सकिन्छ भनेर पाटी संगठन छोडेर कलम समाएका हामीहरुलाई मानिसहरुले आ–आफ्नो अनुकूलतामा कित्ताकाट गर्दै गए ।

कम्युनिष्टहरु एक हुनुपर्छ, जनताको अवस्था बदलिनु पर्छ भनेर लागेका हामीलाई अनेक सम्बन्धसँग जोडेर प्रहार गरिरहे । कसैले नुनको सोझो गरे, कसैले सुनको सोझो पनि गरे । सुनेकै भरमा विरोध गरे । त्यतिमात्र कहाँ हो र, हामीले लेखेका शब्द शब्दलाई लिएर अनेक ब्याख्या पनि गरियो । कतिले हामीसँग जोडेर हाम्रो विरोध गर्ने नाममा आफ्नै नेताहरुको धज्जी पनि उडाए । समयले हरेक कुराको फैसला अवश्य गर्छ । हिसाब किताब नगरीकन जोडिएका सम्बन्धहरुमा आफ्नैखालको फरकपन पक्कै हुनेरहेछ ।

त्यस हिसाबले हामी सफल पनि भयौं । पैसा हुनेहरु मात्र सफल कहाँ हुन्छन् र ? जस्ले समाज बुझ्ने हैसियत राख्न सक्छन्, ज्ञान, सीप, क्षमता र योग्यताका साथ अगाडि बढ्न सक्छन्, उनीहरु सफल पनि हुन्छन् । आफूले चढ्न थालेको चुचुरोमा पुगेर झण्डा फहराउन सक्नु त्यो यात्रा गर्ने यात्रीको सफलता हो । अरुको कुरा मात्र गर्ने र भट्टीमा बसेर मुखमा फिंज निकाली निकाली विरोध गर्दै आफ्नै आत्मरतिमा रमाउनेहरुको उपस्थिति छ शहरमा आज पनि । रोक्न कहाँ सकिन्छ र ?
प्रधानमन्त्रीज्यू ! शहरमा अनेक विविधता पक्कै पनि छ । मेरै टेलिभिजनमा समृद्धिको एकबर्षे बहसमा मन्त्रीहरुले विकासका कुरा गर्दैगर्दा शहरमा यौटा गीतले तहल्का नै पिट्यो । नढाँटीकन भन्नुपर्दा यो गीत मलाई पनि असाध्यै मनप¥यो । शब्दप्रयोग गरेर कलमले झक्झकाउनेहरुका लागि यो ब्यङ्गयात्मक गीत मैले पनि एकैदिनमा पटक पटक सुनें ।

हिजो राजनीति गर्ने भनेर होलटाइमर बनेका हामीले शिष्टाचारका कुरा ग¥यौं, अनुशासनका कुरा ग¥यौं । विरोध, समर्थन अनेक ग¥यौंं । कति विरोधका शब्दहरु राम्रा थिए होलान्, कति नराम्रा पनि । तर विरोध प्रवृत्तिको ग¥यौं । नढाँटी भन्दा ब्यक्ति नै तोकेर पनि ग¥यौं । गिरिजालाई जस्तो बिरोध नेपालमा आजसम्म शायद कसैलाई पनि भएन । ‘गिरिजा चोर देश छोड्’ भनिरहँदा हामीलाई शिष्टाचारको मुद्दा त्यतिबेला पक्कै लागेन । यौटा नारा आज पनि याद छ मलाई, ‘नुन तेलको सट्टामा देश बेच्न पाइँदैन, नदिनाला बेचेर हेलिकप्टर चाहिंदैन ।

राष्ट्रघाती गिरिजा भारततिर छिरिजा ।’ तर समयसँगै कलम समाउन थालियो । राजनीति पनि कलमकै माध्यमबाट गर्न थालियो । र, पनि मान्छेहरुले मात्र हैन सत्ता र शक्तिहरुले समेत हामीलाई अलि माथि नै राखेर चर्चा गरे । जसको लागि स्पष्टीकरण समयले दिंदैछ । आज पूर्वमाओवादी र एमालेको एकिकरण भएर देशमा कम्युनिष्टको सरकार छ । सबभन्दा पहिले त यो विशाल महासंग्रामको दुइ पाइलटे यानमा हामीलाई कहींकतै नदेख्दा केही मान्छेहरु चकित छन । एदेखि जेडसम्मको कुनै पनि अक्षर र अंकमा नदेखिंदा कतिलाई आज पनि आफ्ना नेतालाई नै गाली गरौं या यी पार्टीमै नभएकाहरुको कुन बिन्दुबाट विरोध गरौं भनेर आङ चिलाएकै छ जस्तो लाग्छ ।
प्रधानमन्त्रीज्यू ! आज पनि हामी कम्युनिष्ट पक्कै हौं तर हाम्रो अहिले पनि कुनै पार्टी छैन । त्यसैले न जनवादी केन्द्रियतालाई मान्न अनिवार्य छ, न गोपनीयताको सिद्धान्तलाई । त्यसैले आजको यो खुला समाजमा आफूले आफूलाई अनुशासनमा राखेर काम गर्ने हो । कसैले सचेत बनाएका कुराको शब्दमा निहुँ खोज्ने हैन । तपाईंले शासन गरेको देशमा कतिपय मान्छेलाई रासन छैन, तपाईंका कतिपय मान्छेको अनुशासन छैन ।

दुइ करोड नेपालीको प्रतिनिधित्व गरेका मान्छेहरुले यति स–साना कुरामा बहस गर्ने हो भने जनताको काम कहिले गर्नुहुन्छ ? हिजो आफ्नै कार्यकर्ताका व्यवहार र आचरणंको कारण पटक पटक नेतृत्वले माफी माग्न परेको विगत देखेका नेपालीले आज वहश भएको गीतका हरफ सुनेर मनोरञ्जन लिएका मात्र छैनन्, प्रत्यक्ष त्यो लुट देखेका छन्, भोगेका छन् । मलाइ लाग्दैन त्यो गीतबाट तर्सिएर तपाईंका मान्छेहरु बिरोधमा उत्रिहाल्नु पर्ने । गीतमा कांग्रेस कम्युनिष्टभन्दा पनि प्रवृत्तिगत व्यङ्गय गरिएको छ । जहाँसम्म डेढ अर्बको हेलिकप्टरको सवाल छ, त्यो समाचारमा आइरहेका कुराहरुप्रतिको ब्यङ्गय हो । मलाई लाग्दैन, यो गीत नियोजित रुपमा लेखिएको हो । अझै धेरै लेख्नुपर्दथ्यो । कम्युनिष्टको सरकार भएकोले उनले यो अवश्य लेखेनन् तर उनले कम्युनिष्ट भन्ने जे पनि गर्ने भनेर अझ कडा रुपमा आउनु पर्दथ्यो ।


प्रधानमन्त्रीज्यू ! तपाईंको चौधवर्षे बन्द काराबास अगाडिको पीडा, हाम्रो यो बीसवर्षे खुला कारावासको पीडा, अनि कलाकार पशुपति शर्माको आजको पीडा– यी अचम्मका पिडाहरुको संयोग हो वर्तमान । जहाँ तपाईंको शासन छ, तर लाग्दैन आफ्नै शासनमा जनता कहाँ कति मारमा परेका छन् भनेर तपाईंलाई जानकारी छ ? यौटा पिरामिडभित्रको वक्ररेखाभित्र तपाईंलाई राखेर देखाइएका मानचित्रहरुभन्दा गरिव नेपालीका दुखका आयतनहरु निकै फराकिला बनेका छन् । साँच्चै हो, यहाँ लुटमाथि लुट मच्चिएको छ ।

त्यसैले लुट्न नसक्ने र नजान्नेलाई आफ्नाहरुले नै नामर्द भन्दैछन् । प्रधानमन्त्रीज्यू, शब्द यौटा पशुपति भन्ने मान्छेले संयोजन ग¥यो तर त्यहि बास्तबिक पीडाले तपाईंका जनता आक्रान्त छन् । तपाईंलाई साँच्चै सहयोग गर्ने मान्छेहरुले तपाईंले गरेका राम्रा कामको सम्मान गर्छ र नराम्रा कामको विरोध पनि गर्छन् । यसका लागि तयार रहन लगाउनुस् आफ्ना कार्यकर्ताहरुलाई । साँच्चै हो तपाईंलाई सिंहासनमा राखेर यमराजले शासन गरिरहेजस्तो लाग्छ यहाँ । न छोरीचेलीहरु सुरक्षित छन् न सुशासन छ । न कार्यकर्ताहरुमा अनुशासन । जताततै लुट छ, प्रधानमन्त्रीज्यू । सानो सानो काम गर्दिएको बहानामा तपाईंका कार्यकर्ता जनतासँग दक्षिणा लिन्छन्, त्यसलाई लुट भन्नेकि टिकाटालो ? हरेक सरकारी कर्यालयमा कमिसनबिना काम नै हुँदैन ।

जग्गा दलालदेखि हरेक ठाउँमा राजनीतिक बिचौलियाहरुको जगजगी छ । शिक्षा र स्वास्थ्यजस्ता जनतासँग प्रत्यक्ष जोडिएका विषयमासमेत अचम्मको कमिसनतन्त्र छ । केही गरौं भन्नेहरुलाई अनेक नाकाबन्दी छ । अनावश्यक विवाद सिर्जना गरिदिएर राजनीति गर्ने हौं भन्नेहरु दुःखसुख लतारिएका संघ संस्थासमेत बन्द गराउने अभियानमा छन् । देशका युवाशक्ति आज पनि विदेशी भूमिमा पसिना बगाएर परिवारलाई दुइ छाकको जोहो गर्न विवश छन् ।


यो विकराल विसंगतिलाई शब्दमा उतारेर कलाकारले ब्यङ्गय ग¥यो भन्दैमा कचहरी लगाउनुको कुनै अर्थ छैन । सबैकुरा एकै चोटी सम्भव पक्कै पनि छैन । विकास विस्तारै हुँदैजाने हो, तपाईंहरुले प्रयत्न पनि गरिरहनु भएको छ । र पनि तपाईंहरुको नाम लिएर आफ्ना धन्दा चलाउनेहरुले साँच्चै देश लुटेका छन्, प्रधानमन्त्रीज्यू । त्यसैले आफ्ना बनेर सिध्याउन खोज्नेहरुसँगसचेत हुनुस् । अनावश्यक चाकरी गरेर आफ्ना पोटली भर्नेहरुको घेराबन्दीबाट बाहिर आएर पशुपतिले समायोजन गरेका शब्दहरुसँग देशको अवस्थाले मेल खान्छ या खाँदैन हेर्नसक्ने, बुझ्नसक्ने, ती समस्याको समाधान गर्नसक्ने हिम्मत राख्नुस् । सुधार गर्नु पर्ने आज पशुपति शर्माका शब्दमा हैन, तपाईंका कार्यकर्ताका व्यवहारमा छ । जब आफूले राम्रो गरिन्छ भने समाज र देशले राम्रोलाई पक्कै पनि राम्रो भन्नेछ । तर फिल्डमा आज राम्रो भन्न सकिने केही देखिंदैन ।


दुइजना पाइलटले बोकेको यो विशाल यानभित्र तितेपाती र ज्यानमारा झारको प्रकोप बढ्दै जाँदा एकताका विम्बहरु समेत ढलमलाउन सक्ने खतरा पनि उत्तिकै छ । देश चलाउनेहरुले जनताको विरोध किन त भनेर आफूहरुलाई सुधार गर्ने, आफ्नो शासकीय संरचना बदलेर जनताको मनजितेर जाने अभियान चलाउने कि शब्दको विरोध गर्ने ?


साँच्चै हो, प्रधानमन्त्रीज्यू, आज पनि गाऊँ शहर अस्तब्यस्त छ । सडकमा ट्राफिक लाइटको बिजोग छ । अख्तियारमा समेत लुट छ । जनताको सुरक्षा गर्नेहरुलाई मनपरी गर्न पनि छुट छ । काम गरेर खानेहरुको बिजोग छ । आफूले टेकेको धरातल बिर्सेर जब राजनीतिलाई मागी खाने भाँडो बनाइन्छ, त्यहाँ शब्दमा लडाइँ हुने गर्छ । जहाँ मनबाटै समर्पित बनेर जनताको सेवा गर्न तत्पर बनिन्छ, त्यहाँ शब्दको लडाइँ हैन, विकास र समृद्धिको बहस हुने गर्छ ।


पशुपति शर्माको गीत त वर्तमान अवस्थाको सानो विम्बमात्र हो । यसको मतलब तपाईंहरुले गलत गर्नु भा’छ भन्ने हैन । तपाईंहरुले जे गर्न खोज्नु भा’छ समाजमा त्यसको उल्टो भैरा’छ । साँच्चै हो, प्रधानमन्त्रीज्यू !! जताततै जेमा पनि लुट छ । आशा छ, हामीले विरोध तपाईंहरुको गलत कामको गर्ने छौं, जसलाई सुधार गरेर देशमा सुशासन र समृद्धि ल्याउने काम तपाईंहरुले गर्नु पर्नेछ । घेरा तोड्ने हिम्मत गर्नुस् प्रधानमन्त्रीज्यू, देश त तपाईंकै साथमा छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

‘अमेरिकी सेनाले मार्च पास गरेको’ भन्ने अभिव्यक्तिको आरोपमा दुर्गा प्रसाईं फेरि पक्राउ

राजमार्गमा स्थानीय तहले कर उठाउन नपाउने सर्वोच्चको अन्तरिम आदेश

सम्बन्धित

ओपनएआईले फेसबुकले गरेका गल्तीहरू दोहोर्‍याउँदैछ

‘नेपालमा नियन्त्रित अस्थिरताको राजनीति’

जनयुद्धको तीन दशक : उपलब्धि, अवसर र अपूरा प्रश्नबीच माओवादीको यात्रा

प्रणय दिवसको बहस: संस्कृतिको संकट कि भावनाको स्वतन्त्रता?

“भ्रष्टाचार नियन्त्रण र सुशासन” — निर्वाचनको प्रमूख एजेन्डा कहिले बन्छ ?

एआई त्रियामिक अरुचिपूर्ण रोजाईः क्रान्तिकारी प्रविधिलाई कसरी नियमन गर्ने ?

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com