
काठमाडौं, ५ फागुन । संघीय संसदको सुनुवाइ समितिले विभिन्न पाँच संवैधानिक आयोगका प्रस्तावित अध्यक्षविरुद्ध परेका उजुरी आज (आइतबार) हेर्ने भएको छ। अहिले बिहान सिंहदरबारमा बस्ने सुनुवाइ समितिको बैठकमा उजुरीको पोको खोल्ने कार्यसूची रहेको संघीय संसद सचिवालयले जानकारी दिएको छ।
अन्य चार जनाविरुद्ध कुनै उजुरी नपरे पनि मुस्लिम आयोगका प्रस्तावित अध्यक्ष समिम अन्सारी विरुद्ध नामे, बेनामे र सामूहिक गरी चारवटा उजुरी परेका छन्।
आज उजुरी खोलेर उजुरी कर्तासँगको छलफल मिति तय गर्ने बताइएको छ। समितिले पाँच वटै आयोगका प्रस्तावित अध्यक्षविरुद्ध उजुरी दिन १० दिनको समय दिएको थियो।
यही गत माघ ६ गते बसेको संवैधानिक परिषदको बैठकले मुस्लिम आयोगमा समिम, राष्ट्रिय प्रकृति तथा वित्त आयोगमा बालनन्द पौडेल, राष्ट्रिय समावेशी आयोगमा शान्तराज सुवेदी, मधेसी आयोगमा विजयकुमार दत्त र थारु आयोगमा विष्णुप्रसाद चौधरीको नाम सिफारिस गरेको थियो।
कांग्रेसले भने प्रमुख प्रतिपक्षी दलको अनुपस्थितिमा संवैधानिक परिषदको बैठकले संवैधानिक आयोगको अध्यक्ष सिफारिस गरेको भन्दै असन्तुष्टि जनाइरहेको छ। समितिको आजको बैठक पनि बहिष्कार गर्ने कांग्रेसको तयारी छ ।
प्रतिक्रिया दिनुहोस्