काठमाडौं , १ फागुन । प्रमुख सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी नेकपाले बुधबार जनयुद्ध दिवसको अवसरमा देशभर कार्यक्रम गर्दैछ । दिवसको अवसरमा पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा बिहान साढे १० बजेपछि पुष्पकमल दाहाल ‘प्रचण्ड’सहित शीर्ष नेताहरूको उपस्थितिमा श्रद्धाञ्जली कार्यक्रम हुँदैछ ।
१० बजेका लागि तय गरिएको कार्यक्रममा अध्यक्ष प्रचण्ड सहभागी हुँदैछन् । अर्का अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली भने आजको कार्यक्रममा सहभागी हुने छैनन् । प्रधानमन्त्री ओली रोजागर कार्यक्रममा जानुपर्ने भएकाले पार्टी कार्यालयमा उपस्थित हुन नसक्ने जानकारी गराएको नेकपाले जनाएको छ ।

जनयुद्ध सुरु भएको दिन फागुन १ गतेको सम्झनामा जनयुद्ध र जनआन्दोलनका शहीदको सम्मानमा पहिलोपटक कार्यक्रम गर्न लागेको नेकपाले जनाएको छ । यसअघि तत्कालीन माओवादी घटक दलले फागुन १ गते मा आ–आफ्नै तरिकाले जनयुद्ध दिवस मनाउँदै आएका थिए ।
यस्तै माओवादीबाट विभाजित पार्टीले पनि बुधबार जनयुद्ध दिवस मनाउँदैछन् । मोहन वैद्य किरण नेतृत्वको क्रान्तिकारी माओवादीले केन्द्रमा शान्तिबाटिकामा कार्यक्रम गर्दैछ भने नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाले पनि शान्तिबाटिकामै जनयुद्ध दिवस मनाउने भएको छ ।



















प्रतिक्रिया दिनुहोस्