
काठमाडौं,२ माघ । नयाँ शक्ति पार्टी, नेपालका संयोजक डा. बाबुराम भट्टराईले वाईडबडी विमान खरिद प्रकरणमा सत्तारुढ नेकपा र प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसका मुख्य नेताहरु नै संलग्न रहेको आरोप लगाउनु भएको छ ।
पूर्व प्रधानमन्त्री समेत रहनु भएका संयोजक भट्टराईले प्रधानमन्त्री केपी ओली र काँग्रेस सभापति शेरबहादुर देउवाबीच सो प्रकरणलाई ढाकछोप गर्ने सहमति भएको दावी समेत गर्नु भयो ।
बुधबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उहाँले संसदीय समितिले सो विमान खरिदमा ठूलो आर्थिक घोटाला भएको विवरण बाहिर ल्याएपछि प्रधानमन्त्री ओली र प्रमुख प्रतिपक्ष दलका नेता देउवाबीच सो प्रकरणलाई ढाकछोप गर्ने सहमति भएको पनि बताउनु भयो ।
नयाँ शक्ति पार्टी, नेपालले वाईडबडी विमान खरिदमा भएको भ्रष्टाचारमा संलग्नलाई कार्वाहीको दायरामा ल्याउन सडक र सदन दुवै ठाउँमा संघर्ष गर्ने घोषणा पनि गरेको छ ।
संयोजक भट्टराईले सो काण्डमा मुछिएकाहरुलाई कार्वाही गर्न आफ्नो पार्टीले सडक र सदन दुवै ठाउँमा संघर्ष गर्ने पनि बताउनु भयो ।
वाईडबडी विमान खरिदमा करिव ४ अरव ३५ करोडको भ्रष्टाचार भएको ठहर संघीय संसदको सार्वजनिक लेखा समितिले गरेको थियो । संयोजक भट्टराईले सो काण्डमा भएको भ्रष्टाचार विरुद्धको आन्दोलनमा सहभागी हुन पनि सबैलाई आह्वान गर्नु भयो ।



















प्रतिक्रिया दिनुहोस्