बुटवल, ३० पुस ।
प्रदेश नम्बर ५ सरकारका मुख्यमन्त्री शंकर पोखरेलले थारु, मगर तथा हिन्दुहरुको पर्व माघे संक्रान्तीका अवसरमा चियापान सहित शुभकामना आदान प्रदान कार्यक्रम आयोजना गर्नुभएको छ ।
थारु बाहुल्यता रहेको ५ नम्बर प्रदेशको राजधानी बुटवल स्थित मुख्यमन्त्री निवासमा आयोजना गरिएको चियापान तथा शुभकामना आदानप्रदान कार्यक्रममा प्रदेशसभाका सभामुख पुर्ण घर्ती उपसभामुख कृष्णी थारु, प्रदेश सरकारका मन्त्री, तथा प्रदेश राजधानीमा उपस्थित सांसदहरु सहित उच्चपदस्त अधिकारीहरुको उपस्थिती रहेको थियो ।
शुभकामना तथा जलपान कार्यक्रममा बोलदै मुख्यमन्त्री पोखरेलले संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधानले सबै जाति र समुदायको उत्थान र विकासको लागि ढोका खोलेको उल्लेख गर्दै अल्पसंख्यक, आदिवासी, जनजाति र पछाडि पारिएका जाति तथा समुदायको उत्थानका लागि संवैधानिक रुपमै आयोग गठन गर्ने व्यवस्था गरेर सबैप्रति सम्मान व्यक्त गरेको बताउनुभयो ।
प्रदेश सरकारले माघी पर्वलाई मध्यनजर राख्दै प्रदेशमा माघ १ र २ गते सार्वजानीक बिदा दिने निर्णय गरेको छ । थारु बाहुल्य रहेको दाङ, बांके, बर्दियामा थारु समुदायले ३ दिन सम्म माघी पर्व मनाउने गर्दछन् । थारु समुदायमा माघे संक्रान्तीसंगै थारु सम्बत २६४२ को सुरुभएको छ । प्रदेश कै पाल्पा,रोल्पा रुकुम लगायतका जिल्लामा मगर समुदायले माघीलाई बिशेष पर्वकारुपमा मनाउने गरेकाछन् । शुभकामना कार्यक्रममा थारु कलाकारहरुले विविध कार्यक्रम समेत प्रस्तुत गरेका थिए ।
प्रतिक्रिया दिनुहोस्