
काठमाडौं,३० पुस । नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले पार्टी सभापति शेरबहादुर देउवा बाइडबडी विमान खरिद प्रकरणमा संलग्न रहे-नरहेको छानवीन गर्न सरकारसँग माग गर्नु भएको छ ।
काँग्रेस वरिष्ठ नेता पौडेलले सभापति देउवाले आफू सो प्रकरणमा संलग्न नरहेको जवाफ दिईसकेको उल्लेख गर्दै राज्यले छानवीन गरी सो सम्बन्धमा तथ्यतथ्य पत्ता लगाउनुपर्ने माग गर्नु भएको हो ।
सोमबार सिंहदरबारस्थित पार्टी संसदीय दलको कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै उहाँले छानवीन समितिले सो सम्बन्धमा यथार्थ कुरा बाहिर ल्याउनुपर्ने पनि स्पष्ट पार्नु भयो ।
वरिष्ठ नेता पौडेलले सरकार विकास नभई विनाशको बाटोमा अघि बढिरहेको दावी गर्दै आफ्नो पार्टीलाई सैह्य नहुने चेतावनी पनि दिनु भयो । मुलुकको शान्ति सुरक्षा, सुशासन र विकास तीन वटै काममा सरकार पूर्णत असफल भएको वरिष्ठ नेता पौडेलको दावी छ ।
उहाँले तनहुँको दुलेगौडामा स्थापना गरिएको गिरिजाप्रसाद कोइराला श्वासप्रश्वास केन्द्र र बाँकेस्थित सुशील कोइराला मेमोरियल क्यान्सर अस्पताल विघटन गर्ने तयारीमा सरकार रहेको उल्लेख गर्दै त्यसो गरे सरकारविरुद्ध कडा कदम चाल्न बाध्य हुने चेतावनी पनि दिनु भयो ।
वरिष्ठ नेता पौडेलले निर्मला हत्याकाण्डमा ठूलै व्यक्तिको संलग्नता रहेको आशंका गर्दै त्यसलाई छानवीन गर्न नसकेकोमा पनि सरकारको चर्को आलोचना गर्नु भयो ।



















प्रतिक्रिया दिनुहोस्