अहिलेको बहस हेर्दा महिला मान्छे हुन या साधन ?



शारदा शर्मा

शारदा शर्मा

अनेक कुराहरुमा बहसहुँदै जाँदा कतिले आमालाई,कतिले छोरी चेलीलाई,कतिले श्रीमती,भाउजुहरुलाई ,कतिले आँफुजस्तै अर्की महिलालाई त कतिले आँफुलानै साधनको रुपमा प्रस्तुत गरेको देख्दा निकै दुख लाग्यो। यति धेरै बहसहरुको केन्द्रबिन्दु बनेको स्वतन्त्रता र खुसी आखिर कसरी प्राप्त हुन्छ र यसका आधारहरु के हुन म अलमलमा परे ।

ऐना अगाडी उभिएर आँफुलाई तलदेखी माथिसम्म हेर्दा अंह कुनै कारण पनि आँफुलाई मूल्य लगाउने वस्तुको रुपमा मान्नै सकिन । बरु अलि बढीनै घमण्ड चढ्यो । बच्चा जन्माउन सक्ने क्षमता राख्छु । उसलाई दुधचुसाएर बढाउन सक्ने सक्षम मान्छे हुँ म । घर, अफिस छोराछोरी सबैलाई ब्यालेन्समा राखेर अगाडि बढ्नसक्ने यतिधेरै पावर भएका हामी कसरी साधन हुनसक्छौ ? आँफु विनाको घर सम्झे । श्रीमानलाई पनि कम आँक्नै सकिन । प्राकृतिक रुपमै बराबर जिम्मेवारी छ, हामीमा अनि को बलियो र कम्जोर को त कुरै आउँदैन । फेरि बिभेद कहाँनेर बाट शुरु भयो त ? रामायण पुरै पढिसकेर र हेरिसकेर सिताको अग्नि परिक्षा गलत रहेछ त्यो अग्नि परिक्षानै थिएन भनेर सम्झिँरहँदा आँफुलाई सिता र श्रीमानलाई राम नै जस्तो देखे । आखिर कुरा सोच र बिचारको न हो ।

बिभेद सोचमा देखेँ, बिभेद बिचारहरुमा देखे । स्वतन्त्रताको लागि ग्लामर खोजिरहेको दुनियामा एकैछिन आफुलाई पछेउराले मात्र ढाकेर आँफुभित्रै ग्लामर पनि खोजेँ । सायद मलाई देखेर अनि मेरो ग्लामर देखेर जिस्काइरहेको ऐनाले मेरो सोचको मापन गर्न सक्ने कुरा पनि त थिएन । अनेक कुराहरुले मन दुखिरहँदा न मेरो श्रीमान संग बच्चालाई चुसाउने दुध थियो, न बच्चा पेटमा राख्ने पाठेघर । जति स्वतन्त्रता र अधिकार दिन खोजे पनि उनले मलाई ति कुराहरुमा कसरी स्वतन्त्र राख्न सक्लान र खै ? कतै बाट पनि कुरा मिलेन । सोच, बिचार मुल्य मान्यता र प्रवृत्ति गत विभेदलाई जब लैङ्गिक विभेद देख्न थालियो समस्या त त्यहाँबाट शुरु भएको पो रैछ । मेरो सानो सोच भनौ या सही बिश्लेषण गर्न नसक्ने शक्ति । दुख लाग्यो । आँफुपनि महिला भएको कारण समाजमा बहस हुँदै गरेका धेरै कुराहरु मिथक लागे । र पनि यहाँ म मात्र मान्छे छैन । अनेक सोच बिचार र मान्यता बोकेकाहरु आ–आफ्नो बुझाई अनुसार बहसमा छन् ।

मान्छेको हैसियत उसको लवाई खुवाइमा हैन उसका शब्द शब्दमा छरिएर छरपष्ट बनिरहेको समयमा आफ्नै घर भित्र आफ्नै परिवार र छोराछोरीको अगाडि बाबु आमाको अगाडी श्रीमान श्रीमतीको अगाडी कसरी उभिदाहुँन मान्छेहरु । एकैछिन त लाज पनि लाग्यो । नियम, मान्यता अनुशासन, लाज र अनुशरण छ र त मान्छे छ । हैन भने त मान्छे र पशुमा फरकनै के त ? चर्चामा आउन हो या आफ्ना कुण्ठाहरु जाहेर गर्न चाहिरहेका छन आजका स्वतन्त्र मान्छेहरु ?

हरेक कुरालाई हेर्ने बुझ्ने र त्यसको ब्याख्या गर्ने नजर पनि फरक फरक छ । तर जतिधेरै फरक भएपनि सार त यौटै हुनु पर्ने हैनर ? समाजमा आज भैरहेका बहसहरु महिला र पुरुष अनि उनिहरु मिलेर बनाएको यूनिटीमा केन्द्रित भैरहेको समय त्यहाँ भित्र न्युनत्तम मुल्य मान्यताहरु अनि नियम र अनुशासन लागु हुनु पर्नेकी नपर्ने ? सायद दुनियाँ बुझ्ने सामार्थ्य नभएर नै होला मलाई स्वतन्त्रता र खुसीका आजका बहसहरु पटक्कै मन परेनन् । नैतिक धरातल बिर्सिएर खोजिने स्वतन्त्रता अनि आत्म नियन्त्र गर्न नसकेर बनेका क्षाणिक खुसीहरु कति दिगो रहन सक्छन ? के यस्तै कारणले त बिघटनमा छैनन् संस्थाहरु ।

न्युनत्तम नियम र अनुशासन बिना कुन संस्थाहरु टिक्न सकेका छन ? जब मानिसले आँफुलाइनै नियन्त्रण गर्न नसकेर अगाडी बढ्दै जान्छ भने मान्छे र जनावरमा फरक के ? अचम्म लाग्यो आँफैलाई जन्माएकी आमाको आडैमा बसेर महिलाहरुलाई साधन सम्झिने प्रवृत्ति देखेर । श्रीमतीको आडैमा बसेर अनेक श्रीमती जोड्न सक्थें भन्दै अरुलाई देखाउनकै लागि गरिएको ठट्टा देखेर ।

असाध्यै दुख पनि लाग्यो एक्काईसौं शताब्दिमा आउँदा समेत भैरहेको यो उपहास देखेर । के यो सब जायज छ ? महिलाहरु मान्छे हौं या साधन ? हामीलाई आडैमा राखेर हाम्रै भाइछोराले थोक र होलसेल चलाउने कुरा सजिलै गर्न सक्ने ? जब सम्वन्धित पक्षमा नै आँफुप्रति बिस्वास छैन भने अरुले त्यो पक्षलाई बिस्वास गर्दिनु पर्छ भन्ने पनि त कहाँछर ? आफ्नै सवालमा उठेका बहसहरुलाई समेत हामी स्वार्थ अनुकुल ब्याख्या गर्दछौ भने हामीले कस्तो अधिकारको कल्पना गर्दैछौं ? यहाँ दास्रो बिहे गरेकी महिलाको आफ्नै ब्याख्या , रिलेसनमा रहेकी महिलाको आफ्नै ब्याख्या, दुख पाएकी महिलाको आफ्नै ब्यख्या , अरुको श्रीमान संग सम्वन्धमा रहेकीको आफ्नै ब्याख्या , बिज्ञापनमा खेल्नेको आफ्नै , घरवाली, बाहरवाली सबैका आ–आफ्ना ब्यख्या । स्वतन्त्रता र खुसीको ब्यख्यामा हामीले जव ब्यक्ति अनुसारका ब्यख्या गर्छौ भने जहाँ छौ त्यही खुसी बनौन त ।

हैन भनेत मुख्य एजेण्डामा आउनु पर्योनी । सही के र गलत के हो भन्नेमा । नियम र अनुशासनले पक्कै पनि लैङ्गिक बिभेद गरेका छैनन् । विभेद त हाम्रो सोचमा रैछ । हाम्रो मान्यतामा रैछ । के बिहे गरेर बस्ने सबै दुखी छन ? के लिभिङ टुगेदर भन्नेहरु सबै खुसी छन् ? सामन्य नियम र अनुशासन बिना जीवन अगाडी बढाउछौ भनेर स्वतन्त्रताको सिंढी चढिरहेका धेरै मानिसहरुले डिप्रेशनको औषधी खानुपरेको वर्तमानमा बिना सहमति बिवाहमा घचेटिएका हरु पनि यसबाट मुक्त छैनन् ।

यहाँ खुट्टा भएपछि जुत्ता कति कति भनेर आँफैलाई जुत्ता सम्झिने बिद्वान महिलाहरुको पनि कमि छैन । खुसी र स्वतन्त्रतालाई नबुझेकै कारण महिलाहरुले आँफुलाई मान्छे हैन वस्तुको रुपमा सम्झिदै गर्दा पक्कैपनि महिलाहरु आधुनिक मेशिन र सुन्दर चिज बनिरहेका छौ । मान्छेको उत्पत्ति, समाजको बिकास अनि न्युनत्तम अनुशासन र अनुसरणलाई नबुझ्ने महिला होस या पुरुष ती दुबै खुसी र स्वतन्त्र छैनन्। चेतना, भाव र मुल्यहरुको कारण मान्छे अरु प्राणी भन्दा फरक हो ।

जहाँ भावनै छैन चेतनानै छैन त्यहाँ मान्छेत पशुनैत हो ।मान्छेले आफुलाई पशु बनाउने या चेतनशिल मान्छे आफ्नो कुरा हो । स्वतन्त्रता र खुसीलाई कसरी बुझ्ने ? त्यो पनि मान्छेको आफ्नो कुरा हो।के जे पनि गर्ने जहाँपनि जानसक्ने मनलागेको गर्नु स्वतन्त्रता हो? के अनियन्त्रित मनले चाहेका कुरा एकैछिन प्राप्त गर्नु खुसी हो ? न्युनत्तम मुल्यमान्यता र अनुशासनमा रहेर प्राप्त गरिने खुसी खुसी हुन्छ भन्ने मान्यता बोक्ने मेरोलागी समाजमा चलिरहेका बहसहरु मिथक लाग्नु स्वभाभिक ठानेँ ।

पश्चिमा समाजमा समेत स्वतन्त्रता, खुसी र परिवारको बिषयमा भैरहेका बहसहरु अनि बर्तमानका नाटकिए सम्वन्ध र स्वतनत्रताको लागि हिडेका हौ भन्ने डिप्रेशहरुको अगाडी आफैलाइ धेरै फ्रेस देखेँ । खुसी आफुले महसुस गर्न सक्ने भाव हो । अनि स्वतन्त्रता अनुशासन र नियममा रहेर आफुले गर्ने काम हो भनेर सोच्ने मेरोलागी अनौठा पनि लागे यि बहसहरु । आफ्नै बिच चलिरहेका मनोगत लँडाइहरुमा बस्तुजस्तै बनाइएर पेस गरिएका आँफुजस्तै महिलाहरुप्रति दुख पनि लाग्यो ।

सोचेँ हैन यो रमाइलोको लागि गरिएको नाटक थियो या बस्तुनै सम्झेर गरिएको चर्चाको ब्यापार ? गलत कुराहरुलाई हटाउदै राम्रा र सही कुराहरुको अनुसरण गर्नु सबैको लागि महत्वपुण पक्ष पनि हो ।

मुख्य कुरात हामी महिलाहरुले आँफुले आँफुलाई साधन र बस्तु नसम्झिउ । जसको मजाक र मुल्य गर्न हाम्रा भाइ छोराहरुले नपाउन । मजाकको पात्र नबनौ । आजको बहस हेदा त हामी मान्छे नभएर साधन हौ । साधन जतिपनि खरिद गर्न सकिन्छ अनि साधनको मुल्य निर्धारण सजिलै हुन्छ । स्वतन्त्रता र खुसी भन्दै बिना गन्तब्यकाो यात्रा शुरुनै नगरौं ।

खुसी अनुसशासनमै रहेर खोजौ । न सुन्दरता गुम्ने डरले बच्चालाई दुध नचुसाउने महिला खुसी र स्वतन्त्र भएकी छ न धेरैसंग रिलेसनमा छु भन्ने पुरुषनै । न बिहे नगरी चलेको लिभिङ टुगेदरका यात्री खुसी रहन सकेको अवस्था छ, न जो संग जे गर्न पनि सक्छु भन्ने सोच बोकेको मान्छे । खुसी त हाम्रो सोचमा छ । हाम्रो भाव मा छ । हामीले महसुस गर्ने आभाषमा छ । कसरी भन्ने पनि स्यंमको कुरा हो । जस्ले आँफैलाई सम्मान गर्न सक्दैन , आफ्नाहरुलाई सम्मान गर्न सक्दैन उ खुसी र स्वतन्त्र रहनै सक्दैन । बिरोध प्रवृत्तिको गरौ बिरोध गलत कुराको गरौ । बहस समस्याहरुको बिषयमा चलाउँ , बहस प्रवृतिहरुको बिषयमा चलाउँ ।

बहस इथिक्समा रहेर चलाउँ अनुशासनमै रहेर चलाउँ । आँफैले लेखेका शब्दहरुले, आँफैले चलाएका बहसहरुले आँफु सामेल भएर गरिएका कुराहरुले एकदिन आँफैलाई सिकन्जा कस्ने दिन आयो भने हामी कसरी स्वतन्त्र मान्छे बन्न सकौंला र ? आवेगमा आएर संयोजन गरिएका आफ्नै शब्दहरुले आफैलाई लाज हुनेगरी संजाल तताएर आखिर पाउने हामीले केनै होर ? कम्तिमा पनि हामीले चलाएका बहसहरुले अरुले थोरै केही सिक्न सकुन । आफ्नै आमाको अपमान गरेर आफ्नै श्रीमतीको मजाक उडाएर, आफ्नै श्रीमान र भाइछोराहरुको बिस्कुन लगाएर, आँफैलाई ठट्टाको पात्र बनाएर, आँफुजस्तै मान्छेलाई गिराएर, चलाएको बहस परिवर्तनको बहस हो या चर्चामा आउन पोखिएको कुण्ठा ? केही थाहै पाउन सकिन खै ।

 

    Comment Here!


सम्बन्धित समाचार

View All