
काठमाडौं,२५ पुस । वरिष्ठ चिकित्सक डाक्टर गोविन्द केसीले आफ्नो १६ औं अनशन सुरु गरेका छन ।
संसद्को शिक्षा तथा स्वास्थ्य समितिले राष्ट्रिय चिकित्सा शिक्षा विधेयक बहुमतले पारित गरेपछि केसीले इलाममा पुगेर अनशन थालेका हुन्।
उनी केही दिन अघिदेखि नै अनशन बस्ने उद्देश्यका साथ इलाममा पुगेका छन्। केसीले एक विज्ञप्ति जारी गर्दै आफ्नो १५ औं अनशनका क्रममा साउन १० गते सरकारसँग भएका सहमति बमोजिक चिकित्सा शिक्षा विधेयक आउनुपर्ने मुख्य माग राखेका छन्।
उनले गौरीबहादुर कार्कीको आयोगले दोषी ठर्हयाएकाहरुलाई कारबाहीसमेत गरिनुपर्ने माग गरेका छन्। ‘अराजकता, दण्डहीनता र भद्रगोलताको जिम्मेवारी प्रधानमन्त्रीले लिनुपर्छ,’ केसीले विज्ञप्तिमा भनेका छन्,।
‘प्रधानमन्त्रीको गहन शारीरिक समस्या तथा त्यसको उपचार पद्धतिका दुष्प्रभावहरुका कारण निर्णय क्षमतामा असर परेको जस्तो देखिनु दुर्भाग्यपूर्ण हो ।’
साथै केसीले सातै प्रदेशमा सरकारी मेडिकल कलेज खोल्नुपर्ने, निर्मला पन्तका हत्यारालाई कारबाही गर्नुपर्ने र काठमाडौं विश्वविद्यालयले तोकेको शुल्क तत्काल फिर्ता गरि दोषीलाई कारबाही गर्नुपर्ने समेत माग गरेका छन्।
समितिमा पास भएको विधेयकले काठमाडौं बाहिर मेडिकल कलेज खोल्न सकिने र काठमाडौं भित्र मनसाय पत्र पाएकालाई बाहिर सार्न सकिने व्यवस्था गरेको छ ।
समितिले बहुमतका आधारमा विधेयक पास गरेको थियो। विधेयक पास भएसँगै केसीले प्रतिक्रिया दिँदै अब आफू ओली प्रचण्डका विरुद्धमा लड्ने बताएका थिए।



















प्रतिक्रिया दिनुहोस्