कैलाली, १३ पुस । प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले सर्वसाधारणको मनमा हाम्रो प्रहरी, राम्रो प्रहरी भन्ने सोंच आउने किसिमले सभ्य व्यवहार प्रस्तुत गर्दै उत्कृष्ट काम गर्नुपर्ने बताउनु भएको छ ।
सुदूर पश्चिम प्रदेश प्रहरी कार्यालय दिपायलको सम्पर्क कार्यालय धनगढी कैलालीमा शुक्रबार उपस्थित प्रहरी अधिकृत तथा जवानहरूलाई निर्देशन दिँदै प्रहरी महानिरीक्षक खनालले उक्त कुरा बताउनुभएको हो ।
प्रहरीको आचरण व्यवहार सदैव सभ्य, शिष्ट र असल हुनुपर्ने उल्लेख गर्दै प्रहरी महानिरीक्षक खनालले प्रहरी देखेमा अपराधी डराउने र सर्वसाधारण खुशी हुने किसिमका कार्य गर्नुपर्ने बताउनुभयो । गलत कार्य गर्ने र प्रहरीलाई बदनाम बनाउन खोज्ने तत्वसँग सजग रहन र अझै निडर भएर त्यस्ता तत्वको सामना गर्नुपर्नेमा उहाँले जोड दिनुभयो ।
अनुसन्धानमा खटिने प्रहरी कर्मचारीहरू तत्काल घटनास्थल पुग्ने अवस्थामा तैनाथ रहनुपर्ने उल्लेख गर्दै प्रहरी महानिरीक्षक खनालले हरेक घटनाको अनुसन्धानमा नवीन तरिका अपनाई राम्रो काम गरी सफलता हासिल गरेरै देखाउने सोचका साथ काम गर्नुपर्ने बताउनुभयो ।
महिला हिंसा, चोरी, डकैती, गुण्डागर्दी लगायतका अपराधिक गतिबिधिमा तत्काल प्रतिक्रिया जनाई अपराधीलाई कारर्वाहीको दायरामा ल्याउनुपर्नेमा उहाँले जोड दिनुभयो ।
हरेक प्रहरी कर्मचारीहरू संगठनको नीति अनुसार चल्नुपर्ने र अझै राम्रो गर्छु भन्ने सोचको विकास गरी काम गर्नुपर्ने प्रहरी महानिरीक्षक खनालले वताउनुभयो । कार्यालय व्यवस्थापन, सरसफाईदेखि आफ्नो व्यक्तित्व झल्किनेतर्फ समेत ध्यान दिनुपर्ने उहाँले चर्चा गर्नुभयो ।
उक्त अवसरमा सुदूर पश्चिम प्रदेश प्रहरी कार्यालय दिपायल, संघीय प्रहरी ईकाई कार्यालय धनगढी, सशस्त्र प्रहरी गण मुख्य कार्यालय धनगढी, सुदूर पश्चिम ट्राफिक प्रहरी कार्यालय कैलाली र जिल्ला प्रहरी कार्यालय कैलाली तथा मातहत कार्यालयमा कार्यरत प्रहरी अधिकृत तथा जवानहरूको उपस्थिति रहेको थियो ।
प्रतिक्रिया दिनुहोस्