झापा,१३ पुस । ६२ औं जिल्लाको रुपमा प्रधानमन्त्री केपी शर्मा ओलीको गृह जिल्ला झापा खुल्ला दिसामुक्त घोषणा भएको छ ।
जिल्ला खानेपानी, सरसफाइ तथा स्वच्छता समन्वय समिति झापालाई प्रदेश समितिले स्वीकृतिपत्र प्रदान गरेपछि शुक्रवार एक भव्य समारोहका बिच झापालाई खुल्ला दिसामुक्त घोषण गरिएको हो ।
समारोहका प्रमुख अतिथि प्रतिनिधिसभाका उप–सभामुख शिवमाया तुम्बाहाम्फेले फुलको बिरुवामा पानी हाल्दै झापा खुल्ला दिसामुक्त भएको घोषणा गरेकी थिइन् ।
कार्यक्रममा उप–सभामुख तुम्बाहाम्फे र राष्ट्रिय खानेपानी तथा सरसफाई समन्वय समितिका अध्यक्ष मनोज घिमिरेले संयुक्त रुपमा झापा खुल्ला दिसामुक्त घोषणा भएको प्रमाणपत्र जिल्ला खानेपानी, सरसफाइ तथा स्वच्छता समन्वय समिति झापाका अध्यक्ष एवम् जिल्ला समन्वय समिति झापाका प्रमुख सोमनाथ पोर्तेललाई हस्तान्तण गरेका थिए ।
सोही कार्यक्रममा छोटी समयमा सबै भन्दा धेरै चर्पी निर्माण गर्न सफल भएको भन्दै झापाका १५ वटा स्थानीय तहमध्ये कमल गाउँपालिकाका अध्यक्ष मेनुका काफ्लेलाई खानेपानी, सरसफाइ तथा स्वच्छता समन्वय समितिले अवार्ड प्रदान गरेका थिए ।
साथै जिल्लालाई खुल्ला दिसामुक्त बनाउन सहयोग पुर्याउने स्थानीय तह, कर्मचारी, विभिन्न संघसंस्था र सञ्चारकर्मी लगायतलाई प्रमाणपत्र प्रदान गर्दै सम्मान गरिएको थियो ।
खानेपानी, सरसफाइ तथा स्वच्छता समन्वय समिति झापाका अध्यक्ष सोमनाथ पोर्तेलको अध्यक्षता भएको कार्यक्रममा झापाको आधाररेखा सर्वेक्षणको क्रममा रहेका १ लाख ८२ हजार २ सय १५ घरधुरीमध्ये सबै घरधुरीमा नै अहिले चर्पीको बनेको छ ।
सर्वेक्षणको क्रममा चर्पी बन्न बाँकी देखिएका ३९ हजार २ सय ८७ घरधुरीमा नै सुरक्षित चर्पीको पहुँच पुगेपछि जिल्लालाई खुल्ला दिसामुत्त घोषण गरिएको समितिले जनाएको छ ।
कार्यक्रममा ग्लोबल श्यानिडेसन फण्ड कार्यक्रमका व्यवस्थापक सुधा श्रेष्ठ, नेपाली काँग्रेस झापाका उपसभापति राम कट्टेल, समन्वय समिति झापाका उपप्रमुख मीना पराजुली लगायतले मन्तव्य राखेका थिए ।
कार्यक्रमलाई भव्य बनाउन झापाका सबै स्थानीय तहबाट साँस्कृतिक झाँकी प्रस्तुत गर्नुका साथै राष्ट्रिय कलाकार गायक टीका भण्डारीले संगित र हास्य कलाकार राजा राजेन्द्रले सन्देश मुलक हास्य व्यङग प्रस्तुत गरेका थिए ।
प्रतिक्रिया दिनुहोस्