पहिला आफैले गरेको मनोरन्जनलाई पछि हिंसा नभनौं



सर्सती फेसबुक वाल हेर्दै थिएँ मेरो गाउँकी भाउजुको फेसबुक प्रोफाइलमा राखिएको मि टु मा आँखा परे । गाउँकी सोझी भाउजुले समेत मि टु राखेको देखेपछि पहिले त अचम्म लाग्यो अनि एकदिन साँझ खाइवरी फोन गरें– भाउजु तिमीले पनि मि टु राखिछौ नि, फेसबुकमा ?! केही बुझेर हो कि त्यसै राख्यौ ?
मेरो प्रश्न भुँइमा खस्न नपाउँदै उनले फुरुंग पर्दै भनिन्– किन नराख्नु आजकल यो त फेसनै हो नि नानी । तपार्इं काठमाडौंमै भएर पनि केही थाहा छैन कि क्या हो ? उनको कुराले मलाई अचम्म लाग्यो । के बुझेर राखेकी होलिन् उनले मि टु भनेर । तर गाउँमै मास्टरी गरेका केही जान्ने सुन्ने हुँ भन्ने मेरा दाइले त्यसपछि भाउजुलाई अलि फरक तरिकाले हेर्न थालेछन् ।

अलिदिनपछि भाउजु आफैंले फोन गरेर सुनाइन्, मैले फेसबुकमा मि टु राखेपछि त दाइ अलि फेरिएका छन् नानी । अचानक आँखा तर्दै मि टु फाल्न लगाए । अहिले पनि पहिला जस्तो फ्रेस छैनन् । मलाई पनि मि टु भन्ने त्यति थाहा थिएन पछि टेलिभिजन, पत्रपत्रिका हेरेरै थाहा पाएँ । तर बुझ्न सकिनँ खै किन हो हरेक कुराको विश्वव्यापी ह्वीम नै चल्छ आजकल ।

प्रविधिले निकै साँघुरिएको विश्वमा सम्वन्ध बनाउनेहरुले कहिले सडक, कहिले रेष्टुरेन्ट, कहिले घर र अनेक कुना कुना पनि तताएकै छन् । मि टु मि टु भनेर लाग्दा मलाई त्यति राम्रो ज्ञान पनि भएन । पहिला जे पनि गर्ने यौटा अवधि पूरा भए पछि मि टु भनेर बाहिर आउने ।

यो अधिकारभित्र पर्छ कि स्वतन्त्रताभित्र वा आचरण या अनुशासनभित्र पर्छ भन्ने थाहा नै भएन । खै किन हो समाजमा महिलाहरुपछि परेको कारण पनि यस्तै हुनकि जस्तो लाग्यो । एकजना महिलाले चाहे जे पनि गर्न सक्छे । तर समयको अनुकूलता र प्रतिकूलतालाई हेरेर जब ब्याख्या गर्न थालिन्छ, कुन कुरालाई साँचो मान्ने, कुनलाई झुटो !सहमतिमा गरे प्यार, पछि खटपट भयो त्यही व्यभिचार ! पुरुषलाई मात्र व्यभिचारी देख्ने समाजमा त्यसको अर्को पाटो महिला पनि हो भन्न कोही तयार छैनन् । महिलालाई मात्र चरित्रहीन देख्ने समाजमा त्यसको अर्को पाटो पुरुष हो भन्न कोही तयार छैन । पुरुष र महिला मिलेर बनेको समाजमा यहाँनेर आइपुग्दा ब्याख्यामा समस्या छ, विश्लेषणमा समस्या  छ ।

मैले शुरुदेखि नै उठाउँदै आएको कुरा पनि यही हो– पुरुषको तुलनामा महिलाहरु कुनै पनि हालतमा कमजोर छैनन् । कमजोर छ त हाम्रो सोच । कमजोर छ त हाम्रो मानसिकता । हरेक राम्रालाई राम्रा र नराम्रा पक्षलाई मान्छेका कमि–कमजोरी भनेर व्याख्या गरिन थालियो भने त्यहाँ समस्याको समाधान छ । पुरुष र महिला भनेर व्याख्या हुन थाल्यो भने त्यसको कुनै निकास नै छैन ।

राम्रो सबैलाई राम्रो हुन्छ अनि नराम्रो सबैलाई नराम्रो नै । तर यहाँ राम्रो र नराम्रोको ब्याख्यामा पनि महिला पुरुष भनेर छु्ट्टयाउने गरिन्छ । हामी महिलाको बिषयमा भएको पनि यही हो । अहिले चलेको मि टु अभियानमा पहिला हिंसामा परेकाहरु पनि अगाडि आऊ भनेर भनिरहँदा बीसौं बर्षअगाडि आफ्नो करियर बनाउन शहर पसेकी यौटी सक्षम केटी कसैको हिंसामा पर्छे त्यतिखेर बिरोध नगर्ने ! बिरोध गरे करियर खराव हुने, काम नपाउने । यस्तै काम नगरी कहाँ अगाडि बढ्न सकिन्छ र भनेर हरेक हिंसा सहमतिमै स्वीकार्न तयार हुने । जव समयले हरेक कुराको तय गर्छ पाउने कुरा प्राप्त भैसकेको हुन्छ, पैसा सम्पत्ति सबै हातमा हुन्छ या उमेरले पाको बनाइसकेको हुन्छ अनि हिंसामा परेको भन्न सुहाउँछ र भन्या ?

हुनत बीसौं बर्ष अगाडिका यस्तै घटनामा कतिपय मानिसलाई जेल सजाय भएका घटना पनि हामीले सुनेका छौं । किन आज ठाउँको ठाउँ विरोध गरांै भन्ने अभियान नभएर म पनि अर्थात् मि टु भनेर अभियान चलाउने ? यो कत्तिको न्यायसंगत कुरा हो ? यसले त हामी महिलालाई झनै कमजोर बनाउँदैन र ? आफ्नो स्वार्थ नमिल्ने समयसम्म मायाको नाममा, सम्वन्धको नाममा परपुरुषहरुको संगत गर्न समेतपछि नपर्ने अनि आफ्नो स्वार्थ पूरा भैसके पछि या स्वार्थ पूरा हुने नदेखेपछि हिंसा ग¥यो भन्न सुहाउँछ र ?

हामीले समाजमा हिंसा हुनै नदिने वातावरण बनाए कसो होला ? कुनै अमुक मान्छेले आफूलाई कसरी हेरेको छ भन्ने बुझ्न आजका नारीहरु सक्षम नै छन् । कोही छैनन् भने उनीहरुलाई पनि सक्षम बनाउने अभियान संचालन गरौं । समस्या त हिंसा भनेर नबुझेकै समयमा जस्तै काम गर्न घरमा राखेकी सानी नानी हिंसामा परिन् । उमेर भरिंदै जादा उनले आफूमाथि भएको हिंसाबारे बुझिन् भने त्यसलाई समाधान गर्नको लागि कानुनी बाटो खोज्नु स्वभाविक हो । यथार्थमा त्यस्तो परिवेशबाट गु्ज्रिएका पीडितहरुका लागि अभियान नै चलाउन पनि मिल्छ ।

तर बुझ्ने शिक्षित र आफूलाई सक्षम छु भनेर कुनै संस्थामा जागिर खान जाने अनि मन लागेसम्म उसको घर परिवार, श्रीमती छोराछोरी छ छैन या सिंगल हो कुनै मतलव नगरीकन आफ्नो फाइदा उठाउन खोज्ने अनि रीस उठेपछि हिंसा भन्ने ? मनोरञ्जन लिएर त्यसलाई हिंसा नभनौं न । हिंसा सहनै नसक्ने शब्द हो । कसैलाई पनि हिंसा कुनै प्रकारले पनि सैह्य हुनैसक्दैन ।

हिंसा बढेर अपराध बन्नथाल्छ । छलकपट, हिंसा र अपराधले मानिसलाई बिसर्जन बाहेक केही गर्नै सक्दैन । त्यसैले जागिर पाउनकै लागि हिंसा, पढ्नको लागि नै हिंसा कुनै काम गर्न सुरुवातमै हिंसा हुन्छ भने छोडौं त्यस्तो परिवेश । र, डटेर लडौं, त्यस्ता मान्छेहरुको बिरुद्धमा जसले हामीलाई हिंसाको माध्यमबाट आफ्नो वशमा राख्न चाहन्छन् । जहाँ हिंसा त्यहाँ प्रतिरोध भन्ने अभियान किन नचलाउने ? ।

यहाँ हरेक मान्छेको कामको खाँचो छ, क्षमतावान्को खाँचो छ । क्षमतावान् र काम गर्नेहरुलाई हिंसा सहन जरुरी पनि छैन । रातारात पैसा कमाएर देखासिकीको कृत्रिम जीवन बाँच्नकै लागि गरिने काम र सहने कुरालाई हिंसामा लिन थालियो भने त्यो त पक्कै स्वार्थ हुन्छ । कसैले फिल्म खेलाइदिन्छु भन्यो भने उसले गरेका सबै कुरा सहन तयार हुने अनि पूरा गरेन् भने त्यसलाई हिंसा भन्ने । कसैले जागीर लगाइदिन्छु भन्ला, कसैले तलब बढाइदिन्छु भन्ला, कसैले बिदेश घुमाउन लैजान्छु भन्ला । पहिले केही पनि नसोची सहमति जनाउने पछि त्यसलाई हिंसा भन्न जोसुकैले लाज मान्नु पर्छ ।

बिरोध त त्यतिबेलै गरौं न जब हामीलाई हिंसा भएको हामीले थाहा पायौं । हिंसाका अनेक रुप हुन्छन् । बोलीचाली ब्यवहारबाट नै हिंसाको आशय बुझ्न जरुरी छ । करिब २०/२२ बर्ष अगाडिको कुरा हो । म एकजना एनजिओ चलाउने आफूलाई निकै भद्र भन्ने पाको मान्छेकोमा जागिरको लागि कुरा गर्न गएँ । हाम्रो बिहे भैसकेको थियो ।

त्यहाँ गएर उनको अफिसमा बसेपछि उनले लम्बेतान कुरा गरे । हँसिलो मान्छे थिए उनी । भोलिपल्टैबाट मेरो जागिर पक्का हुने पनि भयो । तर जव अन्तिममा उनले मत हँसीमजाक गर्ने मान्छे, मेरा त दुइ श्रीमती छन् नि भनेर दुइ श्रीमती भएकोमा निकै गर्व देखाए । त्यसपछि म उनकोमा जागिरमै गइनँ । मैले बेलुकी घर फर्केर श्रीमान्लाई भने । कुनै प्रसंगबिना नै जब उनले दुइ श्रीमतीको कुरा ल्याए मलाई हजम भएन । मलाई उनका कति श्रीमती छन् जान्न जरुरी नै थिएन । मलाई जागिर जरुरी थियो जब मैले उनका कुरा सुनें उनको टोनमा मैले आज प्रयोग हुने शब्द हिंसा देखें हुँला । त्यसैले मलाई त्यहाँ जागिरको लागि जानै मन लागेन । त्यसैले चेतना भन्ने कुरा आफु भित्रको कुरा हो ।

मलाई उनले केही भनेका थिएनन् तर मलाई उनको कुरा राम्रो लागेन । जागिरकै लागि यौटा संस्थामा जाँदा उसको इमान हेर्न जरुरी छ, तर उसको छाडापन थाहा पाइराख्न र सहन हामीलाई जरुरी छैन । त्यसैले आफू सचेत बन्दा हिंसा रोकिन्छन् र आफूले चाल्ने गलत कदमबाट हिंसा बढ्न पनि सक्छ । मिलेर गर्ने समयसम्म अमिल्दा कुराहरुलाई पनि माया सम्बन्ध भन्ने र नमिल्दा र रीस उठ्दा हिंसा भन्न थालियो भने हामीप्रतिको विश्वास पनि कमहुँदै जान्छ ।

त्यसैले जब सबै एक भएर हरेक ठाउँबाट हामीमाथि हुने हिंसाको विरोध आजैबाट ठाउँको ठाउँ गर्न थाल्छौ पक्कै पनि यसको अन्त हुनेछ । हिंसाको अन्त्य गर्नको लागि पुरुष महिला दुबै बराबर लाग्न सक्छौं, यदि हामी र हाम्रो प्रवृत्ति हिंसक छैन भने । होइन भने त स्वार्थ मिश्रित मि टु अभियानले खासै केही हुनेवाला पनि छैन ।

    Comment Here!


सम्बन्धित समाचार

View All