
काठमाडौं,२९ मङसिर।नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कञ्चनकपुरकी निर्मला पन्तको हत्यारालाई सरकारले नै बचाउन खोजेको आरोप लगाउनुभएको छ ।
शनिबारदेखि राजधानी काठमाण्डौमा सुरु महासमिति बैठकको उद्घाटन सत्रलाई सम्बोधन गर्दै उहाँले शान्ति सुरक्षा कायम गराउन नसकेको सरकार स्वयम निर्मला पन्तको हत्यारा बचाउन लागि परेको दाबी गर्नुभएको हो ।
मुलुकभर हत्या हिंसाका घटना बढ्दै गएको तथा निर्मला पन्तको तस्वीर टाँस्नेलाई समेत नियन्त्रणमा लिने सरकारका क्रियाकलाप सर्वत्र आलोचित भएको उहाँले उल्लेख गर्नुभयो । संघियता नै असफल बनाउने षडयन्त्रमा सरकार लागेको पनि उहाँले दाबी गर्नुभयो ।
वर्तमान सरकारले जनतालाई लोकतन्त्रको उपहारको रुपमा मंहगी दिएको , बुढी गण्डकी आयोजना निर्माणको जिम्मा विना प्रतिष्पर्धा सुम्पिएको, मिडियामा हस्तक्षेप बढेको भन्दै उहाँले त्यस विरुद्ध शसक्त प्रतिकार गर्नुपर्ने बताउनुभयो ।
महासमिति बैठकबाट पार्टीलाई एकतावद्ध र संगठित बनाई बलियो प्रतिपक्षीको रुपमा मुलुकभर सरकारका क्रियाकलाप विरुद्ध आवाज बुलन्द पार्नुपर्नेमा पनि उहाँले जोड दिनुभयो ।
मुलुकका ठुला राजनीतिक परिर्वतनमा नेपाली कांग्रेसको ठुलो योगदान रहेको चर्चा गर्दै उहाँले आन्तरिक द्धन्द्धका कारण कतिपय अवस्थामा उम्मेदवारहरु पराजित हुनुपरेको यथार्थ भने स्वीकार गर्नुभयो ।
पार्टी भित्र विधि र पद्धतिलाई बलियो बनाउन नसक्दा पार्टी कै आन्तरिक कारण र आन्तरिक द्धन्द्धले उम्मेदवारहरु पराजित हुनुपरेको र एक पटक जित्ने र अर्को पटक हार्ने काम हुदै आएको पनि उहाँले उल्लेख गर्नुभयो ।
उहाँले पार्टी भित्र अनुशासन कायम गर्दै विश्वास र एकताका साथ पुनः एक नम्बरको पार्टीमा स्थापित गराउने विश्वास व्यक्त गर्नुभयो । पार्टीलाई मिलाएर लैजानुपर्छ र कसैले पनि पार्टी छोड्ने अवस्था नआओस् भन्नेमा नेतृत्व रहेको भन्दै उहाँले महासमिति बैठकले पार्टीलाई नयाँ उत्साह र उर्जा भर्ने विश्वास व्यक्त गर्नुभएको छ ।



















प्रतिक्रिया दिनुहोस्