काठमाडौं,२५ कात्तिक । चार दिनसम्म मनाईने छठ पर्व आईतबारदेखि सुरु भएको छ ।प्रकृतिप्रति कृतज्ञता र आराध्यदेव सूर्यको उपासना गरी मनाइने यो पर्व सुरु भएको हो ।
यसै अवसरमा राजधानी काठमाडौंमा पनि छठको तयारीका कामलाई तीव्रता दिइएको छ । रानी पोखरी भूकम्पले ध्वस्त बनाएपछि छठ पर्व मनाउन यस वर्ष काठमाडौंको गौरीघाटमा तयारीको कामलाई तीव्रता दिइएको हो ।
आज बेलुकासम्म सम्पन्न हुने गरी छठ घाट, पोखरी, टेन्टलगायतका निर्माणको कामलाई तीव्रता दिइएको छठ व्यवस्थापन समितिका सदस्य किरणकुमार दासले जानकारी दिनु भयो । २ वटा डोजर प्रयोग गरेर त्यहाँ छठी माईको पुजाका लागि पोखरी निर्माणको काम गरिएको छ ।
त्यसैगरी श्रद्धालु भक्तजनहरुलाई पूजाआजामा सहज बनाउन टेन्टको पनि व्यवस्था गरिँदैछ । पूजाका लागि पोखरीमा पूलको समेत व्यवस्था गर्न लागिएको पनि समितिका सदस्य दासले बताउनु भयो । स्थानीय र दाताहरुको सहयोगमा निर्माण गर्न लागिएको छठ घाटको तयारीको कामलाई स्थानीयको अगुवाईमा तीव्रता दिइएको छ । बेलुकासम्ममा सबै काम सम्पन्न गरिसक्ने समितिको योजना छ ।
बाइट…किरणकुमार दास, सदस्य, गौरीघाट छठ व्यवस्थापन समिति
समितिले भक्तजनहरुलाई पुजाआजाका लागि सहज बनाउन प्रहरी, स्काउट र स्वयम्सेवकहरु परिचालन गर्ने पनि जनाएको छ । विगतमा भन्दा २० प्रतिशत बढि भक्तजनहरु सहभागी हुने अनुमान गर्दै समितिले त्यसका लागि पनि आवश्यक व्यवस्था मिलाइएको पनि जानकारी दिएको छ ।
त्यसैगरी काठमाडौंको कमल पोखरी, गहना पोखरी, थापाथलीलगायतका स्थानमा पनि छठ पर्व मनाउने गरिन्छ । विशेषगरी नेपालको तराई क्षेत्रमा धुमधामका साथ मनाईने यो पर्व राजधानी काठमाडौं र देशका मुख्यमुख्य सहरमा पनि धुमधामका साथ मनाउन सुरु गरिएको छ । यसै अवसर पारेर मंगलबार सरकारले सार्वजनिक विदाको समेत घोषणा गरेको छ ।
प्रतिक्रिया दिनुहोस्