
काठमाडौं,२० कात्तिक । प्रदेश ३ का मुख्यमन्त्री डोरमणि पौडेलले आफ्नो प्रदेशमा भ्रष्टाचार हुन नदिने प्रतिवद्धता व्यक्त गर्नु भएको छ ।
मुख्यमन्त्री पौडेलले भ्रष्टाचार नियन्त्रणका लागि प्रदेश सरकारले शुन्य सहनशीलताको नीति लिएको पनि स्पष्ट पार्नु भयो । उहाँले प्रदेश ३ लाई भ्रष्टाचारमुक्त बनाउन सहयोग गर्न पनि सबैलाई आह्वान गर्नु भयो ।
प्रदेश ३ को आवधिक योजना आधार पत्र तर्जुमा सम्बन्धि गोष्ठीलाई मंगलबार ललितपुरमा उद्घाटन गर्दै मुख्यमन्त्री पौडेलले प्रदेश सरकारले पूर्वाधार विकासको कामलाई उच्च प्राथमिकता दिएको पनि बताउनु भयो ।
उहाँले विकास, निर्माणको कामलाई अघि बढाउन आवश्यक योजना तय गर्न लागिएको पनि जानकारी दिनु भयो । मुख्यमन्त्री पौडेलले प्रदेश ३ मा महिला, बालबालिकामाथि बलात्कार, हत्या, हिंसा हुन नदिन कठोर नीति लिने योजना पनि अघि सार्नु भयो ।
कार्यक्रममा बोल्दै प्रदेश ३ का नीति तथा योजना आयोगका सदस्य श्याम बस्नेतले प्रदेश ३ को समृद्धिका लागि आवश्यक योजना तय गर्न लागिएको जानकारी दिनु भयो । उहाँले प्रदेश ३ को विकासको मुख्य आधारको रुपमा प्राकृतिक स्रोत, साधन रहेको पनि स्मरण गराउनु भयो ।
कार्यक्रममा विज्ञहरुले प्रदेश ३ को विकासका लागि जलविद्युत क्षेत्रको विकासमा विशेष जोड दिन पनि सुझाव दिइएको थियो ।



















प्रतिक्रिया दिनुहोस्